Homeटप न्युजपर्सा र चितवन-जनावरबाट पीडितमध्ये मकवानपुरका अधिक

पर्सा र चितवन-जनावरबाट पीडितमध्ये मकवानपुरका अधिक

– मनिता राना
आधाभार (बारा): वागमती र मधेश प्रदेशअन्तर्गत् पर्ने पर्सा राष्ट्रिय निकुञ्जका संरक्षित जनावरबाट पीडित बन्नेमध्ये ठूलो हिस्सा मकवानपुरको रहेको देखिएको छ । निकुञ्जले प्रकाशन गरेको आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदनअनुसार पर्सा, मकवानपुर र बारा जिल्ला क्षेत्रमध्ये सबभन्दा बढी प्रभावित मकवानपुरबासी रहेको देखिएको हो । जसमा १ सय २४ पीडितमध्ये ७९ पीडित मकवानपुरबासी छन् । मकवानपुर जिल्लामा ११ वटा चितुवाले ७ वटा बाख्रा र ४ वटा खसी मार्नुका साथै खोरको पनि क्षति पुर्याएको देखिन्छ । ६१ वटा हात्तीद्वारा बालीनाली तथा भण्डारण गरिएको अन्नको नाश गरेको तथ्यांकमा उल्लेख छ । बाघले गाई, बाख्रा, राँगाको क्षति पुर्याएको छ । सबभन्दा बढी प्रभावित गाउँपालिका मनहरी छ । निकुञ्जले तारजालीको व्यवस्था र सुरक्षा अपनाउन नसक्दा वन्यजन्तु गाउँबस्तीमा छिरेर नोक्सान पुर्याउने गरेका छन् ।

जैविक विविधताले भरिएको पर्सा राष्ट्रिय निकुञ्जमा रहेका लोपोन्मुख जनावर असुरक्षित छन् । हिँड्न सुरक्षित तथा छुट्टै बाटो नभएकाले आवतजावत गर्ने क्रममा सवारीसाधनको ठक्करबाट जनावर मर्ने क्रम बढ्दै गएको छ । निकुञ्जभित्र हुने काठ चोरीनिकासी, उद्योगबाट निस्कने धुँवाले जनावरलाई असर पारेको निकुञ्जले बताएको छ । निकुञ्जको पूर्वमा धार्मिक रतनपुरी जंगल, पश्चिममा चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा बफरजोन र दक्षिणमा निर्मलवस्ती र सुर्वणपुर छन् । पर्यटकीय दृष्टिले अति महत्वपूर्ण रहेको निकुञ्जमा बाघ, हात्ती, गैंडा, गौरीगाई, मृगलगायत जनावर छन् । यहाँ वार्षिक दुई हजारभन्दा बढी वाह्य पर्यटक आउने गरेका छन् ।

सुक्खा ठाउँ भएकाले निकुञ्जमा आगलागी, जनावरका लागि पानीको समस्या, काठ तस्करी नियन्त्रणको समस्या, वन्यजन्तु र मानवबीच द्वन्द्व, हात्तीले मानवीय क्षति पुर्याउने, बाघ र चितुवाले छेउछाउको बस्तीमा गएर चौपाया मार्ने, ढुंगा, गिट्टी, बालुवा, चोरी निकासीजस्ता चुनौती निकुञ्जमाथि थपिँदै गएको छ । अवैध चोरीशिकारी रोक्न निकुञ्जभित्र सीसीटिभी क्यामरा जडान गरिए पनि चोरीनिकासी रोकिएको छैन । पथलैया–अमलेखगञ्जसम्म निकुञ्जको बीचमा ९ किलोमिटर कालोपत्र सडक छ । उक्त सडक भएर सवारीसाधन आवतजावत गर्ने र त्यही सडक भएर निकुञ्जका जनावर ओहोरदोहर गर्ने हुँदा जनावरको सुुरक्षामा जटिल समस्या देखिएको निकुञ्जले जनाएको छ ।

