काठमाडौं/गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताएका छन् ।
कीर्तिपुरमा आयोजित २७ औं भुकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले खोज, उद्धार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मी तयार भएको जानकारी दिँदै सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशील संस्थाको व्यवस्थित परिचालन गर्नु आवश्यक व्यवस्था गरिएको बताए ।
उनले विपद्को समयमा अत्यावश्यक सामग्री भण्डारणलाई प्रभावकारी बनाउन आपत्कालीन गोदामघर सञ्चालनसम्बन्धि कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताए । ‘आगामी दिनमा भुकम्पप्रतिरोधी संरचना निर्माणको अभियालाई थप प्रभावकारी बनाएर लगिनेछ,’ गृहमन्त्री लेखकले भने–सरकारी निकाय, निजीक्षेत्र र गैरसरकारी संस्थालगायत समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनर्निर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिनेछ । सचेतना बढाउन परम्परागत्सँगै नयाँ प्रविधिलाई अधिकतम् प्रयोग गरिने उनको भनाइ थियो ।
जाजरकोटलगायत भुकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन ५० हजार सहयोग गर्ने अस्थायी निर्माणसम्बन्धि मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत भइ लागु भइसककेको गृहमन्त्री लेखकले जानकारी दिए । ‘स्थायी आवास निर्माणसम्बन्धि कार्यविधि कार्यसमितिको बैठकबाट पारित भइसकेको छ,’ उनले भने–जाजरकोट भुकम्पबाट भएको क्षतिको आँकलन यसै महिनादेखि प्रारम्भ गरिनेछ ।