नेपालको संघीय राजधानी कामाण्डौंबाट १३३ कि.मी पूर्व दोलखाको सदरमुकाम चरिकोट पुगिन्छ । यो जिल्लाको पूर्वमा सोलुखम्बु र रामेछाप जिल्ला, उत्तरतर्फ छिमेकी मित्र देश चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । पश्चिममा सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा रामेछाप जिल्ला पर्दछ । दोलखा जिल्लाको क्षेत्रफल २१९१ वर्ग कि.मी. २ नगरपालिका र गाउं पालिका ७ समेत गरी ९ स्थानीय पालिकाहरु छन् । यो जिल्लाको भुभाग समुद्र सतहदेखि सबैभन्दा होचो सितली भन्ने स्थान ७६२ मिटर र उचाईमा सर्वोच्च उच्च भूमि गौरीशंकर हिमालको उचाई ७१३४ मिटर अग्लो छ । गौरीशंकर हिमाललाई आधार मानी नेपाल देशको प्रमाणित समय निर्धारण गरिने गरिएको छ । राणाकालमा २ नं. गोश्वाराको प्रशासनिक इकाइको रुपमा दोलखामा थियो । २०१८ सालबाट १४ अञ्चल ७५ जिल्ला हुँदा एक जिल्ला दोलखा पनि थियो ।
पुनःसंरचनापछि ७७ जिल्ला हुँदा पनि दोलखा एक जिल्लामै कायम छ । २०१८ साल भनेता पनि जिल्लाको अस्तित्वमा २०२४ सालबाट मात्र जिल्ला अदालत हुलाक, प्रहरी मालपोत र स्वास्थ जिल्ला जस्ता जिल्ला स्तरीय कार्यालयहरु स्थापना हुन पुगेका थिए । वर्तमान बागमती प्रदेशमा पर्ने १३ जिल्लाहरु मध्ये दोलखा जिल्ला एक हो । यसअघि ५ विकास क्षेत्र हुँदा मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत जनकपुर अञ्चलमा पर्दथ्यो । संघीय निर्वाचन क्षेत्र १६५ मध्ये यो प्रदेशमा ३३ निर्वाचन क्षेत्र छ । प्रादेशिक निर्वाचन क्षेत्र ३३० मध्ये ६६ सदस्य संख्या छ । भीमेश्वर नगर-पालिका ९ वडा र जिरी नगरपालिका ९ वडाका छन् । कालिञ्चोक गाउँपालिकामा ९ वडा, गौरी शंकर गाउँपालिका ९ वडा, तामाकोशी गा.पा. ७ वडा, मैलुङ गा.पा. ७ वडा, बिगु गा.पा.८ वडा, वैतेश्वर गा.पा. ८ वडा, शैलुङ गा.पा. ८ वडा छन् । गाउँपालिका ७ को वडा संख्या ५६ र जनसंख्या १,३७,४९८ छ भने नगरपालिका २ को १८ वडा र जनसंख्या ४७,९९५, क्षेत्रफल ३४३.८ वर्ग कि.मी. छ । गाउँपालिकाको कुल क्षेत्रफल १९२६ गर्व कि.मि. भएको देखिन्छ ।
यो जिल्लाको अक्षांश २७.२८ देखि २८.० उत्तर देशान्तर ८५.५० देखि ८६.३२ पूर्वमा छ । यसअघि यस जिल्लालाई भीमेश्वर नगरपालिका र ५१ गाउँ विकास समितिहरु थिए । २०६८ सालको राष्ट्रिय जनगणनामा १,८६,५५७ जनघनत्व ८५ थियो २०५८ को जनगणना हुँदा २०४२२९ भएकोले २०६८ सालमा घटेको देखिन्छ भने २०७८ को जनगणनामा परिवार संख्या ४९,५३८ जम्मा जनसंख्या १,७२.७६७ मध्ये महिला ८९,०४७ र पुरुष ८३,७२० औषत परिवार आकार ३.४९ लैङिगकअनुपात प्रतिसय महिलामा पुरुषको संख्या ९४.०२ जनघनत्व ७९ थियो । हावापानीमा उष्ण समशितोष्ण र शितोष्ण सबै किसिमका पाइन्छ । ३३०० मिटरदेखि ५००० मिटरसम्मका भूभागलाई लेकाली हावापानी भनिन्छ । गौरीशंकर हिमाल क्षेत्रमा यस्तो हावापानी भएको पाइन्छ । यो जिल्लाको प्रमुख तालहरुमा च्छो रोल्पा हिमताल छ । यो जिल्लामा सुख सुविधाका कारण आफ्नो जन्मभूमि छोडेर काठमाण्डौ उपत्यका र तराईमा बसाइ सराइका कारण जनसंख्या क्रमश घट्दोक्रममा छ ।
