हेटौंडा/सिमेन्ट र डण्डीलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोधमा मकवानपुरका निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष बालगोपाल कँडेल नेतृत्वको टोलीले आइतबार प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालमार्फत् प्रधानमन्त्री केपी शर्माओलीलाई १४ बँुदे मागसहित ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा सिमेन्ट र डण्डीलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धि एवम् कालोबजारी रोक्दै निर्माण व्यवसायीका लागि शून्य भन्सारदरमा निर्माण सामग्री आयातको व्यवस्था हुनुपर्ने, सार्वजनिक खरिद ऐन तथा नियमावलीको तत्काल पुनर्लेखन गर्नुपर्ने, विभिन्न कारण बाँकी अर्बौ रकम सरकारले तत्काल भुक्तानी दिनुपर्ने, लोबिडिङ निरुत्साहित गर्नुपर्ने माग
छन् ।
भौगोलिक हिसाबले निर्माण कार्यको तालिका निर्धारण गरिनुपर्ने, वर्षाको समयमा निर्माण सामग्री उत्खनन्को व्यवस्था गरिनुपर्ने, मापदण्डमा आवश्यक परिमार्जन गरिनुपर्ने, इन्स्युरेन्सको समस्या समाधान गरिनुपर्ने, सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने र निर्माणसम्बन्धि उच्चस्तरीय आयोग गठन गरिनुपर्नेलगायत माग उनीहरुको छ ।
माघ १५ गतेभित्र माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने निर्माण व्यवसायीहरुले चेतावनी दिएका छन् । आइतबार निर्माण व्यवसायी महासंघ बागमती प्रदेशले पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमतीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । एक महिना अवधिमा सिमेन्टमा प्रतिबोरा दुुई सय रुपियाँ र डण्डीमा प्रतिकिलो १५ रुपियाँका दरले मूल्यवृद्धि गरिएपछि निर्माण व्यवसायी आन्दोलित बनेका हुन् ।