27.9 C
Makwānpur
Homeबिचारबेकामीले मात्र गर्ने हो कृषि ?

बेकामीले मात्र गर्ने हो कृषि ?

कृषि, मात्र पेशा नभएर एक जीवनशैली हो । जसले प्रकृतिसंगको सन्तुलनलाई जोगाउन महत्वपूणर् भूमिका खेल्छ । नेपाल जस्तो कृषिमा आधारित देशमा, कृषि केवल जीविकोपार्जनको माध्यममात्र नभई हाम्रो पहिचान हो । हाम्रो देश ‘कृषि प्रधान मुलुक’ भन्ने भनाइले कृषि पेशाको सहज उपलब्धता र यसको महत्वलाई खझै झल्काउंछ । यो भनाइले बेकामे र बेरोजगारीलाई कृषि क्षेत्र कसरी आधारशिला बन्न सक्दछ भन्ने सन्देश दिन्छ । कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । यहाँको करिब करिब ६५ प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर छन् । हाम्रो खाद्यान्न आपूर्ति, रोजगारी र आर्थिक वृद्धि यस क्षेत्रसंग जोडिएको छ ।

कृषिले मानिसलाई प्रकृतिसंग जोड्न मात्र होइन, आत्मनिर्भर बन्नसमेत प्रेरित गर्दछ । बेरोजगारी र आर्थिक संकटले गर्दा धेरै मानिस विदेश पलायन भइरहेका बेला कृषिले एक वैकल्पिक उपाय दिनसक्छ भन्नेमा दुईमत नहोला । घरमै उपलब्ध जमिनलाई उपयोग गरी उत्पादनशील काम गर्न सकिन्छ । यसका लागि ठूलो लगानी वा उच्च शिक्षा आवश्यक छैन, केवल मेहनत र लगनशिलताको आवश्यकता हुन्छ । हाल नेपालमा कृषिको अवस्था मिश्रित छ ।

आधुनिक प्रविधि, उन्नत बीउबिजन र सिंचाइ सुविधाको विकासले उत्पादन क्षमता केही हदसम्म बढाएको छ । तर, समस्या भने धेरै छन् । कृषि क्षेत्रमा काम गर्ने जनशक्ति दिनानुदिन घट्दै छ । युवा पुस्ता वैदेशिक रोजगारी वा अन्य क्षेत्रप्रति आकर्षित भैरहेका छन् । त्यसैले, कृषि क्षेत्रमा श्रमशक्तिको अभाव खड्किएको छ । युवावर्गमा आजकल बढ्दो रुपमा ‘बेकामी भएसी मात्र किसान भैइन’ भन्ने सोचलाई परास्त गर्न जरुरी देखिन्छ । युवाहरुले आजकल कृषि पेशालाई अन्तिम विकल्प मान्ने गरेका छन् । त्यसैले कृषिप्रतिको हाम्रो दृष्टिकोण परिवर्तन गराउनु आवश्यक छ । कृषिमा सफल हुनका लागि मानिसले विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ । प्राविधिक ज्ञानको कमी एक महत्वपुणर् चुनौति हो । धेरै किसानहरू अझै परम्परागत विधिहरूमा निर्भर छन् । आधुनिक उपकरण र प्राविधि प्रयोग गर्ने ज्ञानको अभावले उत्पादन घटाउंछ भने, सिंचाइको अभाव अर्को टड्कारो समस्या हो ।

नेपालमा सिंचाइको राम्रो व्यवस्था छैन र आकासे पानीको भरमा छौं । जमिन बाँझो हुने कारणमध्ये सिंचाई मुख्य हो । यति हुँदाहुँदै, उत्पादन गरेको बालीको उचित मूल्य पाउन पनि कठिन छ । किसानहरूले आफ्नो परिश्रमअनुसारको आम्दानी प्राप्त गर्न सक्दैनन् । अनिश्चित मौसमले उत्पादनमा ठूलो प्रभाव पार्छ । सुख्खा, बाढी र पहिरोले कृषिलाई थप क्षति पुर्‍याई—रहेको छ । जसले गर्दा अन्तिम रोजगारीमा कृषि पर्नु कुनै नौलो होईन् । तर पनि चुनौतीका बाबजुद कृषि क्षेत्रले विविध सम्भावना देखाई रहेकै छ ।

झन् आजकाल बिदेशबाट फर्कने धेरै युवाहरुले बिदेशमा आर्जेका ज्ञानलाई कृषिमा खन्याई रहेका छन् । यदि कृषि पेशालाई व्यवस्थित रूपमा सञ्चालन गरियो भने यो ठूलो आम्दानीको स्रोत बन्न सक्छ । सिंचाइ, स्मार्ट कृषि र जैविक खेतीजस्ता नयाँ प्रविधिहरूको प्रयोगले उत्पादनशीलता बढाउन सकिन्छ । कृषि मात्र खाद्यान्न उत्पादनको माध्यम होइन । जडीबुटी खेती, फलफूल उत्पादन, दुग्ध उत्पादन र माछापालन जस्ता अनेकन कामले रोजगारीका नयाँ अवसर सिर्जन गर्न सक्छन् ।

परिश्रम, सहनशिलता र लगनशिलता भए कृषि पेशा हरेकले अपनाउन सकिने पेशा पनि हो । यद्यपि, आजको समयमा मानिसले कृषि पेशालाई कमजोर र कम महत्वपूणर्रूपमा हेर्ने गरेका छन् । र, ‘बेकामेको यात्रा कृषिमा जात्रा’ भन्ने जस्ता भनाईले कृषिलाई थप निर्बाहमुखि पेशाको रुपमा दर्शाउंछ । अझै यो भनाइले हामीलाई आत्मनिर्भरता र साधारण जीवनशैलीतर्फ उन्मुख हुन प्रेरित गर्दछ । बेकाम अवस्थामा पनि कृषि पेशा मानिसका लागि एक बलियो आधार बन्न सक्छ । कृषिलाई अन्तिम विकल्पको रूपमा लिने हाम्रो समाजको सोच र व्यवहारलाई परिबर्तन गर्न जरुरी छ । आजको युगमा, विशेषगरी युवा पुस्तामा, कृषि पेसाप्रति चासो घट्दै गएको छ ।उनीहरू अन्य पेशा रोज्न चाहन्छन्, चाहे त्यो सरकारी जागिर होस् वा वैदेशिक रोजगारी । अर्कोतर्फ, पौढ पुस्ता जागिरबाट निबृत्त भएपछि बाँझो जमिनलाई उपयोग गरेर कृषि पेशामा लाग्ने सोच राख्छन् । यसले दुई पुस्ताबीचको सोचाइ र व्यवहारको भिन्नतालाई स्पष्ट गर्दछ । आजका युवाहरू कृषि पेशाप्रति उदासिन देखिन्छन् ।

उनीहरूलाई कृषि परिश्रमसाथ गर्ने काम मात्र हो भन्ने लाग्छ । देखावटी सामाजिक प्रतिष्ठाको कारणले पनि उनीहरू कृषि पेशा गर्न हिचकिचाउंछन् । आधुनिक जीवन शैलीतर्फको झुकावले आधुनिक प्रविधिमा आधारित, आरामदायी र तीव्र आम्दानी दिने कामप्रति आकर्षण बढी देखिन्छ । कृषि पेशाले यो आवश्यकता पूरा नगर्ने ठान्छन् । आफ्ना दौतरी र गाऊ टोलेहरु बिदेशबाट छुट्टिमा फर्कदा देखिएका तड्कभड्कले बिदेशीने सपना बाँध्छन् । यहि विदेश जाने तिव्र मोहले ग्रामीण भेगका अधिकांश युवाहरू विदेशिन्छन् । उनीहरूलाई लाग्छ, कृषि पेशाले त्यस्तो आम्दानी दिनै सक्दैन् । बेरोजगार हुँदा धेरैजसो युवा सरकारलाई दोष दिने र रोजगार माग्ने प्रवृत्तिमा देखिन्छन् । आफूले के गर्न सक्छु भन्ने सोच्दैनन् भनौं सोच्नै चाहँदैनन् ।

खेतीपातीमा गर्नुपर्ने शारीरिक परिश्रम र लामो समयसम्म मात्र आम्दानी देखिने विशेषताका कारण उनीहरू यसबाट टाढा रहन्छन् । जसको कारणले ‘बेकामी भएसी किसानी भैइने’ भन्ने भनाईलाई थप मलजल गर्छ । यो केवल एउटा भनाइ मात्र होइन यो एक दृष्टिकोण समेत हो, जसले कृषि क्षेत्रप्रतिको हाम्रो सोचलाई रूपान्तरण गर्नुपर्छ । कृषि केवल बाँच्नका लागि नभई देशको समग्र विकासका लागि पनि महत्वपूणर् छ । यो एक उद्यम पनि हो । त्यसैले, कृषि क्षेत्रको सुधारका लागि सरकार, समाज र व्यक्तिगतस्तर मा प्रयास गर्नुपर्छ । यदि कृषि क्षेत्रमा युवा पुस्ता, आधुनिक प्रविधि र नविन सोचको प्रयोग गरियो भने ॅबेकामी भएसी किसानी भैइने’ भनाइ र सोच परिवर्तन भई कृषिले नेपालको समृद्धिको नयाँ आयाम खोल्नेछ ।
ः अस्तु ः

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here