27.9 C
Makwānpur
Homeमुख्य समाचार‘प्रतिष्ठानलाई राजनीतिक खेलमैदान नबनाऔं’
spot_img

‘प्रतिष्ठानलाई राजनीतिक खेलमैदान नबनाऔं’

spot_img

हेटौंडा÷ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष नवीन सिग्देलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेलमैदान नबनाउन आग्रह गरेका छन् । प्रतिष्ठानमार्फत् स्वास्थ्य सेवा, अध्यापन र अनुसन्धान क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै त्यसलाई कमजोर बनाउने प्रयास नगर्न उनले सबै पक्षलाई अपिल गरेका हुन् ।

वडा अध्यक्ष सिग्देलले करिब ६ वर्षअघि हेटौंडा अस्पतालको अवस्था कमजोर रहेको स्मरण गर्दै त्यसबेला दैनिक करिब २ सय बिरामी आउने, ५० शैय्याको अस्पतालमा १५÷१६ जना डाक्टर र ४५ जना नर्सको दरबन्दीमात्र रहेको बताए । त्यतिबेला अस्पताललाई मुख्यतः बिरामी रिफर गर्ने केन्द्रका रुपमामात्र हेरिने गरिएको उनको भनाइ छ । उनका अनुसार बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा २०७६ सालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि अस्पतालको स्तरमा उल्लेखनीय सुधार आएको हो । प्रतिष्ठानले उपचार, अध्यापन र अनुसन्धान गरी तीन मुख्य क्षेत्रमा काम गर्दै आएको उनले बताए ।

- Advertisement - Ad Banner

उपचार सेवाअन्तर्गत् हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभेर हाल ५ सय शैय्याको अस्पताल सञ्चालनमा रहेको उनले जानकारी दिए । अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामीको उपचार भइरहेको, ६० जना विशेषज्ञसहित करिब १ सय ५० डाक्टर तथा प्राध्यापक कार्यरत् रहेको उनको भनाइ छ । तीन वटा अक्सिजन प्लान्ट, सुबिधासम्पन्न मातृशिशु कक्ष, दैनिक करिब ३० जनालाई डायलाइसिस सेवा, सिटी स्क्यान, एमआरआई, इको कार्डियोग्राम, टीएमटी, हल्टर, आईसीयु, एचडीयु तथा भिडियो एक्सरे जस्ता आधुनिक सेवाहरु उपलब्ध रहेको उनले उल्लेख गरे ।

अध्यापनतर्फ प्रतिष्ठानमा बीएससी नर्सिङमा १ सय २०, ल्याब टेक्निसियनमा १ सय ६०, पब्लिक हेल्थमा ९५, फार्मेसीमा १ सय २० तथा एमबीबीएसमा ५० विद्यार्थी अध्ययनरत् रहेको सिग्देलले बताए । एमडी कार्यक्रममा ८ जना अध्ययनरत् छन् भने थप २७ जना भर्ना हुने प्रक्रियामा रहेको जानकारी उनले दिए । अनुसन्धानतर्फ ड्रग्स एण्ड टक्सिकोलोजीलगायत विभिन्न स्वास्थ्य समस्या पहिचान र समाधानका विषयमा हालसम्म प्रतिष्ठानबाट ५५ वटा अनुसन्धान सम्पन्न भएको उनले बताए ।

यद्यपि, अझै सुधार गर्नुपर्ने पक्षहरु रहेको स्वीकार गर्दै सिग्देलले अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मी र कर्मचारीलाई निरुत्साहित बनाउने गतिविधि रोक्नुपर्ने धारणा व्यक्त गरे । प्रतिस्पर्धा र प्रक्रियाअनुसार मात्र कर्मचारी भर्ना हुने गरेको दाबी गर्दै उनले अस्पताललाई राजनीतिक भर्ती केन्द्र भनेर आरोप लगाउनु उचित नभएको बताए । स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले यसलाई राजनीतिक खेलमैदान बनाउने प्रयास नगर्न उनले सबै पक्षलाई आग्रह गरेका हुन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि