हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको विशेष नगरसभा असोज १५ गतेसम्मका लागि स्थगित भएको छ । राजस्व बृद्धिको विषयमा उठेको विवाद सम्बोधन गर्न हेटौंडा नगर सदस्य र सीमित कर्मचारीको उपस्थितिमा बैठक बसी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हेटौंडा उपमहानगर प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए । विशेष नगरसभा राखिए पनि व्यवसायीको माग सम्बोधन गर्ने विषयमा ठोस गृहकार्य नभएको उनले बताए ।
शुक्रबारका लागि बोलाइएको नगरसभामा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको बहुमत रहेको हेटौंडा–४ वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए । बहुमतले करको दर परिमार्जन गरेर व्यवसायीहरुको मागअनुसार पुरानै करको दर कायम गर्ने सम्बन्धमा निर्णय हुने सम्भावना अत्यन्त न्यून भएपछि नगरसभा स्थगित गरिएको उनले दाबी गरे ।
शुक्रबार बैठकमा हेटौंडा–४ का अध्यक्ष नवीन सिग्देलले समस्या समाधान नगरी अन्य काम अगाडि नबढ्ने बताए । उनले हरेक तहको सरकारले व्यवसायी र सर्वसाधारणलाई स्वीकार्यरुपमा कर तिर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार २५ गतेको बैठकले उनीसहित उपमेयर राजेश बानियाँ, वडा–१, २ र १० का अध्यक्षहरु क्रमशः सबिन न्यौपाने, विष्णुगोपाल महर्जन र फुर्वा लामा, नगरका अधिकृतलगायत ७ सदस्यीय संयन्त्र बनेको छ । उक्त संयन्त्रले केही दिनपछि यसबारे छलफल गर्नेछ ।
हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि राजस्वको दरमा अस्वभाविक बृद्धिका गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएपछि विशेष नगरसभा गर्नुपर्ने स्थिति आएको हो । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा हेटौंडाका व्यवसायीहरु चरणवद्धरुपमा आन्दोलनमा उत्रिएपछि नगरसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यले साउन ३० गते विशेष नगरसभा माग गर्दै लिखित निवेदन दर्ता गराएका थिए ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ को आर्थिक ऐनमा भएको करको दर र दस्तुरमा अस्वभाविक वृद्धि गरेको विषयलाई लिएर विशेष नगरसभा बैठक माग भएको थियो । हाल कायम रहेका ९४ मध्ये कार्यपालिकाका ४८ सदस्यले विशेष नगरसभा बैठक माग्दै उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई निवेदन दिएका थिए । हेटौंडा उपमहानगरमा नेकपा एमालेबाट निर्वाचित ४८ जनप्रतिनिधिले हस्ताक्षरसहित प्रमुख प्रशासकीय अधिकृतमार्फत् विशेष नगरसभा बैठक माग गरेका हुन् ।
साउन ३० मा नेकपा एमालेका बहुमत नगरसभा सदस्यले कर समायोजन गरेर समस्या समाधानका लागि विशेष नगरसभा माग गर्दै मेयर मीना लामालाई लिखित अनुरोध गरेका थिए । कानुनतः ३० दिनभित्र विशेष नगरसभा बोलाउनुपर्ने हुन्छ । उपमहानगरपालिकाका नेकपा एमालेसम्बद्ध बहुमत नगरसभा सदस्यको माग, मकवानपुर उद्योग वाणिज्य संघसँग मेयर र उपमेयर राजेश बानियाँसहितको सम्झौता, मेयर–उपमेयरसहित नेकपा एमालेका तर्फबाट निर्वाचित कार्यपालिका सदस्यसहितको सहमति, मेयर र उपमेयरसहित दलहरुबीचको सहमतिका आधारमा विशेष नगरसभाका लागि यसअघि कार्यपालिका बैठक आयोजना भए पनि कांग्रेसबाट निर्वाचित कोही पनि सहभागी भएका थिएनन् ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि राजस्वको दर उच्चतम्रुपमा बृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित थिए । उपमहानगरले अधिकांश शीर्षकमा ३३, ५०, ६६, १५० प्रतिशत्सम्म राजस्व दर बृद्धि गरेको छ । असार ७ मा भएको उपमहानगरको १५ औं नगरसभाबाट राजस्व दरमा बृद्धि गर्ने निर्णय भएको थियो ।