31.9 C
Makwānpur
Homeबिचारविष्णु अर्थात् जलाशयन नारायण

विष्णु अर्थात् जलाशयन नारायण

प्राकृतिक सौन्दर्यले सुसज्जित वैदिक एवम् पौराणिक समयको आख्यानहरु भएको तपो भूमि, तपोवन, पुण्य र सिद्वि प्राप्त गर्ने स्थल नेपाल हो । नेपाल भन्नाले हिमाल–पहाड र तराईहरु मिलेको ७७ जिल्ला, सातै प्रदेश र संघीय राजधानी काठमाण्डौ समेत हो । यहाँ बहुमत नेपालीहरु सनतान हिन्दु, बौद्व, र किराँतहरु आदी देवीदेवताका गुम्बा, मन्दिर छोर्तेन आदि नेपाल–देशभर नै यत्र–तत्र पाइन्छन् । यहाँ परब्रम्ह शक्तिस्वरुप परमात्मा एवम् मातृ स्वरुपिणी शक्ति पीठ देवी–देवताका आस्थाले सुशोभित हुँदा जसलाई मानव–आत्माले स्वीकार गरेको पाइन्छ । यिनै पुण्य स्थलहरुमध्ये काठमाण्डौ उपत्यकाको विष्णु अर्थात् बुढानिलकण्ठको शयन मूर्ति पनि एक मुख्य मूर्ति हो ।

जलशायन मूर्तिहरु वेद, उपनिषद्, रामायण पुराणहरु, महाभारत ग्रन्थ, गीता आदिमा भगवान विष्णुको विस्तुतसंग वर्णन गरिएको पाइन्छ । सनतान हिन्दुहरुबाट आत्म ज्ञान कर्मकाण्ड आदिमा मोक्ष प्राप्ति गरिने मार्गहरुमध्ये ध्यान योगका मूर्ति स्थापना शास्त्र अध्ययन, जप, यज्ञ–यज्ञादि र पुजा–आजालाई पनि महत्व दिइएको छ । भगवानलाई कुदेर सरकारका रुपमा पुजा विधि वा ध्यान गर्दै खुसी पार्न आदि अर्थात् वैदिक समयमा नै मानवहरुले अधिक प्रत्यन र प्रयासहरु गरिरहेको पाइन्छ ।

त्यही प्रयास र प्रत्यनका कारण भगवानका विविध स्वरुपका मूर्तिहरु कलाकारहरुले कुँदेर स्थापना गरेका छन् । भगवान विष्णुको व्याख्या ऋगवेदका विभिन्न श्रुतिहरु प्रथम मण्डलमा पाइन्छ । ऋगवेदमा भगवान विष्णुलाई कैयौ ज्योति पुञ्जकै रुपमा निमन्त्रणा वा आब्ह्‌वान गरिएको छ । वैदिक कालमा यज्ञलाई मूख्य धर्म मान्दै प्रकृतिलाई पूजा गरिन्थ्यो । वस्तु शास्त्रका विविध ग्रन्थहरुमा वर्णित प्रतिमा विज्ञान र दर्शनअनुरुपको प्रतिमा (मूर्तिहरु) निर्माण गरिने गरिएको पाईन्छ ।

वस्तु शास्त्रका कुरा विष्णु धर्मोत्तर, रुप मण्डन, मत्स्य पुराण, मान सोल्ला, अग्नि पुराणमा प्रतिष्ठा तन्त्र, चिन्तामणि विश्वकर्मा, शिल्परत्न सम–राङ्गण सुत्रधार आदि ग्रन्थहरुमा प्रतिमा निर्माणका बिषयमा उल्लेख छ । प्रतिभा निर्माणसम्बन्धि बलराम श्रीवास्तव, रुपमण्डन मोतीलाल वनारसी दास वाराणसी विं.सं. पृ.३–६ मा उल्लेख छ । भगवान विष्णुलाई वैदिक देवता मानिन्छ । पौराणिक समय वैदिककालमा भएता पनि त्रिविक्रमको कुरा वेदमा नै छ ।

ऋगवेद्को प्रथम मण्डलमा :
अर्तोदेवा अवन्तु नोयतो विष्णु विचक्रम् ।
पृथिव्याः सप्रधाममि : भनी १६ औं अध्यायमा छ ।
यसको शब्दार्थ देवी–देवताको सुरक्षा र विष्णुको पराक्रम विशिष्ठ र ऐतिहासिक भनी ऋगवेदको १/२३/१६ मा उल्लेख छ । प्रसन्न चन्द्र गौतम ऋगवेद् १/२२/१७ विष्णुले संसार परिक्रमा गरेको तीन पाउ राख्दा त्यसबाट उडेको धुलोले विश्वनै ढाकेको वर्णन वेदमा उल्लेख छ । विश्वलाई देवताहरु र दैत्यहरुलाई विभाजन गर्ने क्रममा देवताका राजा ईन्द्रले, विष्णुको तीन पाउले जति जमिनहरु लिइन्छ, त्यो देवताहरुको हुने बाँकी सबै दैत्यको हुने भनी प्रस्ताव गरेका थिए ।

