मनिता राना
हेटौंडा–युनाइटेड अजोड इन्सुरेन्स कम्पनीले तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालयका दुई विद्यार्थीलाई वीमा रकम हस्तान्तरण गरेको छ ।
दुर्घटनाका घाइते विद्यार्थीका अभिभावकलाई एक कार्यक्रमबीच रकम हस्तान्तरण गरिएको हो । एएस एजुकेशन नेटवर्क प्रालिद्वारा सञ्चालित तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालयको आयोजनामा दुर्घटना वीमाको चेक हस्तान्तरण भएको हो । तुलसीमेहर मेमोरियल विद्यालयको प्रांगणमा विद्यालयका अध्यक्ष बद्रीनाथ शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
तुलसीमेहर मेमोरियल विद्यालयमा अध्ययनरत् विद्यार्थीको दुर्घटना जोखिमबाट बच्न र कुनै बेला दुर्घटना भए अभिभावकलाई खर्च न्यून गर्नका लागि युनाइटेड अजोड इन्सुरेन्स कम्पनीले वीमाबापत् अभिभावकहरुलाई वीमा रकमको चेक हस्तान्तरण गर्ने गरेको छ । वीमा रकम पाउनेमा सम्राटसिंह ठकुरीकी आमा सपना केसीले ५ हजार ५ सय रुपियाँको चेक बुझेकी हुन् भने दीपशिखा गोलेका बुबा विकास गोलेले ४८ हजार रुपियाँ रकम वीमाद्वारा चेक बुझेका छन् ।
घर, विद्यालयमा दुर्घटना वा जोखिम हुने भएकाले दुर्घटना वीमा आवश्यक भएको विद्यालयका प्राचार्य रघुनाथ खरालले बताए । दुर्घटना वीमा गरेको छोटो समयमा रकम पाइन्छ भन्ने कुरामा आफू अचम्मित भएको उनले बताए । ‘घर, बाटो वा विद्यालयमा विद्यार्थी खेल्ने क्रममा घाइते हुँदा अभिभावकलाई केही रकम पाउँदा राहत मिल्छ,’ प्राचार्य खरालले भने ।
बालबालिका चञ्चले हुने भएकाले हातखुट्टा भाँच्चिने र अन्य दुर्घटना हुने भएकाले अभिभावक सतर्क हुनु आवश्यक भएको कार्यक्रमका प्रमुख अतिथि शर्माले बताए । सानो रकमले पनि विभिन्न समस्याबाट बच्न सकिने उनले बताए । बाहिर हिँड्ने, ठूला काम गर्नेको मात्र वीमा गर्नुपर्छ भन्ने मानसिकता बदल्नुपर्नेमा उनले जोड दिए । ससाना बालबालिकाको दुर्घटना हुनसक्ने भएकाले दुर्घटना वीमा आवश्यक छ भन्ने अभिभावकले बुझ्नुपर्ने उनले बताए ।
विद्यालयको सहयोगमा दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बालबालिकाको दुर्घटना वीमा कार्यक्रम ल्याएको हो । विद्यालय क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा बालबालिका दुर्घटना हुने क्रम बढ्दो छ । पहाडी भेगका विद्यालयमा बालबालिका पैदलयात्रा गरी अध्ययन गर्न जानुपर्ने बाध्यताका कारण दुर्घटना बढ्दो क्रममा रहेको हो ।
विद्यालयले दुर्घटना वीमा कार्यक्रम सञ्चालन ल्याएपछि बालबालिकाले सहजरुपमा उपचार पाउनका लागि वीमा कार्यक्रम सफल हुने देखिएको खराल बताउँछन् । बालबालिका दुर्घटना हुँदा अभिभावकमा पैसाका अभावमा ढिलो गरी उपचार गर्नुपर्ने बाध्यता वीमा कार्यक्रमले टार्न सहयोग पुर्याएको हो । बालबालिका दुर्घटनापछि उपचार अभाव हुने जोखिम कम गर्न वीमा कार्यक्रम ल्याइएको हो ।
‘विद्यालयले प्रतिविद्यार्थी १ सय ७५ रुपियाँ लगानीमा र अभिभावकले वीमाका लागि २ सय रुपियाँ सहयोग गरी कार्यक्रम कार्यान्वयन ल्याउँदा विद्यार्थी र अभिभावकलाई आर्थिकरुपमा सहयोग हुनेछ,’ खराल भन्छन् । प्रतिविद्यार्थी लगानीमा वीमा कार्यक्रममा सहभागी विद्यार्थीले औषधिउपचार सुबिधा अस्पतालबाट पाउनेछन् । विद्यालयका सबै बालबालिकाका लागि दुर्घटना वीमा कार्यक्रम लागु गरेको छ । बालबालिका दुर्घटनामा पर्ने समस्या बढेपछि विद्यार्थीलाई नियमित बनाउनका लागि वीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
उक्त योजनाले बच्चालाई विद्यालयपरिसरमा हुँदा, विद्यालय समय–दिनमा, विद्यालय प्रायोजित र निरीक्षण गरिएका गतिविधिमा भाग लिने, विद्यार्थीको निवास र विद्यालय–विद्यालयले उपलब्ध गराइने यातायात गतिविधिबीच सीधा यात्रासहित कभरेज प्रदान गर्दछ । कभरेज वीमा गरिएको विद्यार्थीको कभरेजको प्रभावकारी मितिबाट प्रदान गरिन्छ, जसका लागि नियमित विद्यालय अवधिको अन्त्यसम्म प्रिमियम प्राप्त गरेको छ । सबै अन्तरविद्यालकालीन खेल समावेश गर्दैन ।
उक्त विद्यालय व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्यबोध गराउने शिक्षाको मान्यता राखी स्थापना भएको थियो । उसले हाल विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सीमित नराखी विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउँदै आएको छ । दुई दशक लामो यात्रामा विद्यालयले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका पुरस्कारसमेत हात पारेको छ । प्रयोगात्मक शिक्षालाई अँगाल्दै अगाडि बढेको विद्यालयले विभिन्न खेलकुदमा विद्यार्थीहरुलाई सहभागी बनाएको छ । यहाँका विद्यार्थीहरुले राष्ट्रियस्तरका खेलकुदमा विभिन्न पदक पाउन सफल भएका छन् । एसईईमा समेत जिल्लामै उत्कृष्ट नतिजा दिन विद्यालय सफल भएको छ । वीमा रकमको चेक हस्तान्तरण कार्यक्रममा विद्यालयका प्राचार्य खराल, डा. गोपी बञ्जारा, अचला शर्मा, विद्यालयका शिक्षक, प्रतिनिधिलगायतको उपस्थिति थियो ।