Homeटप न्युजआफ्नै मुख्यमन्त्रीसँग कांग्रेस सांसद् रुष्ट

आफ्नै मुख्यमन्त्रीसँग कांग्रेस सांसद् रुष्ट

सुनिता बिष्ट

हेटौंडा/वागमती प्रदेश सरकारमा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असन्तुष्टि बढिरहेको अवस्था छ । सत्तागठबन्धन गरेर पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरेदेखि नै कांग्रेससँग एमाले रुष्ट देखिएको हो । १३ मन्त्रालय रहेको वागमती प्रदेशमा एमालेले ६ मन्त्रालय लिने र कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय लिने शर्त भएकोमा कांग्रेसले उक्त शर्त लत्याउँदै एक मन्त्री थप गरेसँगै एमाले र कांग्रेसबीच असन्तुष्टि बढेको हो । आफ्नो दलको आन्तरिक विवाद मिलाउन नसकेका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रालयभन्दा धेरै मन्त्री नियुक्त गर्दा एमाले, कांग्रेससँग रुष्ट बनेको छ । बाहिरीरुपमा कुनै दुःखेसो नपोखे पनि कांग्रेस नेतृत्वमा बनेको वागमती सरकारमा एमाले खुशी देखिएको छैन ।

एमालेमात्र होइन, कांग्रेस नेतृत्वको सरकारसँग कांग्रेसकै सांसद्हरु समेत रुष्ट देखिएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकको माहोलले सरकारप्रतिको असन्तुष्टि पुष्टि गरेको छ । प्रदेशसभा बैठकमै कांग्रेस सांसद्ले आफ्नो दलले नेतृत्व गरेको सरकारकै विषयमा रोष्टमबाट असन्तुष्टि जनाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका सांसद् प्रभात तामाङले सरकारमा बस्दा एउटा कुरा प्रतिपक्षमा बस्दा अर्को कुरा गर्ने बानी हटाउनुपर्ने सुझाव दिए । माओवादीको नेतृत्वमा वागमती सरकार बनिरहँदा बजेट सन्तुलन भएन भनेर हिजो कांग्रेसका हामीहरुले नै प्रतिवाद गरेका होइनौं र,’ सांसद् तामाङले भने-हिजो अरुलाई बजेटको सन्तुलन मिलेन भन्ने कांग्रेसले आज मन्त्रि परिषद् नै सन्तुलित बनाउन सकेको छैन । कांग्रेस पार्टी सरकारमा हु“दा पनि उस्तै बोल्छ, प्रतिपक्षमा हुँदा पनि बोल्ने एउटै हो ।

मेरो प्रश्न सरकारलाई छ, के वागमतीमा सरकार गठन सन्तुलित भएको छ ? उनले थपे-वागमतीमा सरकारमा हाल काठमाडौं उपत्यकाको मात्र ६५ प्रतिशत् मन्त्री हुनुहुन्छ । बँकी १० जिल्लाका ३५ प्रतिशत् मात्र प्रतिनिधित्व छ । काठमाडौं उपत्यकामात्र वागमती प्रदेश होइन होला नि । यो प्रश्न मेरो पार्टीको सरकारलाई हो । सांसद् तामाङले सरकारी कार्यालयहरुमा भ्रष्टाचारको खेती मौलाएको भन्दै प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको समेत ध्यानाकर्षण गराए । आफ्नो सवारी पास गर्दा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका हाकिमले विभिन्न बहाना बनाएर रकम लिन खोजेको सांसद् तामाङले बताएका हुन् ।

तामाङ साउन ९ मा मन्त्री नियुक्त भएर पनि सपथ खान नपाएका कांग्रेस सांसद् हुन् । रसुवाको निर्वाचन क्षेत्र-१ (१) बाट निर्वाचित सांसद् तामाङलाई मुख्यमन्त्री लामाले अर्थमन्त्रीमा नियुक्त गरेको फाइल प्रदेश प्रमुख कार्यालयमा पुगेको
थियो । तर, कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण दोस्रो पटक उनको नाम काटिएको थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here