बाजुरा/मरेको मान्छेलाई वैतरणी नदी तार्ने नाममा जिउँदै गाईलाई नदीमा बगाउनेलाई कानुनी कारबाही माग गरिएको छ । विश्व हिन्दु महासंघ जिल्ला कार्यसमिति बाजुराले सोमबार विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई बुझाएको मागपत्रमा कारबाही माग गरिएको हो ।
विश्व हिन्दु महासंघ केन्द्रीय सदस्य तुला पाध्या र जिल्ला अध्यक्ष महारुद्र जोशीद्वारा हस्ताक्षरित विज्ञप्ति जारी भएको हो । चैत २ गते सामाजिकसञ्जालमा नेपालको राष्ट्रिय जनावर र हिन्दुधर्मका प्रतीक गाईलाई पापमोचनका नाममा निर्दयी तरिकाले जगन्नाथ गाउँपालिका वडा–६, काप्रीस्थित कर्णाली नदीमा जबर्जस्ती बगाएर गौहत्या भएको कार्यप्रति विश्व हिन्दु महासंघ बाजुरा कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
गाई राष्ट्रिय जनावरमात्र नभएर हिन्दु धर्म/सँस्कृतिअनुसार तिहारमा पूजा गरिने भएकोले धर्मसम्बन्धि हकको रक्षाका लागि गाई एक प्रतीकका रुपमा रहने गर्दछ । ‘पापमोचन गर्ने नाममा यसरी आपराधिक क्रियाकलापबाट भिडियोसहित सामाजिकसञ्जालमा अपलोड गरेर विश्वसमुदायलाई त्रसित बनाउने तरिकाले गाईहत्या भएकाले उक्त अपराधमा संलग्नहरुको यथाशीघ्र खोजी र अनुसन्धान गरी प्रचलित कानुबमोजिम कडाभन्दा कडा कारबाही गरिदिन माग गर्दछौं,’ प्रजिअ पाध्यालार्ई बुझाइएको पत्रमा उल्लेख छ ।
गाईलाई जिउँदै नदीमा बगाएपछि मरेका मान्छेको पापकट्टी हुन्छ भन्ने रुढीवादी पाखण्डीपनका कारण जिउँदो गाई कर्णाली नदीमा बगाएको स्थानीयको भनाइ छ । चैत २ गते दिउँसो ‘गौदान गरेको दृष्य’ भनेर सामाजिकसञ्जालमा एक भिडियो पोष्ट गरिएको थियो । कर्णाली नदीकिनारमा समूह मान्छे जम्मा भइ गाईलाई ढुंगामुढा बर्साइ जबर्जस्ती नदीमा बगाएको पीडादायी दृष्य देखाइएको थियो । उनीहरुले कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेटेको दृष्यले त्रसित बनाएको थियो । गाई नदीमा जान डराउ“छ । जति कुटे पनि किनारतिर फर्किन जोड गरिरहेको हुन्छ । तर, ती व्यक्तिहरुले गाईलाई ढुंगा, डोरी र लौरोले यति धेरै पिट्छन् कि त्यसको पीडा सहन नसकी गाई नदीमा पुग्छ ।
गाई फेरि किनारमा फर्कन्छ । यद्यपि, उनीहरुले गाईलाई यत्तिकै छाड्दैनन् । फेरि अर्को ठाउ“मा लगेर बलजफ्ती नदीतर्फ लखेट्छन् । गाई पानीमा जान डराउँछ । तब पछाडि बसेका व्यक्तिहरुले ढुंगा हान्दै लखेट्छन् । गाई नदीको बेगसँगै बग्न थाल्छ । नदीमा डुब्दै गरेको गाई पटकपटक किनारतर्फ फर्कन खोज्छ । तर, युवाहरुले निरन्तर ढुंगा बर्साइरहन्छन् । अत्याशलाग्दो दृष्य कर्णाली नदीमा खिचेर स्थानीय पत्रकार डम्बरबहादुर बीसीले शनिबार राति सामाजिकसञ्जालमा पोष्ट गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार उक्त कार्यमा संलग्नको खोजी भइरहेको छ । आवश्यक छानबिन गरी कानुनअनुसार उनीहरुलाई कारबाही हुन्छ । ‘यस किसिमको कृत्य रोक्ने प्रयास गरिरहेका छौं,’ प्रजिअ पाध्याले भने–यस्ता कुप्रथा रोक्न हामी निरन्तर प्रयासमा छौं ।