त्यसमा देवता र दैत्य दुवै पक्षले मञ्जुर गरेका थिए । बिष्णुको ३ पाइला राख्दा संसार ढाकेकोले समस्त ब्रम्हाण्डमा असुरहरुले वामन रुप लिएका विष्णुले शयन गर्दाको जति जग्गा हुन्छ त्यो सबै देवताहरुको र बाँकी शेष जमिन दैत्यहरुको हुने भनिएको थियो । –नागशरण सिंह सम्पादक ऋगवेद परिचय नाग प्रकाशन दिल्ली इं.सं. १९९९ पृ.६६ मा छ । विष्णुको दुईवटा शिर भएको आदि शेषको शैयामा फैलिएको मूतिलाई अभिञ्चारिक शयन मूर्ति भनिएको छ ।

हुन त नेपालमा यस्ता मूर्तिहरु फेला पारि–एको छैन । शास्त्रमा बिष्णुको शरीरलाई निलो रंग र ४ हात, वस्त्र कालो बनाउनै पर्ने भन्ने छ । नागको शैयामा पल्टिएको एउटा मात्र शिर भएको बिष्णुको मूर्ति भए मधम र जमिनमा पानीबाहेक पल्टिएको देखिए त्यसलाई अधम हो भनिएको छ । नेपालमा यस्ता मुर्तिहरु पाईएको छैन । नेपालमा पाईएका मुर्तिहरु काठमाण्डौ उपत्यकामा (१) शिवपुरी फेदीमा भएको जलशयनी विष्णु, (२) जलदायनी विष्णु हनुमान ढोकामा, (३) मोहनचौक हनुमान ढोकाको चदुवामा शयन विष्णु, (४) बालाजु २२ धारा उद्यानमा जलशयनी विष्णु जसलाई हरिहर पनि भनिन्छ ।

(५) पशुपति आर्यघाटमा रहेको पाटीको भित्तामा राखिएको जलशयनी विष्णुको मूर्ति, (६) काठमाण्डौ पशुपतिनाथ मन्दिरपूर्वतर्फको ढोका तथा भष्मेश्वर वागमती नदीघाट राजराजेश्वरी घाट वत्सला मन्दिरबाट उत्तरतर्फको शेषशायी नारायणी विष्णुमति नदी किनारामा स्थापना भएको जलशयन मूर्तिहरु छन् । (७) महाभारत ग्रन्थको अनुशासन पर्वमा पलाञ्चोक गांउको फेदीमा भएको जलशयन मूर्ति जसलाई विष्णुको सहस नाम लेखिएको छ । तिमध्ये जगत उत्पति कारण कमलको नाभिमा भएको एउटा पभनाम विष्णुको शयन प्रतिमा जसलाई पदानाभ भनिन्छ । भारतको दक्षिण मद्रासमा शयन मूर्तिहरुलाई रङ्गनाथ भनि पुजिने परम्परा छ ।

लिच्छवि समयमा सबै कुरा ठिकठाक हँुदा स्वर्यायुम मानिन्थ्यो । वास्तुकला र कलाको विचारले हेर्दा ति मूर्तिहरु उत्कृष्ठ ठहरिएका छन् । तत्कालका प्रतिभा (मूर्तिहरु) खोजि/अध्ययन गर्दा विशेष पालिस लगाइएको ढुङ्गा (पत्थर) कलाकारले आफ्‌नो कलाकारिताको दक्षता प्रदर्शन गरेर तयार गरिएको पाइन्छ । कस्तो ढुङ्गा छान्दा बढी टिकाउ हुन्छ भन्ने लिच्छविकालमा कलाकारहरुले आफ्‌नो प्रतिभा देखाई ढुङ्गा छनोट गर्दथे । त्यसमध्ये बुढानिलकण्ठमा भएको प्रतिभा एक पनि एक हो ।

यो सातौं शताब्दीकालको शयन मूर्ति एउटा बिजोड कलाको नमूना हो । यो मूर्ति २१ फिट लामो छ, प्रतिभा विज्ञानका पुस्तकहरुमा निर्देशन गरिएको विशेष विधान शैली निर्माण गरिएको विशेष शैलीको मूर्ति भव्य, सुन्दर र आकर्षक छ । विष्णु धर्मोत्तर पुराण र मत्स्य पुराणमा वर्णन गरेअनुसार एउटा घुंडा खुम्च्याई लक्ष्मीबाट पाउ मिचिरहेको अर्को पाउ लक्ष्मी कै काखमा राखेको र एक हात शरीरमा राखेको पनि देखिदैन ।

