राजकुमार केसी
हेटौंडा/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार थाहा नगरको पालुङमा आउने भएका छन् । माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपाल थाहा नगर कमिटीको दोस्रो सम्मेलन उद्घाटन गर्न प्रचण्ड थाहा नगर आउने भएका हुन् ।
पार्टी अध्यक्ष प्रचण्डको स्वागत तथा वाईसीएल नेपाल थाहा नगरको दोस्रो सम्मेलनलाई सफल पार्न नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीसहित भ्रातृ संगठनहरुले तयारीलाई तीव्र बनाएका छन् । प्रचण्डले शनिबार थाहा नगरको इन्द्रायणी चौरमा हुने सम्मेलन उद्घाटन सत्रको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोदकुमार लामाले बताए । अध्यक्ष लामाका अनुसार प्रचण्डले पूर्वजनमुक्ति सेना, शहीद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने र पार्टीका नेता/कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ ।
सम्मेलनलाई भव्यतासाथ सफल बनाउन तीव्र तयारी गरिएको माओवादी केन्द्र थाहा नगर सचिव लक्ष्मण बिष्टले बताए । सचिव बिष्टले पार्टी र भ्रातृ संगठनका टोल कमिटी, वडा कमिटी, पालिका कमिटीलाई क्रियाशील बनाएर सबै प्रकारको तयारीमा जुटिरहेको जानकारी दिए । स्थलमार्गअन्तर्गत् थानकोट-चित्लाङ (गणेशमान सिंह मार्ग) भएर आउने अध्यक्ष प्रचण्डलाई चित्लाङमा पञ्चकन्यासहित स्वागत गरिने र थाहा नगरपालिका वडा-६, बज्रबाराही सरस्वती बजारमा स्वागत गर्दै मोटरसाइकल र्यालीसहित प्रचण्ड कार्यक्रमस्थल पालुङ आइपुग्ने कार्यक्रम रहेको माओवादी केन्द्र थाहा नगर कमिटीले जनाएको छ ।
कार्यक्रमस्थल प्रवेश विन्दु गोपाली गाउँबाट इन्द्रायणी चौरसम्म विभिन्न झँँकी, बाजासहित पदैल र्यालीको तयारी गरिएको छ । र्यालीमा महिला पञ्चैबाजा, तामाङहरुको झँँक्री/ढ्यांग्रो नाच, महिलाहरुको खैंजडी भजन, गोपालीको बाँसुरी बाजा, नेवारहरुको धिमे बाजासहित विभिन्न झँँकीले अध्यक्ष प्रचण्डको स्वागत गर्ने तयारी छ ।
सम्मेलनको तयारीअन्तर्गत् उद्घाटनस्थल इन्द्रायणी चौरको सरसफाइ, स्वागतद्वार निर्माण, प्रचारप्रसार, स्वागत ब्यानर राख्ने कार्य भइरहेको प्रेस सेन्टर थाहा नगर कमिटी अध्यक्ष शम्भु अधिकारीले बताए । सम्मेलनले वाईसीएल थाहा नगर कमिटीको नयाँ नेतृत्व चयन गर्ने वाईसीएल थाहा नगर अध्यक्ष मानसिं दोङले बताए ।