हेटौंडा– नेकपा एमाले थाहा नगर कमिटीको चौथो पूर्ण बैठकले वार्षिक कार्ययोजना सोमबार १७ गते पारित गरेको हो । कमिटीको बैठकमा अध्यक्ष सुरेन्द्रमान प्रधानले प्रस्तुत गरेको वार्षिक कार्ययोजना सर्वसम्मत् पारित गरिएको हो ।
कार्ययोजनामा टोल कमिटीदेखि नगरस्तरीय बैठक, भेला, प्रशिक्षण, भेटघाट, घरफर्क अभियान, विकास निर्माण, जनसरोकार, सुशासनलगायत विषयहरु समावेश छन् । बैठकले आव २०८०–०८१ को आयव्यय अनुमोदन गर्दै आव २०८१–०८२ का लागि ७ लाख ८५ हजार २ सय ६५ रुपियाँको अनुमानित आयव्यय पारित गरेको छ ।
साउन ३२ गते सम्पन्न नगर सचिवालय बैठकले गरेका निर्णयहरु अनुमोदन गर्दै नगर सदस्यमा मनोनीत सदस्यहरु धर्मलाल प्रधान, कृष्णमाया केसी, केदार बिष्ट, कमल कार्की, सानुकान्छा थिङ, उत्तम गोपाली र कृष्ण बलामीलाई पद तथा गोपनियताको शपथग्रहण समेत गराइएको छ ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाले गठबन्धनका कारण दुई पटक नगर प्रमुख र उपप्रमुख पराजित हुनुपरेको भन्दै अब २०८४ को निर्वाचनमा कुनै पनि कारण हार्ने छुट नभएको बताए । बैठकमा एमाले केन्द्रीय सदस्य, मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ (क) इञ्चार्ज एवम् सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले विकास निर्माणसँग जोडिने कार्यक्रमहरुमा केन्द्रित हुन निर्देशन दिए ।
बैठकमा वागमती प्रदेश सदस्यहरु बलराम बल, नारायण रिजाल, जिल्ला कमिटी सदस्यहरु शशिधर सुबेदी, बिमलकुमार ढकाल, नगर उपाध्यक्ष हेमकुमार थिङलगायतले मन्तव्य राखे । बैठकमा वडा इञ्चार्ज तथा वडा कमिटी अध्यक्षहरु, जनवर्गीय संगठनका अध्यक्षहरुले दुई महिनाको रिपोर्टिङ गरे ।