हेटौंडा/टोलविकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले १ दिने समुदायस्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम गरेको छ । हेटौंडा उपमहानगरपालिका न्यायिक समितीको सहयोगमा हेटौंडा–१ र २ वडामा गठित टोलविकास संस्थाका पदाधिकारी एवम् सदस्यको सहभागितामा १ दिने अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
नगर समन्वय समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवम् टोलविकास संस्था नगर समन्वय समिति सल्लाहकार ज्ञानबहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा टोलविकास संस्था नगर समन्वय समिति महासचिव शिवहरि दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रावती पनेरुलगायतको उपस्थिति थियो । कार्यक्रमलाई हेटौंडा उपमहानगर कानुनी अधिकृत सुजन तिमल्सिना तथा अधिवक्ता अप्सरा बस्नेतले सहजीकरण गरेका थिए । कार्यक्रममा हेटौंडा–१ र २ वडाका ७० जनाको सहभागिता थियो । कार्यक्रम नगरभरका सबै वडामा सञ्चालन गरिने नगर समन्वय समिति अध्यक्ष अधिकारीले जानकारी दिए ।