काठमाडौं/जनकपुर बोल्ट्स् नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । बिहीबार काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो । जनकपुरले ६ खेल खेल्दा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।
कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा काठमाडौंले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । जनकपुरको जितमा जिमी निशमले १७ बलमा १ चौका र ३ छक्का मद्धतमा सर्वाधिक २७ रन बनाए । हर्श थाकरले अविजित २५ रन योगदान गरे । उनले २५ बल खेल्दा १ चौका र १ छक्का प्रहार गरे ।
लाहिरु मिलान्थाले १६ र कप्तान अनिल साहले ११ रन बनाए । मोहम्मद मोहसिनले अविजित १३ रन जोडे । बलिङमा काठमाडौंका करण केसीले २ तथा शाहब आलम, जेर्राड एरासमस र दीपेश कँडेलले समान १ विकेट लिए । त्यसअघि जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं जनकपुरको धारिलो बलिङसामु टिक्न नसक्दा १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको थियो ।
काठमाडौंका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसीले १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा जनकपुरका लागि ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रनमात्र खर्चेर ३ विकेट लिए । शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । किशोर महतो र अरनिको यादबले समान १ विकेट लिए । उक्त खेलमा जनकपुरका कप्तान अनिल शाहले कीर्तिमानी ५ क्याच लिए । उनले नपालको फ्रेञ्चाइज लिगमा एकै खेलमा ५ क्याच गर्ने कीर्तिमान बनाए ।
नेपाल प्रिमियर लिगअन्तर्गत् सुपरओभरमा पुगेको खेलमा बिराटनगरविरुद्ध पोखरा एभेञ्जर्स विजयी भएको छ । जारी एनपीएलमा सुपर ओभरमा पुगेको यो पहिलो खेल हो । पहिलो पटक बराबरी खेलेका यी दुई टीमबीचको हारजितको छिनोफानो हुँदा पोखराका रायमोन रिफायरले सुपरओभरबाट जित दिलाएका हुन् । सुपरओभरका लागि पोखरा पहिला ब्याटिङमा उत्रिएको थियो । ५ बल खेलेका रेमन रिफर एक चौका र दुई छक्का प्रहार गरे । पोखराका अर्का ब्याटरले एन्ड्रिज गौसले १ बलमा १ रन जोडे । सुपरओभरमा बिराटनगरका कप्तान सन्दीप लामिछानेले विकेट लिन सकेनन् । उनले सुपरओभर बलिङमा आएका विराटनगर किङ्सका सन्दीप लामिछानेलाई चुटे । उनले सन्दीपलाई पहिलो र दोस्रो बलमा छक्का हाने ।
त्यसपछि तेस्रो बलमा रन नलिएका उनले चौथोमा चौका तथा पाँचौं र छैटौंमा १/१ रनसहित जम्मा १८ रन बनाउन सफल भए । सुपरओभरमा १८ रनको लक्ष्य बिराटनगर किङ्सले पूरा गर्न सकेन । बिराटनगरका लागि मार्टिन गप्टिल र निकोलाश किर्टनले सुपरओभरको तीन बलमा तीन रनमात्र हाने । चौथो बल डट रहँदा पाँचौं बलमा १ रन आयो । छैटौं बल वाइड हुँदा बिराटनगरले थप एक रन जोड्यो । अन्तिम बलमा १ रनमात्र ल्याएपछि पोखराले सुपरओभरमा बिराटनगरलाई हराउन सफल भयो । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बिराटनगरले १ सउ ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । बिराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १ सय ३९ रन जोडेको थियो । यो एनपीएलको पहिलो टाइम्याच सुपरओभरमा जाँदा पोखराले बाजी मारेको हो ।