31.9 C
Makwānpur
Homeसमाजकाठमाडौंको ‘लाइफलाइन’ हेटौंडा–काठमाडौं बाटो एउटै छैनन् सद्धे

काठमाडौंको ‘लाइफलाइन’ हेटौंडा–काठमाडौं बाटो एउटै छैनन् सद्धे

मनिता राना

हेटौंडा/कान्ति राजमार्ग । हेटौंडालाई काठमाडौंसँग छिटो र सहजरुपमा जोड्न २०१६ सालमा खुलेको हो । २०१३ सालमा तत्कालीन शाही सेनाले बनाउन सुरु गरेको सडक २०१६ सालमा बनेको थियो । २०५९ सालमा कोरियन सरकारको सहयोगमा विस्तृत सर्वेक्षण तथा डिजाइनको काम गरी विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको थियो ।

मकवानपुरतर्फ ५१ किलोमिटर र ललितपुरतर्फ ३९ किलोमिटर रहेको उक्त सडक काठमाडौं उपत्यका जोड्ने अर्को महत्त्वपूर्ण सडक हो । कान्तिपथबाहेक काठमाडौं–हेटौंडा जोड्ने अन्य तीन सडक छन् । बल्खु–दक्षिणकाली–सिस्नेरी–कुलेखानी–भीमफेदी–हेटौंडा, बल्खु–दक्षिणकाली–फाखेल–कुलेखानी–भीमफेदी–हेटौंडा र चन्द्रागिरि–मार्खु–कुलेखानी–भीमफेदी–हेटौंडा ।

गत बर्खामा यी सबै सडकमा क्षति पुगेको थियो । हाल चन्द्रागिरि–चित्लाङबाहेक अन्य सडक बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले हेरिरहेको छ । मन्त्रालयले यीलगायत प्रदेशमातहतका सडकमा पुगेको क्षतिको विवरण यकिन गरी मर्मतका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा पेस गरेको छ ।

प्रदेशको भौतिक मन्त्रालयले बल्खुबाट हेटौंडा जोड्ने दुवै सडकको मर्मतका लागि करिब ६ करोड माग गरेको छ । प्रदेशभित्रका अन्य सडकसहित कुल १५ करोड माग गरिएको मन्त्रालयका प्रवक्ता भुपेन्द्रकुमार यादबले जानकारी दिए । ‘केही दिनभित्र अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताको निर्णय गर्छ । त्यसपछि हामी मर्मत प्रक्रियामा जान्छौं,’ उनले भने ।

असोजको बाढीले बल्खु–दक्षिणकाली–सिस्नेरी–कुलेखानी–भीमफेदी–हेटौंडा सडकको सिस्नेरीखण्ड कटान गरेको थियो । त्यहाँ बाढीले बगाएको करिब चार सय किलोमिटर सडक बनाउनुपर्नेछ । यसबाहेक उक्त खण्डमा अनगिन्ती सानाठूला पहिरा छन् । त्यसलाई यही हिउँदमा रोकथाम नगरे बर्खामा समस्या बन्छ ।

चन्द्रागिरि–चित्लाङ सडक मर्मतका लागि सडक विभागले १५ करोड माग गरी प्रस्ताव अर्थ मन्त्रालय पठाएको छ । उक्त सडक भएर दैनिक सरदर साढे चार सय गाडी र चार हजार यात्रु काठमाडौं भित्रिन्छन् । करिब पाँच सय गाडी र पाँच हजार यात्रु बाहिरिन्छन् । असोजको अविरल वर्षाले उक्त सडकको ठाउँठाउँमा क्षति पुर्‍याएको छ । सडकको बागमती नदी खण्ड (मकवानपुरको भीमफेदी गाउँपालिका–८, महादेवटार र ललितपुरको बागमती गाउँपालिका बगुवा जोड्ने) मा बेलिब्रिजको ठेक्का निस्किएको छ । गत बर्खामा घपेली–बगुवा खण्डको करिब १३ किलोमिटर सडकमा क्षति पुगेको थियो ।

