काठमाडौं/सिस्नेरी फुटबल एकेडेमीका किशोर खेलाडीहरुको निधन भएको ४५ औं दिनको पुण्यतिथिमा सोमबार ललितपुरको कुपण्डोलमा श्रद्धाञ्जलीसभा आयोजना गरियो । सभा ‘हाम्रो अभियानःनेपाली फुटबलमा आमुल परिवर्तन’ नामक संस्थाको उपत्यका समन्वय समितिले आयोजना गरेको हो ।
निधन भएका किशोर खेलाडीहरुका आफन्त, आयोजक संस्थाका पदाधिकारी, अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान र पूर्वपदाधिकारी, बिभिन्न क्लबका पदाधिकारी, पूर्व र वर्तमान फुटबल खेलाडी, विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता सभामा थियो ।
सहभागीहरुले असोजमा पहिरोमा जीवन गुमाउने किशोर खेलाडीहरुको तस्बिरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । असोज १२ गते मकवानपुर जिल्ला इन्द्रसरोवर गाउ“पालिका वडा नम्बर-३ स्थित एन्फा वात्सलादेवी एकेडेमीमा पहिरोमा ६ जना किशोर खेलाडीको निधन भएको थियो । उक्त घटनामा ६ बाल फुटबल खेलाडी आदित्य बलम्पाकी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमन योञ्जनको निधन भएको थियो । सभामा पहिरोमा जीवन गुमाउने किशोर खेलाडीका आफन्तहरुले आफ्ना धारणा पनि राखेका थिए ।
अधिकांश आफन्तले एन्फाको वर्तमान नेतृत्वको कमजोरीका कारण उक्त घटना भएको आरोप लगाएका थिए । आफन्तहरुले घटनापछि पनि एन्फा नेतृत्वले मृतकका परिवारलाई पीडा थोपर्ने काम गर्दै आएको दुःखेसो पनि पोखे । मृतक खेलाडीका आफन्तहरुले घटनाको निष्पक्ष छानबिन गरिनुपर्ने माग पनि राखेका थिए ।
कार्यक्रममा एन्फा पूर्वअध्यक्ष गणेश थापा, एन्फाको वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहलगायतले मृतक किशोर खेलाडीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले पनि घटनाको निष्पक्ष छानबिन हुनुपर्ने धारणा व्यक्त गरेका थिए । उक्त घटनामा जीवन गुमाउने सर्लाहीका किशोर खेलाडी आदित्य बलम्पाकीका आफन्त भरत थापाले घटनापछि पनि एन्फाको वर्तमान नेतृत्वले शोकाकुल परिवारजनलाई थप आहत बनाउने काम गरेको बताए । उनले मृतक खेलाडीहरुको शव बुझ्न पनि आफूहरुले सास्ती खेप्नुपरेको गुनासो गरे ।
‘एन्फाको कमजोरीका कारण घटना भएको हो । हामीले आफ्ना प्रियलाई त गुमायौं । त्यसपछि शव बुझ्नसमेत हामीलाई एन्फा नेतृत्वले निकै सास्ती दियो । हामीले शव बुझ्नका लागि चक्काजामसमेत गर्नुपर्यो,’ उनले भने ।
उनले वर्तमान एन्फाले व्यवस्थित तरिकाले एकेडेमी सञ्चालन नगरेका कारण यस्तो दुःखद् घटना भएको आरोप पनि लगाए । ‘‘एन्फाले एकेडेमी किन चलाएको ? देशका लागि क्षमतावान् खेलाडी उत्पादन गर्न कि हाम्रा छोराछोरी मार्नका लागि ?,’ थापाले प्रश्न गरे-के बाल खेलाडीका लागि फुटबल एकेडेमी सञ्चालन गर्न सिस्नेरी उपयुक्त स्थल थियो ? एन्फा नेतृत्वले यस विषयमा गहन स्थलगत् अध्ययन गरेको थियो ? सुबिधासम्पन्न स्थानमा किन एकेडेमी सञ्चालन गरिएन ?