दोलखामा प्रमुख जात-जातिहरुमा २०६८ को जनगणना हेर्दा ३३.४१ प्रतिशत क्षेत्री, १६.७८ प्रतिशत तामाङ, ९.३८ प्रतिशत नेवार, ९.२० प्रतिशत पहाडी ब्राम्हमण, थामी ८९२ प्रतिशत भएको पाईन्छ । गुठी अधिनस्थ जग्गा दोलखा जिल्लामा १३७७ रोपनी थियो । गुठी तैनाथी नम्बरी जग्गा १२४६ रोपनीसमेत २६२३ रोपनी यो जिल्लामा भएको गुठी संस्थापनको २०७५ सालको तथ्याङ्क छ । दोलखाको जिरी नगरपालिकामा विमानस्थल छ । ३६८ह१८ मिटर लम्बाई चौडाईको भएता पनि हाल नियमित सञ्चालनमा छैन । झोलुुङ्गे पुल दोलखा जिल्लामा १६८ वटा थियो भनी बागमती प्रदेश वस्तुस्थिति विवरणमा उल्लेख छ । ५ वर्षमाथि उमेरकालाई पढ्न लेख्न जान्नेलाई साक्षर मानिएको छ । २०६८ सालमा १०७२३८ साक्षरमध्ये महिला ५३.६७ र पुरुष ७३.३४ प्रतिशत भएर सरदर साक्षरता ६२.७८ प्रतिशत थिए । २०७८ सालको जनगणनामा साक्षरदर महिला ६४.१६ र पूरुष ८१.०७ प्रतिशत सरदर ७२.३१ साक्षरता थियो ।
सामुदायिक विद्यालयहरुमा प्राथमिक ४ सय, नि.मा.वि. १७२, माध्यमिक ८८, उच्च मा.वि. ४२ थिए । संस्थागततर्फ प्राथामिक २५, नि.मा.वि. १७ र माध्यमिक १२ भनि २०७४ को शिक्षा विभागको तथ्याङ्क छ । हुन त प्राथामिक विद्यालय भन्नाले १-५ कक्षा नि.मा.वि. भन्नाले ६-८ कक्षालाई भनिन्थ्यो तर, शिक्षा विभागको २०६४ सालको विवरणमा आधारभूत शिक्षा भनी १-८ कक्षा भनिएको छ । दोलखाको नामाकरण : दोलखाको नामाकरण कसरी भएको रहेछ भनी तत्कालिन जिल्ला विकास समिति गाउँ विकास समिति नगरपालिकाहरुमा निस्केको पुस्तकमा उल्लेख भएबमोजिम प्राचीनकालमा हिन्दुस्थानमा मुगलहरुले शासन गर्दथे । इष्टइण्डिया कम्पनीका अंग्रेजहरु भन्दा पहिलेको कुरा हो । मुस्लिम (मुगल) ले शासन गर्दा अन्य जात-जाति हरुलाई जातिच्चुत गराउन मानेनन् भने सताउने, तर्साउने धर्म तथा जातजाति परिवर्तन गरेर मुस्लिम हुन आदेश दिने गरेका थिए ।
मकवानपुरे शुभसेन राजालाई पनि दिल्ली पुर्याएर जाति च्युत गराएका थिए । यस्तो अत्याचार गरिरहेको देखेर सन्त-जोगीहरु मुगल राज्य त्यागी उत्तरतर्फ भागेर हिमालको फेदीमा जोगी हुन पुगे र थकाई भोक निद्राले सताई रहेकोले एक प्राकृतिक गुफामा बस्न पुगे र भोक निन्द्राले गर्दा त्यहि गुफामा आराम गरे । त्यहि बसेर आफ्नो नित्य कर्मको साथै सिद्धि प्राप्तिका लागि तपस्या गरे । यहां प्राकृतिक हावा मात्र पाइने हुँदा हावा मात्र खाएर तपस्या गर्दा-गर्दा हाड-छाला मात्र बाँकी रहेको देखेर तत्काल भगवान शिव प्रादुर्भाव भई भन्नुभयो हे भक्त १ के बरदान माग्दछौ माग भन्दा संधै तपाईकै आसपास बस्न पाउँ र संसारमा जति पनि मानिस छन्, ती सबै जातले धर्म परिवर्तन गर्न नपरोस्, अन्याय अत्याचार नहोस् भनि वरदान माग्दा तथास्तु भनि शिव भगवान अन्तरध्यान हुनुभयो । आफ्नो इच्छाअनुसार वरदान पाएर जोगी सारै खुसी भएर अब म यही क्षेत्रको परिक्रम गर्दछु भनि गुफाबाट बाहिर निस्कन खोजे ।
पांचौ दिन हुँदा पनि बाहिर निस्कन सकेनन् दाहिनेबाट देब्रेबाट जताबाट निस्कन खोजे पनि दुईलाख पटक गुफाको परिक्रममा गर्दा पनि निस्कने बाटो देखेनन् । हिन्दुस्थानबाट आएकोले दुइलाख भन्नु पर्नेमा दोलख भन्न थाले र दक्षिण तर्फको बस्तीमा ठुलो स्वरले कराउंदा बाटो बताई दिएकोले बाहिर आएर दोलख भनि रहे कालान्तरमा दोलखा नामाकरण भएको जनश्रृती छ । अर्को प्रसंग पनि रहेछ । छिमेकी मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिव्बततर्फ उनीहरुको भाषामा दो भनेको ढुंगालाई भनिन्छ । ल को अर्थ मन्दिर गुम्बालाई भनिन्छ र खा को अर्थ घर हो । यो तीनै कुरालाई समेटेर एकै पटक भन्दा दोलखा भनियो । यो हिमाली क्षेत्रमा ढुंगा माटो जोडेर घर-गुम्बा, मन्दिरहरु निर्माण गर्ने गरिएकोले पनि दोलखा भन्ने गरिएको रहेछ ।
सातौ शताब्दी अघि र पछि पनि उत्तरी हिन्दुस्थानबाट व्यापार/व्यवसाय गर्न दोलखा भएर तिव्बत जाने/आउने मुलबाटो रहेछ । मूख्य बाटो मै परेकोले दोलखा नाम प्रख्यात र प्रशिद्ध भएको रहेछ । दोलखा उत्तर दक्षिण गर्ने स्थानको बाटो थियो । प्राचिन लेखहरुमा दोलखा भन्ने पनि पाइएको छ । नेपालमा प्राचिनकालतर्फ जाँदा किराँतहरुको शासन थियो । दोलखा खुम्बुआन क्षेत्रमा परेको इतिहासमा पाइन्छ । खुम्बुआन क्षेत्र भन्नाले सुनकोशी देखि दुधकोशी नदीसम्मको क्षेत्र पर्दथ्यो । यस दोलखा क्षेत्रलाई माझकिराँत वा राइ किराँत भन्ने गरिएको थियो । किरांती छाप क्षेत्र भन्नाले प्राचीन दोलखा क्षेत्र मुख्यभूमि हो । यहाँ करिव ५०० वर्ष दोलखा स्वतन्त्र राज्य नै थियो । स्वतन्त्र राज्य हुँदा प्राचीन समयमा दोलखा नामको ऐतिहासिक नामाकराण भएको थियो । दिल्लीका बादशाह गयासुद्दीन तुगलक बंगालबाट तिरहुतको बाटो फर्कदा सिम्रोेनगढका राजा हरिसिंह देव वि.सं. १३८१ मा थिए ।
उनको सिम्रौनगढ (तिरहुते) राज्यमाथि आक्रमण गर्दा गढी-किल्ला- दरवार र मन्दिरहरु ध्वस्त मात्र पारेनन्, कैयौं फौज रणभूमि मै ढले । राजा-रानी र मन्त्रीहरु घायल अवस्थामै ज्यान जोगाउन दोलखा पुग्ने भनि भागे । पूर्वउत्तरतर्फ लागेर बागमती नदी तरेर सिन्धुलीको तीन पाटन पुगेर घायल अवस्थामै राजा हरिसिंह देवको स्वर्गारोहण भयो । रानी देवल देवी छोरा जगत सिंह र मन्त्रीहरुसमेत बिलखबन्दमा परे । मृत राजाको दाहसंस्कार र काजक्रिया गरेपश्चात मुसलमानी सेनाबाट यहाँसम्म पनि आक्रमण हुन सक्छ भनि सल्लाह गरी उत्तरतर्फ रामेछाप हुँदै दोलखा पुगे । त्यहाँ रजगाउँको माझी भारोले देखेर उनीहरुलाई बन्दी बनाएर उनीहरुसम्म भएका सामानहरु जबरजस्ती लुटे, रानी देवल देवीले आफुसंग लुकाएर राखेको गहना गोप्यरुपमा पालेलाई दिएर एउटा पत्र भक्तपुरका राजाको दरवारसम्म पुर्याई दिनु भनी पत्र पठाउन सकेको भएता पनि उनीहरुको अवस्थामा साह्रै दयनीय थियो । भक्तपुरे राजा रुद्रमल्ल उनका भाइ थिए । दिदीको गोप्य पत्र पाएर आश्चर्यमा परेर छुटाउन सेना पाठए ।
सबैकुरा माझी भारोलाई सुनाए पछि देवल देवीसहितलाई कारागार मुक्त गरेर भक्तपुर दरवारमा पुर्याइयो । भाइको आश्रयमा बसिन् । करिब ६ महिना हुँदा आश्रयदाता भाइ राजा रुद्र मल्लको स्वर्गारोहण भयो । रुद्र मल्लका एक मात्र छोरी थिइन् । भाइ/बुहारी र भदै नायक देवीको संरक्षण गर्दै येनकेन बसिन तर, केही समयमै रानी पद्मला देवीको स्वर्गारोहण भयोे । अब नायक देवी के गर्ने के नगर्ने अवस्थामा पुगेर टुहुरी भइन् । उनैको संरक्षकत्वमा काशी राजघरानाका हरिश्चन्द्र देवसँग विबाह गरियो । उनी पनि खानामा विष प्रयोग भएर मारिए । कलिलै उमेरमा राजकाज चलाउने संरक्षक आवश्यकता महशुस गरी दोस्रो पटकको बिवाह जगतसिंह देवल देवीको आफ्नै छोरासँग गराइन । उनीहरुबाट एक कन्या जन्मिइन, उनको नामाकरण गर्दा राजल्लदेवी राखियो । टुहुरी नायक देवीको सुत्केरी अवस्थामै मृत्यु भयो ।
जगत सिंहलाई पनि कुकर्म गरेको भनि कैद गरियो र कैदमै मारियो । राजल्ल देवी हरि सिंह र रानी देवल देवीको आफ्नो छोरातर्फको नातिनीलाई संरक्षण गरेर रहिन । नातिनी ८ वर्ष उमेर पुगेपश्चात विवाह गरिदिने चलन रहेछ । दुलाहा (डोला) बाहिरैबाट झुक्याएर विवाह गरिदिने व्यवस्था मिलाइन । वि.सं. १४११ मा ८ वर्ष हुँदा राजल्ल देवीको ५ महिनापछि स्थिति मल्लसँग विवाह गरियो । वि.सं. १४१७ मा भएका गद्दीसीन राजा राजदेवको स्वर्गारोहण हुनपुग्यो । उनका छोरा अर्जुन देव १४ वर्षका मात्र थिए । उनैलाई उत्त-राधिकारी घोषणा गरियो । ५ वर्ष अर्थात् वि.सं. १४२३ पुग्दा देवल देवीको पनि मृत्युभयो । तत्पश्चात जयस्थिति मल्ल दरवारको मुख्य मानिस भए ।
श्रोतहरु :
१. दोलखा जिल्ला विकास समितिको बुलेटिन २. प्रा.डा. रामप्रसाद उपाध्याय प्राचीन र मध्यकालीन इतिहास ३. प्रा.डा. राजाराम सुवेदी नेपालको तथ्य इतिहास ४. राष्ट्रिय जनगणना २०६८ र २०७८ ५. केदारप्रसाद न्यौपाने मकवानपुर परिचय भाग २ ६. प्रा.डा. राजाराम सुवेदी ।