Homeबिचारघरबेटी बा १ डेरावालको समस्या बुझ्ने कि ?

घरबेटी बा १ डेरावालको समस्या बुझ्ने कि ?

संसारभर अधिकतम ब्यवसाय गर्दै आएको रियल स्टेट ब्यवसाय मध्ये घर, कोठा, फ्ल्याट वा जग्गा भाडामा लगाउने ब्यवसाय बढी नै चलन चल्तिमा छ । अन्य विकसित देश र विषेशत युरोपेली मुलुकहरुले यस पेशालाई फरकढंगबाट कानुनत सरकार, सम्पत्ति, मालिक र भाडावाला तीनै पक्षलाइ फाईदा हुनेगरी समान महत्वका साथ ब्यवसाय गर्दै आएको पाईन्छ । नेपालमा भने बिना सम्झौता वा एक किसिमले गैरकानुनीढंगबाट सञ्चालन हँदै आईरहेको छ ।

यसमा बिशेषत भाडा ब्यवसायलाई ब्यवसायिकरण गर्न नसक्नु, घरमालिकले यसको उपादेयता बुझ्न नसक्नु र सरकारी पक्षबाट करदातालाई सुविधाको घेरामा बाँध्न नसक्नु पनि हो । जसले गर्दा तीनै पक्षले हानी नोक्सानी ब्यहोर्नु परेको छ । सरकार ठुलो कर राजस्व रकमबाट बिमुख भैरहेको छ भने, घर मालिकले समयमै भाडा नपाउनु, घरको संरचनामा हानी, नोक्सानी ब्यहोर्नु र कतिपय अवस्थामा आफ्नै भौतिक तथा शारिरिक हानी दुर्घटना ब्यहोर्न परिरहेको अवस्था छ ।

त्यसैगरी भाडामा बस्नेले समेत आफुले पाउनुपर्ने गोप्यता नपाउनु, विभेद ब्यहोर्नुलगायत धार्मिक र साँस्कृतिक अपहेलना सहनु पर्ने बाध्यता टड्कारो देखिएको छ । नेपालमा डेरा गरि बस्ने धेरै मानिसलाई विशेषगरी शहरी क्षेत्रहरूमा विभिन्न चासो र चुनौतीहरूको सामना गर्नुपर्दछ । यहां डेरामा बस्दा हुने समस्या र चुनौतीहरूका केही छलफल गरौं ।

नेपालका अधिकांश शहरी क्षेत्रहरू, विशेषगरी रोजगारीको अवसर र सुविधायुक्त शहरहरूमा आवासको ठूलो अभाव छ । जनसंख्याको चाप र विकासको चाँडो गतिले गर्दा घर भाडामा लिन कठिन भैसकेका छन् । अब्यवस्थित निर्माण र वस्ती हुँदा नयाँ आवास निर्माण गर्न समय लाग्छ भने, पुराना घरहरूको भाडा बढ्दै जान्छ । यसले युवाहरू र मध्यमवर्गका परिवारलाई डेरा खोज्नमा धेरै समस्यामा पारेको छ ।

जस्का कारणले प्रत्यक्षरुपमा भाडादरमा दिनानुदिन बृद्धि भैरहेको छ । विशेषतः उच्च रोजगारदाता जस्ता शहरहरूमा, भाडा धेरै नै महंगो भएको छ । यो पक्कै पनि अप्ठ्यारोमा पर्ने कुरा हो, जब परिवारका सदस्यहरूको आर्थिक अवस्था कमजोर हुन्छ । उच्च भाडा तिर्नुपर्दा अन्य आवश्यकताहरूमा कटौती गर्नुपर्ने अवस्था आउंछ, जसले जीवनको गुणस्तरमा समेत असर पार्न सक्छ भनौ असरै पारिरहेको पनि छ । यति हुँदाहुँदै पनि बासको असुरक्षित अवस्था मुख्य समस्याको रुपमा देखिन्छ ।

डेरामा बस्ने स्थानहरूको अवस्था राम्रो हुँदैन । पानी, विद्युत् र सुलभ आवासीय सुविधाको कमीका कारण डेराबासीहरू असुरक्षित महसुस गरिरहेका हुन्छन् । पुराना र जीणर् भवनहरूमा बस्दा भूकम्प वा अन्य प्राकृतिक प्रकोपहरूको समयमा बाँच्न कठिनाइ हुन सक्दछ । त्यसैले, डेरामा बस्ने व्यक्तिहरूलाई अधिकतम सुरक्षा र सुविधाहरूको खाँचो हुन्छ । रोजगारदाता शहर र शहर उन्मुख स्थानहरुमा तीव्र जनसंख्या वृद्धि भइरहेको छ जसले गर्दा डेरामा बस्ने व्यक्तिलाई उचित स्थान र सुविधाहरू पाउन गाह्रो हुन्छ ।

अधिक जनसंख्याका कारण डेरा- वालालाई एक अर्कोसंगको सजगता र सजिलोले बाँच्न गाह्रो हुन्छ । यो चापले डेरावालालाई मानसिक तनाव पनि बढाईरहेको हुन्छ । जसको प्रमाण बढ्दो डिप्रेसनका बिरामीहरुको चापले दिईरहेको छ । यसो भनिरहँदा अल्पविकसित देशको तुलनामा विकसित देशहरुमा डेरावाला र घरबेटीको राम्रो सम्बन्ध रहेको हुन्छ । घरबेटीहरु डेरावालाको स्विकृतिबिना अनावश्यकरुपमा घरकोठा प्रवेश निषेध गरिएको हुन्छ भने सम्झौताको समय अगावै भाडा भुक्तानी नभएमा जरिवाना समेतको ब्यवस्था गरिएको हुन्छ ।

सम्झौता सम्पन्नपश्चात् घर छोडने समयमा, जे जस्तो अवस्थामा छ सोहिबमोजिम छोडनु पर्ने हुन्छ । दुबै पक्षको सम्झौता बमोजिमको सरकारले कानुनद्वारा अक्षरस पालना गराईएको पाउंछौ । नेपालमा भने, त्यस्तो अवस्थाको कमिले घरबेटी त कता हो कता छरछिमेकीसंगको सम्बन्धमा समेत प्रश्न उठिरहेको हुन्छ । हाम्रो मुलुकमा डेरामा बस्ने व्यक्तिहरू र छिमेकीसंगको सम्बन्ध संधैं सामान्य हुँदैन । विभिन्न अवस्थाको स्टेट्स र भिन्न जीवनशैलीका कारण छिमेकीहरूसंगको सम्बन्धमा कटुता आउने सम्भावना रहन्छ ।

अस्वास्थ्यकर जीवनशैली, चोक र बास बस्ने स्थानमा आउने ध्वनी र प्रदूषणका कारण टकराबको स्थिति उत्पन्न हुन सक्छ । कतिपय अवस्थामा निजी जीवनको अभाव भयो भन्दै स्थानीय निकायमा उजुरी समेत परेको अवस्था छ । स्थानीय बासीबीचमा धेरैजसो सानातिना असहज अवस्थाहरूको सामना गर्नुपर्छ । गोपनीयता नभएका कारण व्यक्तिगत जीवनमा बाधा पुर्‍याउने चुनौतीहरू बिद्यमान त छंदै छन् ।

डेरामा बस्ने व्यक्तिलाई आवश्यक सुविधाहरुको पहुँच पनि कष्टकर हुन्छ । बजार, स्कूल, अस्पताल र अन्य दैनिक आवश्यकताहरूको नजिक पारेर बस्नुपर्ने हुन्छ । तर, धेरैजसो अवस्थामा, डेरामा बस्ने व्यक्तिलाई यी सेवाहरूसम्म आइपुग्नमा समय र श्रम लाग्दछ ।

विशेषगरी महिला र बालबालिकाका लागि यो समस्या थप गम्भीर हुन्छ । अर्कोतर्फ हाम्रो जस्तो मुलुकमा, डेरामा बस्नेले कहिलेकाहीं भेदभावको सामना गर्नुपर्छ । बिभिन्न जाति, धर्म र आर्थिक पृष्ठभूमिका कारण डेराबासीले भेदभावको सामना गर्नुपर्छ । यो स्थिति समाजमा असमानता र संघर्षको अवस्था सृजना गर्न सक्छन् । जस्ले गर्दा डेरामा बस्ने परिवार कहिले काँही पाहुना र साथीहरुका साथ बस्न गाह्रो हुन्छ । स्थानको संकुचन र सहनशिलताको कमिले कहिलेकाहीँ झैझगडाकोसमेत सामना गर्नुपर्ने हुन सक्छ, जसले गर्दा परिवारका सदस्यहरूबीचको सम्बन्धमा तनाव ल्याउने सम्भावना देखिन्छ ।

आफ्नो घरगाऊ र परिवेस छोडी टाढा शहरमा डेरागरी बस्नु भनेको आफ्नो जीवनस्तर उकास्न र उन्नत सुविधासहितको जीवन शैलिका लागि हुनु पर्नेमा झन् नीतिनियमको अभावले उल्टो परिणति ब्यहोर्नु परेको हुन्छ । नेपालमा डेरा गरि बस्दा हुने समस्याहरू जटिल र विविध छन् । यस लेखमा चर्चा गरिएका समस्या र चुनौतीहरूलाई ध्यानमा राख्दै, आवश्यक सुधार र नीतिहरू निर्माणको आवश्यकता देखिन्छ ।

जसले, डेराबासीको जीवनमा सुधार ल्याउन मद्दत पुगोस् । बढ्दो शहरी क्षेत्रका शहरहरुमा सरकारी स्तरबाट नयाँ आवासको निर्माण, भाडामा सहुलियत र सामाजिक सेवाहरूको पहुँच सुनिश्चित गर्नु आवश्यक देखिएको छ । डेरावालालाई मासिक भाडा रकम जतिकै रकम पर्नेगरी किस्ताबन्दीमा घर प्रदान गर्न सक्ने हो भने यस्ता समस्याहरुलाई पन्छाउन उति गार्‍हो साह्रो नहुन सक्ला ।

यसबाहेक, नागरिक समाज र समुदायको सक्रियताको आवश्यकता पनि छ । माथि भनिएझै बिकसित मुलुकमा डेरागरी बस्नेहरुको पक्षमा राम्रा कानुन बनेका र भाडा तिरुन्जेलसम्म आफ्नै घर वा सोसरह हुने हुनाले आफ्नो कमाईको मोटो रकम खर्च गरेर घर बनाउनुको बदला उक्त रकम प्रयोग गरेर ब्यवसाय गरि थप आयआर्जन गर्नेतर्फ उन्मुख हुन्छन् ।

यसो गर्दा राष्ट्रिय अर्थतन्त्र चलाएमान भई जिडिपिमा सुधार आउनुका साथै रोजगारीका प्रशस्त ढोका खुल्ला हुन सक्छ । तर, हाम्रो जस्तो विकाशशिल मुलुकमा डेरावाला र घरबेटीको समान फाईदा हुने कानुन नबन्दा मोटो रकम खर्चेर आफ्नै घर निर्माणमा उद्दत हुँदा ठुलो मात्राको राष्ट्रिय पुँजि निर्माणमा समेत प्रतक्ष्य असर पारिरहेको छ ।

यि यावत् समस्याहरू समाधान गर्दै, डेराबासीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकेमा मात्र हामी समुदायमा आधारित समुन्नत समाज निर्माणतर्फ अग्रसर हुनेछौं । यो ढिला नगरी सके सरकारका तर्फबाट, सकिने स्थिति नरहेमा नीजि कम्पनीलाई आवश्यक सुविधा र सहजिकरण गरेर भएता पनि सुरुवात गरेमा करिब सवा करोडको हाराहारीका डेराबासीलाई प्रत्यक्ष लाभ पुग्ने देखिन्छ ।
ः अस्तु ः

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here