हेटौँडा | मकवानपुरको बकैया र बागमती गाउँपालिकामा रहेका माझी समुदायका दर्जनौँ परिवारको घर पाउने सपना पुरा भएको छ। सहरी विकास तथा भवन कार्यालय, हेटौँडाको सक्रियतामा सञ्चालित एकीकृत वस्ती आवास कार्यक्रममार्फत उनीहरू अब पक्की घरमा बस्न थालेका छन्।
पहिला झुपडी, प्लास्टिकको छाना, र खोलाको छेउछाउमा जोखिमपूर्ण जीवन बिताउँदै आएका माझी समुदायका परिवारले अहिले जस्ताको छाना, छुट्टै भान्सा र सौचालय भएको घर पाएका छन्। यस योजनाले न केवल ओत, बरु आत्मसम्मान, सुरक्षा र नयाँ जीवनको सुरुवात पनि दिएको छ। बकैया गाउँपालिका–५ की कालिका माझीले भनिन्, “सरकारले भगवान् सम्झेर हामीलाई घर दियो, अब हाम्रै ओत भयो।” उनका जस्ता धेरै माझी परिवारले अब आफ्नै घरमा बालबालिकालाई पढाउन, चिसो र बर्खाबाट जोगाउन पाएका छन्।
गत आर्थिक वर्षमा ५० घर निर्माण गरिएको थियो भने चालु वर्षमा थप १० घर बनाइएको छ। घरसँगै सौचालय पनि निर्माण गरिएकाले समुदाय खुलेआम दिसामुक्त बन्दै गएको छ। यो योजना समाजमा सम्मान र स्वाभिमान दिने माध्यम बनेको छ।
कार्यक्रम सफल हुनुमा प्रदेश सरकार, स्थानीय तह, प्राविधिक सहयोगी संस्था र समुदायको सहकार्य प्रमुख कारण रहेको छ। भवन कार्यालयका प्रमुख सुबोध अधिकारीका अनुसार यो योजना केवल भौतिक संरचना होइन, सामाजिक परिवर्तनको अभियान हो।
अब माझी समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीप्रतिको अपेक्षा बढेको छ।