हेटौंडा÷ हेटौंडा उपमहानगरपालिका–४ मा रहेका टोलविकास संस्थाहरुको संयुक्त बैठक शनिबार सम्पन्न भएको छ । बैठकले वडा क्षेत्रको विकास, सरसफाइ तथा सामुदायिक कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
वडा अध्यक्ष नवीन सिग्देलका अनुसार बैठकले वडाभित्र रहेका सबै सडक सरसफाइ गर्ने तथा कच्ची, खाल्डाखुल्डी, हिलो र धुलोमुक्त बनाउने योजना २०८२ सालभित्र वडा कार्यालयमार्फत् कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको छ । चैत १२ गते वडाको आयोजनामा तथा टोलविकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा ‘भान्सा नै औषधालय’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । उक्त कार्यक्रममा वडाअन्तर्गत् सबै टोलविकास संस्थाहरुको सहभागिता रहने जनाइएको छ ।
बैठकले वडा कार्यालयको समन्वयमा सञ्चालन भइरहेको निःशुल्क मन्टेश्वरी तथा कुक तालिममा सूचनामा तोकिएको मापदण्डअनुसार प्रशिक्षार्थी सहभागी गराउने निर्णय पनि गरेको छ । बैशाख महिनामा टोलविकास संस्थाहरुको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने विषयमा सहमति भएको छ । निर्माणाधीन रजत जयन्ती रोडको अधुरो काम अगाडि बढाउन सम्बन्धित निर्माण व्यवसायी तथा कार्यालयमा पहल गर्ने निर्णय गरिएको छ । टोल सरसफाइ तथा टोलमा देखिएका ससाना समस्या समाधानका लागि प्रत्येक टोलविकास संस्थाले आफ्नो कार्यक्षेत्रमा अध्ययन गर्ने पनि निर्णय गरिएको छ । अवधि पुगेका तर साधारणसभा गर्न बा“की रहेका टोलविकास संस्थाहरुले तत्काल साधारणसभा गर्ने निर्णयसमेत बैठकले गरेको छ । वडामा हाल २६ वटा टोलविकास संस्था सक्रिय छन् ।
बैठकमा वडा अध्यक्ष सिग्देल, वडा सदस्य गीता त्रिपाठी र जगन्नाथ पाण्डे, टोलविकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारी तथा महासचिव शिवहरी दाहाल, टोलविकास संस्था वडा समन्वय समिति अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, वडा कार्यालय सचिव रामप्रसाद गुरागाईंलगायत टोलविकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति थियो ।