विष्णुको पाउँतर्फ मधु–कैटभ दैत्यहरुको पनि उपस्थिति अन्यत्र भए पनि शिवपुरी फेदीमा रहेको विष्णुमा देखिदैन । काठमाण्डौको लगनटोल याङ्गलमा रहेको हिटि (धारा) मा भने भीमार्जुन देवताका साथै विष्णु गुप्तले स्थापना गरेको अभिलेख पाइन्छ । अभिलेखको शिरोभागको बीचमा चक्र राखिएको छ र दुईतर्फ शंख आकृति कुंदिएको छ । प्रारम्भको दुईहरफ भगवान विष्णुको कृपाले संसारका सबै प्राणीहरुको मंगल होस् भनिएको
छ । त्यहाँ जलशायी प्रतिभा (मूर्ति) बनाउने राम्रो ढुङ्गा ल्याई दक्षिण कोली ग्राममा बसोवास गर्नेहरु लाई बाजु,पाउजु र कल्लीबाहेक अन्य गहनाहरु लगाउन पाउने अधिकार दिईएको थियो ।

यहि अभिलेख हेर्दा शिवपुरी फेदीमा स्थापित विष्णुको शयन रुपी प्रतिभा भीमार्जुन देव र विष्णु गुप्तकै समयमा निर्माण भएको हो भनिन्छ । शयन मूर्ति कुट्दा मुकुटमा वुद्वको मूर्तिहरु पनि छ तरनिलकण्ठ भनिएको छ भनि बालकृष्ण समले लेखेका छन् । राजालाई विष्णुको अवतार कै रुपमा लिच्छवी समयदेखिका विविध रुपका मूर्तिका चित्रहरु निर्माण गरिएको पनि नेपालका राजाहरुले बुढानिलकण्ठको दर्शन–पुजा नगर्ने चलन थियो । संसारका प्राणीहरु लाई पालनकर्ताको रुपमा विष्णुमा ब्यूह विभव शयन मूर्ति स्थापना पुजा–आजा–आराधना लिच्छवि कालबाट नै नेपालीमा व्यापक हुँदै गएको पाइन्छ ।

पानीमाथि विष्णुशेष नागमा सुतेका कारण कालकुट विषले सताएकोले औडाहा शान्त पार्न पानीमा सुतेको निलकण्ठ हुन सक्दछ विष्णु–शिव र बुद्धका मूर्तिहरु यहि भनि अभिव्यक्तिहरु गर्दा बुढानिलकण्ठको मूर्ति कसको हो भनि विद्वानहरुले किटानी गरेको पाइदैन । तर, शिव नै विष्णु हो । विष्णु नै शिव हो भनेको धर्मशास्त्रहरुमा पाइन्छ । यस्तोमा विज्ञानतर्फ लाग्दा यो नै हो भनि किटान गर्न शिवपुरी फेदीमा स्थापना गरिएको मूर्ति शयन विष्णु कै भन्न सकिन्छ । विदेशमा निर्माण गरिएको जस्तो यि मूर्तिहरु छैनन् भनि बालकृष्ण समले भनेका छन् ।

मिकेल एञ्जेलो पश्चिमाहरुको जस्तो शरीर विज्ञान र मांसपेशीतर्फ नेपाली कलाकार–हरुको ध्यान गएको पाइदैन । यूरोपतर्फ सौन्दर्य चेतना आदि जस्तो हामी समस्त हिन्दुहरुमा सत्य चेतनाको साथै शिव चेतना आदिलाई आदि र अन्त्य भनिने गरिएको छ । सत्यम्, शिवम्,सुन्दरमा भन्ने भनाइमा पनि आंशिक सत्यता छ भन्नुपर्छ । काठमाण्डौ उपत्यका र आसपास क्षेत्रका मूर्तिहरु बनाउंदा कलाकाहरुले हस्तपुजा गरि निर्माण प्रारम्भ गरेको कलाकृति हेर्दा स्वभाविक रुपमा सजिव र सरलतातर्फ ध्यान दिएको देखिन्छ । एशिया महादेशतर्फ हेर्दा प्राप्त ढुङ्गा माटोका साथै धातुका कृतिम मूर्तिहरु ठुलो आकारमा पनि पाइन्छ । आकार प्रकारबाट हेर्दा नेपालका मूर्तिहरु साना, सुन्दर र आकर्षणका साथै सजिव नै देखिन्छ । बुढानिलकण्ठमा नरसिंह पञ्चालका मुखिया आदि ग्रामका गृहस्थीहरुलाई शुभमंगल सोधेको अभिलेख पाइन्छ । बुढानिलकण्ठ क्षेत्रलाई लिच्छवि समयमा पाञ्चाली भनिएको र त्यहाँ बैष्णव धर्मसम्बन्धि प्रभावमा नै थियो ।

