HomeUncategorizedप्रदेशसभा बैठक अवरुद्ध गर्ने माओवादीको तयारी

प्रदेशसभा बैठक अवरुद्ध गर्ने माओवादीको तयारी

सुनिता बिष्ट
हेटौंडा/वागमती प्रदेशसभा बैठक नेकपा माओवादी केन्द्रले अवरोध गर्ने तयारी गरेको छ । आइतबारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक माओवादीले अवरोध गर्ने तयारी गरिएको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दलसँगको सहमति लत्याएर सरकार अगाडि बढेको भन्दै सदन अवरुद्ध गर्ने पक्षमा आफूहरु जुटेको माओवादी केन्द्र वागमती संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बताए । प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका जम्कट्टेलले प्रदेश सरकारले पछिल्लो समय गरेका कामकारबाही चित्तबुझ्दो नभएका कारण सदन अवरुद्ध गर्ने तयारी रहेको बताए । वागमतीको सुशासन खर्चिलो भयो, मितव्ययिता भएन, नेता जम्कट्टेलले भने-उतिबेला सरकार र प्रतिपक्षी दलहरुसँग गरिएको सहमति कार्यान्वयन भएन । सरकार यसरी एकलौटीढंगले अघि बढ्नु दुःखद् हो ।

प्रदेश सरकारले पछिल्लो समय आफ्नो दलका कार्यकर्तालाई विभिन्न रिक्त दरबन्दीमा राजनीतिक नियुक्त गरेको आरोप लगाए । जम्कट्टेलले सरकारले प्रदेशको हितमा भन्दा पनि आआफ्नो दलको हितमा काम गरेको बताए । त्यतिमात्र होइन, प्रदेशमा मन्त्रीको संख्या बढाएकोमा पनि हाम्रो विमति छ, जम्कट्टेलले भने-वागमती सरकारमा नेपाली कांग्रेसको दादागिरी बढेको छ । एमाले मौन, कांग्रेस उग्र बन्दै गएका कारण वागमतीको अवस्था गम्भीर बन्दै गएको छ । यस्ता दादगिरीविरुद्ध सदन अवरुद्ध गर्ने हाम्रो दलको तयारी छ ।

आफ्ना मागहरु सम्बोधन गर्न मुख्यमन्त्री बहादुरसिंह लामासमक्ष कुरा राखेको र उक्त माग सम्बोधन नभए सदन अवरुद्ध गर्ने माओवादीका सांसद्हरु बताउँँँँँँछन् । राजनीतिक नियुक्तिदेखि प्रदेश सुशासनका सबालमा प्रमुख प्रतिपक्षी दलसँग छलफल नगरी एकलौटी निणर्य गरिएकोप्रति आफूहरुको चित्तदुखाइ रहेको उनीहरु बताउँछन् ।

यसअघि प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएदेखि करिब डेढ वर्ष प्रदेशको नेतृत्व गरेको माओवादी हाल प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ । १ सय १० प्रदेशसभा सदस्य रहेको वागमतीमा माओवादीका २१ सांसद् छन् । दलीय अंकगणितको आधारमा माओवादी तेस्रो स्थानमा छ । सबभन्दा धेरै ३७ प्रदेशसभा सदस्य रहेको कांग्रेस पहिलो स्थानमा छ भने एमालेका २७ सांसद् छन् ।

सरकारविरुद्ध आवाज उठाएर सदन चल्न नदिने तयारीमा रहेको माओवादीलाई अवस्था हेरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी) ले समेत साथ दिने सांसद्हरु बताउँछन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टी (हानेपा) ले भने यस विषयमा योजना नबनाएको बताएको छ ।

आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । बैठकमा तीन विधेयकमाथि पूणर् छलफल गरी पारित गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएकोे छ । प्रदेशसभाअन्तर्गत् विभिन्न समितिहरुमा उक्त विधेयकमाथि पूणर् छलफल गरी संशोधनसहित प्रतिवेदन प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । प्रदेशसभा बैठक यसअघि साउन १५ गते बसेको थियो । उक्त बैठकबाट दुई विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here