22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडापहिलोस्थलमा सम्झिइयो नेपालको एकीकरण
spot_img

पहिलोस्थलमा सम्झिइयो नेपालको एकीकरण

spot_img

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पुरातात्विक महत्व बोकेको पर्यटकीय क्षेत्रको संरक्षण हुन नसकेको बताएका छन् । बिहीबार ऐतिहासिक मकवानपुरगढीको २ सय ६२ औं विजयोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले इतिहासलाई बिर्सदा पर्यटकीय क्षेत्रहरुको संरक्षण हुन नसकेको बताएका हुन् ।

उनले इतिहासका चिजहरुलाई कसरी बनाउने र प्रवद्र्धन गर्ने भन्ने विषयमा लाग्नुपर्ने बताए । मकवानपुरगढीमा इतिहासबारे जानकारी दिने र आएका पर्यटकलाई भुलाउने प्रकृतिका काम गर्नुपर्नेमा मुख्यमन्त्री लामाले जोड दिए । मुख्यमन्त्री लामाले देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको मकवानपुरगढी दरबार क्षेत्रको संरक्षण एवम् प्रवद्र्धनका लागि मास्टरप्लान बनाएर लैजानुपर्ने बताए । गढीको महत्व आफूले बुझेको बताउँदै मुख्यमन्त्री लामाले आर्थिक मामिला मन्त्री हुँदा यहाँको विकासका लागि सहयोग गरेको बताए ।

- Advertisement - Ad Banner

मुख्यमन्त्री लामाले पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकासका लागि ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने बताए । तत्कालीन गोर्खाली सेनाको वीरतालाई विश्वसामु परिचित गराउने काम गढीले गरेको भन्दै उनले गोर्खालीको अदम्य साहसका कारण विश्वमा नेपालीको शिर उच्च रहेको बताए ।

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक दिन गौरवपूर्ण र ऐतिहासिक दिन भन्दै उनले यसको गरिमालाई कसैले पनि भुल्न नहुनेमा जोड दिए । ॅअंग्रेजलाई पराजित गरेर गोर्खाली सेनाले नेपाललाई सार्वभौम र स्वतन्त्रता कायम ठूलो योगदान दिएका थिए,’ उनले भने ।

युद्धमा नेपालीले पराजय व्यहोर्नुपरेको भए नेपाल स्वतन्त्र देश नरहने भन्दै नेपाली इतिहासमा महत्वपूर्ण रहेको गौरब गर्न सकिने उनले बताए । नेपालको पक्षमा लड्दा ज्यान गुमाएका ३० जना तथा युद्धमा देशका लागि लडेर बहादुरी प्रदर्शन गरेका सम्पूर्ण वीर योद्धाप्रति हार्दिक सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले भने ।

मकवानपुरगढी नेपालको एकीककरण अभियानको कोसेढुंगा साबित भएको उनले बताए । गढीमा विदेशी फौजलाई पराजित गरेकाले नेपालको एकीकरण अभियान अगाडि बढेको बताउँदै नेपाल र नेपालीको स्वतन्त्रता र स्वाभिमान अक्षुण्ण रहेको उनको भनाइ थियो । राष्ट्रनिर्माणमा संलग्न पूर्वजहरुको योगदानको स्मरण गर्दै उनले नेपालले कहिल्यै कसैको उपनिवेश बन्नुनपरेकामा गर्व गर्नुपर्ने बताए । मकवानपुरगढी क्षेत्रमा रहेको वनजंगल संरक्षण गर्न आग्रह गर्दै उनले मकवानपुरका प्राकृतिकलगायत सम्पूर्ण सम्पदा र स्रोतको सम्वद्र्धनमार्फत् पर्यटन विकास गर्न आह्‌वान गरे ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्यांतानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सँस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, मध्यपृतना हेटौंडाका निमित्त पृतनापति सुवासजंग थापा, गोरखबहादुर गणका गणपति निरञ्जन धामी, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुरगढी गाउँपालिकाका वडा अध्यक्षलगायतको आतिथ्यता थियो ।

राज्यमाथि आक्रमण गर्न आएका करिब २ हजार ५ सय मुगल सेनाका फौजलाई पृथ्वीनारायण शाहको गोर्खाली सेनाले पराजित गरेको दिनको सम्झनामा मकवानपुरगढी गाउँपालिकाले हरेक माघ १० गते विजयोत्सव मनाउँदै आएको छ । १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा केही वर्षदेखि विजयोत्सव मनाउने गरिएको छ ।