सडकमात्र होइन, उद्धार गरेर लामो समयसम्म खोरमा राख्नुपरेकाले बिरामी भएर बाघहरुको मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताए । चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको ८ वर्षको वयस्क भाले बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ । केही दिनदेखि बिरामी परेको बाघलाई खोरमा आहार दिन जाने क्रममा मृत अवस्थामा भेटिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगत्ले जानकारी दिए । सन् २०२२ को गणनाअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा ४१ दुर्लभ पाटेबाघ छन् ।

पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या थपिएसँगै मानव र वन्यजन्तुबीच द्वन्द्व पनि बढेको छ । मानव र वन्यजन्तुबीच द्वन्द्वका कारण स्थानीयले बाघलाई मासुमा विष हालेर दिनेदेखि गोली प्रहारसम्म गरेको पाइएको छ । पछिल्ला वर्षहरुमा ८ वटा बाघ मरेका छन्, जसमध्ये ४ बाघको सिकार गरेको अनुमान निकुञ्ज प्रशासनले गरेको छ । दुई–दुई बाघको मृत्युको कारण भने प्राकृतिक (बुढो भएर) र उपचारका क्रममा मृत्यु भएको हो । सात वर्षअघि उक्त क्षेत्रमा तीन वटा बाघमात्र रहेकामा २०७९ मा गणना गर्दा ४१ वयस्क बाघ पुगेका थिए । बाघको संख्या बढेसँगै वासस्थान अभाव हुँदा बाघ आफैं जुधेर घाइते हुने र घाइते बाघले मानवबस्तीमा पसेर जनधनको क्षति पुर्याउन थालेका छन् ।

गोली प्रहार गरेर मारिएको अवस्थामा ६ चैतमा बाराको कोल्हवी नगरपालिका–२ स्थित तामागढी सामुदायिक वनमा पाटेबाघ फेला पर्याे । बाघको टाउकोमा गोली हानेर मारेको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो । कति बेला बाघ बस्तीमा आउँछ, थाहा हुँदैन । बाघ कति बेला आउँछ भन्ने डरले स्थानीयका दैनिक कामकाजसमेत प्रभावित भएको छ । एक्लै हिँडडुल गर्न र काममा निस्कन सक्ने वातावरण छैन ।

पर्सा राष्ट्रिय निकुञ्जको अवस्थिति नेपालको संघीय सरंचनाअनुसार मधेश प्रदेश र वागमती प्रदेशमा पर्दछ भने यसको व्यवस्थापनको जिम्मेवारी संघीय सरकारअन्तर्गत् पर्दछ । यसले तराई, भावर र चुरेक्षेत्रमा पाइने विविध पारिस्थिकीय प्रणालीहरुको प्रतिनिधित्व गर्दै पर्सा, मकवानपुर र बारा जिल्लाका केही भाग समेटेको छ । २०४० मा पर्सा र मकवानपुर जिल्लाका केही भाग समेटी ४ सय ९९ वर्ग किमी क्षेत्रफललाई पर्सा वन्यजन्तु आरक्षका रुपमा घोषणा गरिएको थियो ।

छिमेकी चितवन राष्ट्रिय निकुञ्जका जनावरले दिएको पीडा पनि कम छैन । जहाँ तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु भएको थियो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैंडा, गोही, बँदेल, भालुलगायत जंगली जनावरले आक्रमण गर्दा तीन वर्षमा ३६ जनाले ज्यान गुमाएका छन् । तीन वर्ष अवधिमा जनावरको आक्रमणबाट आर्थिक वर्ष २०७५–७६ मा सबभन्दा बढी मानवीय क्षति भएको छ । उक्त आर्थिक वर्षमा वन्यजन्तुको आक्रणमा परी २२ जनाको मृत्यु हुनुका साथै १ सय २० घाइते भएका थिए । आर्थिक वर्ष २०७४–०७५ मा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु तथा ३२ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७६–०७७ मा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या ९ तथा घाइतेको संख्या ३४ थियो ।

चितवन राष्ट्रिय निकुञ्जबाट जनावर सजिलै मध्यवर्ती क्षेत्रमा प्रवेश गर्ने र मानिससँग भेट हुँदा उनीहरुले आक्रमण गर्ने गरेका छन् । मानव–वन्यजन्तु द्वन्द्व बढेपछि यसको नियन्त्रणका लागि निकुञ्जले मध्यवर्ती क्षेत्रमा करेन्टको झड्का तथा मेसजाली लगाएको छ । निकुञ्जका जनावर बस्तीमा प्रवेश रोक्नका लागि सबभन्दा प्रभावकारी आरसीसी पर्खाल भएको छ । यो धेरै खर्चिलो भएकाले निकुञ्जले मेसजाली तथा झड्का लगाउन सहयोग गर्ने गरेको छ । विद्युतीय झड्काबाट वन्यजन्तुलाई क्षति नहुने भन्दै निकुञ्जले त्यो विद्युतीय झड्का नाघेर जनावर बस्तीमा पस्न नसक्ने बताएको छ ।

निकुञ्जका जनावरबाट हुने मानवीय क्षतिका लागि वर्षेनी राहत प्रदान गरिँदै आएको छ । तीन वर्षमा जनावरका कारण मृत्यु भएका तथा घाइते भएका व्यक्तिको परिवारलाई करिब ६ करोड राहत प्रदान गरिएको छ । आर्थिक वर्ष २०७४–०७५ देखि आर्थिक वर्ष २०७६–०७७ सम्म वन्यजन्तुको आक्रमणबाट भएको मानवीय क्षतिवापत् निकुञ्जले राहतस्वरुप पाँच करोड ९० लाख ९६ हजार ६ सय ४४ प्रदान गरेको हो । निकुञ्जले आर्थिक वर्ष २०७४–०७५ मा मृत्यु भएका पाँच जनाको परिवारलाई प्रतिपरिवार १० लाखका दरले ५० लाख राहत उपलब्ध गराएको थियो । निकुञ्जका जनावरबाट घाइते भएका व्यक्तिको उपचार खर्चसमेत निकुञ्जले व्यहोर्दै आएको छ ।

उक्त आवमा जनावरबाट घाइते भएका ३२ व्यक्तिको उपचार खर्चवापत् २२ लाख २४ हजार ४ सय ५० पीडित परिवारलाई उपलब्ध गराइएको छ । जंगली जनावरको आक्रमणबाट व्यक्तिको मृत्यु भएमा निकुञ्जले १० लाख तथा घाइते भएमा उपचार खर्च उपलब्ध गराउँदै आएको छ ।

आव २०७५–०७६ मा जंगली जनावरका आक्रमणबाट मृत्यु भएका २२ जनाको परिवारलाई निकुञ्जले राहतस्वरुप दुई करोड २० लाख उपलब्ध गराएको छ । घाइते भएका व्यक्तिको उपचार खर्चवापत् एक करोड ११ लाख ९५ हजार ५ सय १६ प्रदान गरिएको निकुञ्जको भनाइ छ । आव २०७५–०७६ मा भन्दा आव २०७६–०७७ मा मानव–वन्यजन्तु द्वन्द्व घटेको तथ्यांकले देखाएको छ । निकुञ्जको जनावरबाट हुने क्षति घटेसँगै राहत रकमसमेत घटेको छ । आव २०७६–०७७ मा जनावरबाट मृत्यु भएका ८ जनाको परिवारलाई ९० लाख तथा घाइते भएका ३४ जनाको उपचार खर्चवापत् ६ लाख ७६ हजार ६ सय ७८ प्रदान गरिएको छ ।

निकुञ्जका जनावरका कारण सबभन्दा बढी क्षति चितवनमा भएको छ । निकुञ्जबाट निस्किएका जनावरले आक्रमण गर्दा मृत्यु हुने ३६ मध्ये ३४ वटा घटना चितवन जिल्लाको तथा दुई घटना नवलपरासीको भएको निकुञ्जले जनाएको छ । घाइते भएका २ सय ५६ घटनामध्ये २ सय १२ वटा चितवन, ३६ नवलपरासी, तीन वटा मकवानपुर, दुई वटा सर्लाही र एउटा पर्सामा भएका घटना हुन् । आव २०७७–०७८ को तीन महिनामा नै चितवन निकुञ्जबाट निस्किएको बाघको आक्रमणले तीन जनाको मृत्यु भएको थियो । मृत्यु भएका तीनै जना चितवनका हुन् भने जंगलमा घाँस काट्ने जाने क्रममा उनीहरुलाई बाघले आक्रमण गरेको थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here