बुढानिलकण्ठको मूर्ति हेर्दा नेपाली मूर्ति कलाको बेजोड कै नमूना पाइन्छ । शिवपुरी फेदीतर्फ तामाङजातिहरु कै बाहुल्यता भएको पाइन्छ । काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा सिन्धुपाल्चोकतर्फबाट समूह कै रुपमा आएर बसोवास गरेको करिव चारसय वर्ष व्यथित भैसकेको छ । शयन मूर्ति तामाङ्हरुसंग सम्बन्धित भएको पाइदैन । त्यसमा पनि यसै मूर्तिलाई लक्षित गरेर लेखिएको अभिलेख भने पाईन्छ । लिच्छवी समयका कलाकार वाइजी कृष्ण मूर्तिको विश्लेषणमा देखाउन सकिने र नैतिक विषयतर्फ सन्देश गरेको पाइन्छ ।

बुढानिलकण्ठ विष्णुको शिरको छत्रमा एघार वटा नागले फँडा उठाएर हँुक्कार गरिरहेको अवस्थाको लिच्छवीकालका कलाकारले आफ्‌नो कलाको माध्यमबाट उतारेका छन् । शेषशायी विष्णुको छांया पोखरीमा पर्दा अति सुन्दर दृष्य देखिन्छ । बुढानिलकण्ठ नाम कसरी रहन गयो भनि खोजि गर्दा एक बृद्व व्यक्तिले यहाँको पुजाआजाको व्यवस्था मिलाएका थिए । त्यहि समयमा मूर्ति पनि पाईएकोले कालान्तर मै यही शेषशाही विष्णु बुढानिलकण्ठको नामबाट परिचित भएका थिए । शिलालेखहरु हेर्दा शिव, बिष्णु र देवीहरुको प्रार्थना गरिएको श्लोकहरु लेखिएको छ । थानकोटमा पाइएको श्रीमार्जुन देव र विष्णु गुप्तको अभिलेख अध्ययन गर्दा विष्णुको मङ्गलचरणबाट अन्य वर्णन गरिएको छ ।

समुन्द्रको पवित्र र सफा पानीले भिजेका विष्णुका मूर्ति लक्ष्मीसहित जलशयन मुद्राको छ । जलयशन नारायण अनन्तशयन शेषय आदि नामले सम्बोधन विष्णुलाई गरिन्छ । मृत्यू शैयामा पनि बैकुण्ठ बास होस् भन्ने कामना तत्कालको अवस्थामा पनि थियो र आजसम्म पनि पाइन्छ । धेरैजसो नदी–खोलाका घाटहरुमा शयन मूर्तिको परिक्रम गरेर सती जाने गर्दथे । विष्णुको शयन प्रतिभा (मूर्ति) चित्र मल्लकाल र शाहकालमा निर्माण गरिएको थियो । मन्दिर परिक्रमा मात्र होईन, गुठी स्थापना र दान धर्मका कार्यहरु गरिन्थ्यो । हनुमान ढोका भण्डार खालको पोखरीमा शयन विष्णुको प्रतिभा छ । त्रिबिक्रम बिष्णुबिक्रान्त बराह नरसिंह गरुडासन अवस्थाको बिष्णुको मूर्ति छ जुन पछिल्लो समयमा बनेको हो ।

श्रोतहरु :
१ःप्रा.डा.वीणा पौड्याल जलशयन नारायण प्राचिन नेपाल, बर्ष १८१ कार्तिक २०६९ पुरातत्व विभाग काठमाण्डौ पृ.२६–३४ ।
२ः धनबज्र बज्राचार्य लिच्छविकालका अभिलेख टिप्पणी नं. १४ शेषनागराजको शरीरले चहकिलो पोखरीमा काठमाण्डौ नेपाल र सरियाली अनुसन्धान केन्द्र २०५३ ।
३ः बालकृष्ण सम नेपाली ललितकला नेपाल सरकार सूचना मन्त्रालय विं.सं. २०२२ पृ.४० ।
४ः बालकृष्ण सम पूूर्ववत् पृ.२४ ।
५ः वाइ.जी कृष्णमुर्तिद्वारा लिखित किङ्ग महेन्द्र अफ नेपाल दिनित्यानन्द सोसाइटि बम्बई ८२ दिलच्छवि स्कुल ।
६ः बावुराम आचार्य नेपालमा जलशयन नारायणका मूर्तिहरुको स्थापना वि.सं.२०२७ कार्तिक पृ.४११ ,

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here