हाल उक्त सडक पुनर्निर्माणका लागि ५० करोड लाग्ने देखिएको छ । सोको माग गरेर अर्थ मन्त्रालयमा फाइल पठाउने तयारी गरिएको छ । केही दिनमै यसबारे निर्णय हुनेछ । कान्ति राजमार्गबाट हाल दैनिक सरदर डेढ सय गाडीमा साढे पाँच सय यात्रु काठमाडौं भित्रिन्छन् । करिब १ सय २० गाडीमा ४ सय २० जना यात्रु बाहिरिन्छन् । अर्कोतिर, असार २८ गते भरतपुर महानगरपालिका वडा नम्बर–२८, सिमलतालमा दुइ यात्रुबाहक बस त्यहाँको सिन्दुरे खोल्साले बगायो । तीन यात्रुले भागेर ज्यान जोगाए । ६२ जनाभन्दा बढी बेपत्ता भए । २४ जनाको मात्र शव फेला पर्‍यो । वीरगञ्जबाट काठमाडौं गइरहेको र काठमाडौंबाट गौर जाँदै गरेको बस हिउँदमा मुठ्ठीभर पानी देख्न मुस्किल हुने खोल्साको भेलबाढीले त्रिशुलीमा खसालेको थियो ।

नारायणगढ–मुग्लिन सडकखण्ड हाल निर्माण पूरा भइसकेको छ । ठाउँठाउँमा पहिरोको जोखिम छँदैछ । ठाउँठाउँबाट सहायक बाटो खन्न नछाडिएको र निस्किएको माटो व्यवस्थापन सहीढंगले नगरिँदा भेलबाढीको स्रोत बन्ने जोखिम पनि छँदैछ । मुग्लिन–नौबीसे–नागढुंगा खण्ड भने निर्माणाधीन छ । मुग्लिनबाट पोखरा जोड्ने पृथ्वी राजमार्ग पनि निर्माण चरणमा छ । त्यहाँ पूर्वी खण्ड करिब पूरा भइसकेको छ । पश्चिम खण्डले पनि विस्तारको गति लिएको छ । तर, यहाँको दुर्दान्त कहालीलाग्दो छ ।

असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षाले नागढुंगानजिक झ्याप्लेखोलामा सिमलतालकै नियति दोहोर्‍यायो । काठमाडौंतर्फ जाँदै गरेका हायस, माइक्रो हायस र बस पुरिए । तिनमा सवार ३५ यात्रुको शव भेटिएको थियो । हिउँद सकिँदै प्रिमनसुन सुरु हुनै आँट्दा पनि केन्द्रीय राजधानी काठमाडौं जोड्ने राजमार्गको अवस्था ज्युँकात्युँ छ । ठूलो सास्ती झेल्दै काठमाडौं उपत्यका ओहोरदोहोर गर्नुपर्ने बाध्यतामा छन् यात्रु र सवारीचालकहरु । विभिन्न नाकाबाट हाल दैनिक झन्डै १९ हजार सवारीसाधन काठमाडौं भित्रिन्छन् । ती सवारीमार्फत् दैनिक सरदर ६४ हजार जनाभन्दा बढी यात्रु काठमाडौं भित्रिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकाबाट दैनिक झन्डै १३ हजार सवारीसाधनमार्फत् साढे ६५ हजारभन्दा बढी यात्रु बाहिरिन्छन् ।

यतिका धेरै सवारी र यात्रु आवतजावत गर्ने काठमाडौंको ‘लाइफलाइन’ मानिएका राजमार्ग भने एउटै पनि सद्धे छैनन् । कतिपय राजमार्ग विस्तार क्रममा र कतिपय वर्षाले बिगारेर लथालिंग छन् । यसले गर्दा जामको समस्या छँदैछ, सुक्खा पहिरोको जोखिम पनि उत्तिकै छ ।

हिउँद घर्किनै लाग्दा सडक नबनेको र यात्रुले सास्ती पाएको विषय सदनमा पनि उठ्न थालेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाढीले क्षति पुर्‍याएका सडकलगायत संरचना पुनर्निर्माणमा भइरहेको कामबारे जानकारी गराउन माग गरे । ‘४१ वटा सडकखण्ड पुनर्निर्माण गर्न २५ अर्ब
‘चाहिन्छ । सरकारले बजेटमा २१ अर्ब छुट्टयाएको छ । पैसा कहाँबाट ल्याउने भनेर सरकारले सोच्नुपर्नेछ । बर्खाका बेलामा बाटोहरु कसरी बन्छन् ?,’ उनले प्रश्न गर्दै भने–यसबारे गरिएका कामकुरा, स्रोत जुटाउनेबारे कसरी सोचिएको छ, यी सबैबारे सदनलाई जानकारी गराइयोस् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here