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरगढीको विजयोत्सव कार्यक्रम भव्यरुपमा मनाइएको हो । सरकारले घोषणा गरेका सय नयाँ पर्यटकीयस्थलमा समावेश भएको मकवानपुरगढी दरबार देशको सबभन्दा ठूलो र पुरानो गढी भएको मानिन्छ ।

यसकारण मनाइन्छ उत्सव
तत्कालीन गोर्खाली सेनाले आधुनिक हतियारयुक्त मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेका थिए । गोर्खाली सेनाले शत्रु सेनाको ५ सय भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपहरु नियन्त्रणमा लिएका थिए । इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलको एक हजार ७ सय सेनालाई पराजित गरेको थियो । गोर्खाली सेनाले ऐतिहासिक विजय प्राप्त गरेका युद्धलाई गोर्खाली सेनाले विदेशी सेनासँग लडेको पहिलो युद्धका रुपमा लिइन्छ । पछि सिन्धुलीगढीमा १८२४ कात्तिक २४ मा अंग्रेज फौजलाई हराएपछि गोर्खाली फौज विदेशीसँग लड्न सक्षम भएको प्रमाणित भएको थियो ।

पहिलो विजयोत्सव मनाउन तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित रहेको बताइन्छ । गढी र त्यसको ऐतिहासिकता अध्ययन गरेका केदार न्यौपानेका अनुसार देशभरका २ सय गढीमध्ये मकवानपुर गढीको इतिहास लामो र महत्वपूर्ण छ ।

तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले सेनवंशको चिनारी नामक पुस्तकमा पाल्पाका सेनहरु मकवानपुरकै भएको उल्लेख गरेका छन् । मुकुन्द सेनले राज्य बाँडफाँट गर्दा मकवानपुर कान्छा छोरा लोहाङ सेनको भागमा पर्‍यो । लोहाङले १६१० पछि गढीको पुनर्निर्माण गरी मकवानपुर राज्यको पुनर्निर्माण र विस्तार गरेको बताइएको छ ।

तीन हजार अंग्रेज फौजलाई मकवानपुरगढीबाट केही तल शिखरकटेरीबाट अघि बढ्न नदिएर तत्कालीन गोर्खाली फौजले पराजित गरेको थियो । उक्त स्थानमा तत्कालीन मकवानपुरे राजा मुकुन्द सेनकी रानीले रानीचौतारा बनाउन लगाएकी थिइन् । उक्त स्थानमा अझै पनि पुराना बन्दुकका नाल, गोलाहरु भेटिने गरेको स्थानीय बताउँछन् । चारैतिर अग्लो पर्खालले घेरिएको मकुन्दसेनको दरबार छ । त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली पनि हो । हाल दरबारको भग्नावशेष देख्न सकिन्छ । मकवानपुरगढी किल्ला करिब १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको छ । मकवानपुरगढी दरबार १६१० सालमा सेनवंशीय राजाको शासनकालमा निर्माण भएको बताइन्छ ।

मकवानपुरगढीको इतिहास
सेनंवंशीय मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन मकवानपुरगढीअन्तर्गत् हरिहरपुरगढीको लडाईं हारेपछि वंगालका नवाब मिरकासिमसँग सहयोग माग्न गएका थिए । नबावको सहयोगमा २ हजार लडाकु र एक हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोरखा नियन्त्रणमा रहेको मकवानपुरगढीमा १८१९ माघ १० गते आक्रमण गरिएको थियो ।

मकवानपुरगढीमा रहेका नन्दु शाहको नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दहचोकबाट पठाएको वंशीराज पाण्डेको फौजसँग माघ १० गते मीरकासिमका सेना पराजित भएका थिए । बंगालबाट आएका विदेशी फौजलाई पराजित गर्न नसकेको भए नेपाल एकीकरणको अभियानमा मात्र धक्का लाग्ने थिएन, हालको नेपाल प्राप्त गर्नसक्ने अवस्था थिएन ।

नेपाली फौजले मिरकासिम फौज पराजित भएपछि उनीहरुबाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले राष्ट्रको रक्षाका लागि सैनिक संगठन संरचना निर्माण अभ्यास सुरु गरेका हुन् । पृथ्वीनारायण शाहले त्यतिबेला श्रीनाथ गण, सबुज गण, पुरानो गोरखगण, बर्दंबहादुर गण र कालीबक्स गण गठन गरेका थिए । ती गण हाल पनि छन् । नेपाली सेनाको इतिहासमा मकवानपुरगढीको वीरताको ऐतिहासिक पृष्ठभूमि छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि