27.9 C
Makwānpur
Homeसमाजभुकम्पका कारण सात सय घरमा क्षति

भुकम्पका कारण सात सय घरमा क्षति

बाजुरा/बजुराको गोत्री केन्द्रविन्दु भएर गएको भुकम्पका कारण करिब सात सय भौतिक संरचनामा पूर्णरुपमा क्षति पुगेको छ । भुकम्पबाट सबभन्दा बढी जगन्नाथ गाउँपालिकामा क्षति भएको हो ।

जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीका अनुसार १ सय ८ घर पूर्णरुपमा क्षति भएका छन् । ४ सय ६० घर आंशिक क्षति भएका छन् । चार विद्यालयमा आंशिक क्षति भएको छ । ४ सामुदायिक स्वास्थ्य चौकी र तीन वडा कार्यालयमा आंशिक क्षति भएको छ । बाजुरा जिल्लाभर निजी र सरकारी गरी छ सय ८४ संरचनामा क्षति पुगेको हो ।

बुढीनन्दा नगरपालिकामा एक सय ३२, हिमाली गाउँपालिकामा एक सय २१, स्वामीकार्तिक गाउँपालिकामा एक सय ४२ भवनमा पूर्णक्षति भएको जनाइएको छ । भुकम्पका कारण छ सय २६ वटा निजी घर र दुई वटा सरकारी भवनमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको अध्यक्षतामा पालिका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेता बोलाएर सर्वदलीय सर्वपक्षीय बैठक बसेको थियो । बैठकमा भुकम्पप्रभावित परिवारको राहतस्वरुप जिल्ला प्रशासन कार्यालय बाजुराले ५० कम्बल र ५० त्रिपाल वितरण गरेको छ भने नेपाल रेडक्रस बाजुराले ९ वटा त्रिपाल वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताए ।

पुस ५ गतेको भुकम्पबाट वडा, स्थानीय पालिका र नेपाल प्रहरीले पूर्ण, आंशिक र सामान्य क्षति भएका घरको एकिन विवरण उपलब्ध गराउने र सोही आधारमा पूर्णक्षति भएका घर निर्माणका लागि पहिलो किस्ताबापत् २५ हजारका दरले उपलब्ध गराउने निर्णय भएको सहायक प्रजिअ मण्डलले जानकारी गराए । गत वर्ष माघ १० गते जाजरकोटमा गएको भुकम्पको प्रभाव बाजुरामा पनि परेको र सोबाट प्रभावित भुकम्पपीडितलाई हालसम्म राहत दिन नसकेको जनाएको छ ।

विपद् रकम (मञ्सुनजन्य–भुकम्प) राहत माग सम्बन्धमा पटकपटक मन्त्रालयमा माग भएकोमा हालसम्म पनि प्राप्त नभएकाले पुनः सोही रकम माग गर्ने निर्णय गरी पठाइएको निर्णयमा उल्लेख छ । जिल्लाले जिल्लाका प्राकृतिक प्रकोपजन्य समस्या समाधान गर्न तालुक मन्त्रालयमा निर्णयसहित ध्यानाकर्षण गराए पनि मन्त्रलयबाट सुनुवाइ नहँुदा प्रभावित नागरिक राज्यको सेवा र सुबिधाबाट बञ्चित हुनुपरेको अधिकारीहरुले बताएका छन् ।

पुस ६ गते विहान ४ बजेर १४ मिनेटमा जगन्नाथ गाउँपालिकाको वडा–५ लाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भुकम्प गएको भुकम्पमापन केन्द्रले जनाएको छ । भुकम्पबाट सोही पालिकाको वडा–२, ३, ४ र ६ लगायत आसपासका स्वामिकार्तिक, खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकामा भौतिक क्षति भएको थियो । पछिल्लो समयमा बाजुरालगायत पश्चिम पहाडी जिल्लामा बारम्बार भुकम्प जाँदा स्थानीय त्रसित भएका छन् भने कयौं पीडित र प्रभावितले हालसम्म राहत नपाउँदा त्रिपालमुनिको रातमा कठ्यांग्रिन विवश छन् । चिसोका कारण दमका बिरामीलगायत दीर्घरागी बढी प्रभावित छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here