हेटौंडा/हेटौंडा सिमेन्ट उद्योगका पुराना सामान (कबाड) ठेकेदार पक्षबाट चोरी भएको रहस्य खुलेको छ । हेटौंडा–९ मा अवस्थित सरकारी स्वामित्वको सिमेन्ट उद्योगले चुनढुंगा ढुवानीका लागि प्रयोग गरिएको पुरानो रोपवे लिलामी गरी बाराको लिपनीमालस्थित श्री पीएस एण्ड सन्स इन्टरप्राइजेजलाई भ्याटसहित ४ करोड २५ लाख ६ हजार ८० मा ठेक्का दिएको थियो । ठेकेदार पक्षले उद्योगसँगको सम्झौताविपरीत उद्योगको ट्रान्सफर्मरदेखि पुरानो डम्फर गाडीसम्म चोरी गरेको भन्दै उद्योगमा क्रियाशील मजदुर संगठनले आपत्ति जनाएका छन् । ॅकरिब १५ करोड पर्ने रोपवेको सामान ४ करोडमा बिक्री गरिएको छ । रोपवे बिक्री गर्ने क्रममा भैंसेखानीको चमेना गृहनजिक रहेको डम्फर, कबाड तथा सम्झौताभन्दा धेरै फलाम ठेकेदार पक्षले चोरी गरेको छ,’ हेटौंडामा पत्रकार सम्मेलन गर्दै मजदुर संगठनहरुले बताएका छन्–भैंसेखानीबाट लाखौं मूल्यको ६३० केभीएको ट्रान्सफर्मर चोरी भएको थियो । सर्वत्र विरोधपश्चात् ट्रान्सफर्मर फिर्ता ल्याइएको छ । अन्य स्थानबाट समेत ट्रान्सफर्मर ठेकेदार पक्षले लगेको भन्ने छ । कतैबाट छानबिन भएको छैन ।
रोपवे बिक्री गर्ने विषयमा पुस ७ गते ठेकेदार पक्षसँग सम्झौता भएको उद्योगका सूचना अधिकारी हरेराम आचार्यले जानकारी दिएका छन् । तीन किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नुपर्ने सहमतिअनुसार उद्योगले पहिलो किस्ताबापत् १ करोड ४२ लाख ६८ हजार ६ सय ९४ प्राप्त गरिसकेको छ । रोपवे खरिदकर्ताले सम्झौताको ९ महिनाभित्र सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमति उद्योगसँग भएको छ । ठेक्का सम्झौता भएको एक महिनाभित्र ठेकेदार पक्षले भैंसेखानी र अन्य स्थानबाट पुराना कबाड चोरी गरेका थिए । यस विषयमा उद्योगका खानी महाशाखाका वरिष्ठ अधिकृत हरेराम आचार्यले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई अनुसन्धानका लागि पत्राचार गरे पनि कुनै सुनुवाइ नभएको उद्योगले जनाएको छ ।
उद्योगमा कार्यरत् मजदुरले ठेकेदार पक्षले उद्योगका तत्कालीन महाप्रवन्धक वसन्तराज पाण्डे र प्रहरीको सहयोगबाट कबाड चोरेको आरोप लगाएका छन् । ॅहामीले महाप्रवन्धकलाई यस विषयमा कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ भनेका थियौं, तर उहा’ले आलटाल गर्नुभयो । पछि उहा’ नै आफ्नो जागिर अवधि कम छ भन्दै काठमाडौं लाग्नुभयो,’ उद्योगमा कार्यरत् एक मजदुर नेताले बताए । उनका अनुसार कबाड चोरी भएको विषयमा प्रहरीलाई पूर्णजानकारी भए पनि छानबिन प्रक्रिया अगाडि बढाएको छैन । सरकारी स्वामित्वको उद्योगमा विकृति नै विकृति रहेको पाइएको छ । उद्योगलाई आवश्यक कोइला बजार मूल्यभन्दा दोब्बरमा खरिद गरिएको आरोप उद्योगमा क्रियाशील मजदुर संगठनले लगाएका छन् । उनीहरुले उद्योगमा मनपरी भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।
करिब १५ करोड पर्ने रोपवे जम्मा ४ करोडमा बिक्री गरिएको, कोइलालगायत कच्चापदार्थ बजार मूल्यभन्दा दोब्बर बढीमा खरिद गरिएको, ओखरे खानीको पुरानो ढुंगा क्रसिङ नगरी सम्पूर्ण रकम नियमविपरीत भुक्तानी गरिएको उनीहरुको आरोप छ । सिमेन्ट उद्योगको रोपवे बेचेर पुरानो मेसिनरी संयन्त्र स्थानान्तरण गर्ने सिफारिसको आधारमा व्यवस्थापनले टेन्डरमार्फत् लिलामी प्रक्रिया अगाडि बढाए पनि त्यसको विपरीत सञ्चालक समितिले अधिक महंगोमा कोइला र अन्य कच्चापदार्थको भुक्तानी गर्ने गैरकानुनी निर्णय गरेको समग्र उद्योग ट्रेड युनियन अध्यक्ष कुमार खतिवडाले बताए ।
कोइलालगायत कच्चापदार्थ महंगोमा खरिद गर्दा सिमेन्टको प्रतिबोरा लागत वृद्धि भइ उद्योग घाटामा गएको र उक्त कोइला २/३ महिनामा आपूर्ति भइसक्नुपर्नेमा ३/४ वर्षसम्म सम्झौता लम्ब्याइएको उनले बताए । डम्फर र ट्रान्सफर्मर चोरीको विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दर्ता गराए पनि कुनै कारबाही प्रक्रिया अगाडि नबढाइएको अखिल नेपाल औद्योगिक मजदुर संघ अध्यक्ष नेमा डिमडुङले बताए । यसबारे उद्योग प्रशासनले कुनै जवाफ नदिएको उनले बताए ।
नेपाल कारखाना श्रमिक संघ अध्यक्ष विशाल नेपालका अनुसार हेटौंडा सिमेन्ट उद्योगमा १ सय ९३ कर्मचारी कार्यरत् छन् । यसबाहेक दैनिक ज्यालादारी र सुरक्षाकर्मी गरी थप करिब १ सय ५० कर्मचारी छन् । कर्मचारीले फागुन महिनायता तलब पाएका छैनन् । भदौदेखि सञ्चयकोष र नागरिक लगानी कोषको रकम रोकिएको छ । उद्योगका कर्मचारीको मात्र करिब पौने ५ करोड र दैनिक ज्यालादारीको २ करोड गरी पौने ७ करोड भुक्तानी गर्न बाँकी रहेको नेपालले बताए । हेटौंडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन चलिरहे पनि क्लिंकर उत्पादन भने बन्द छ । व्यवस्थापन र कर्मचारी ट्रेड युनियनको सामान्य विवादका कारण केही दिनदेखि बिक्रीसमेत बन्द अवस्थामा छ ।