बुटवल/जजिरा एयरवेजले भैरहवाबाट पुनः उडान सुरु गरेको छ । कुवेतबाट आएको जजिराको जहाज विहान ७ः४५ मा अवतरण गरेको हो । शनिबार भैरहवाबाट एकैदिन ३ वटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गरेका छन् । विहान जजिरा, दिउँसो फलाइ दुबई र बेलुका नेपाल एयरलाइन्सले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गरेका छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसँगै जजिराले विगतमा केही महिना उडान गरेको थियो । डेढ वर्षयता रोकिएको उडान जजिराले फेरि सुरु गर्न लागेको हो । फ्लाई दुबईको जहाज दिउँसो १२ बजे भैरहवा आएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए । यहाँबाट थप यात्रु लिएर काठमाडौं गइ त्यहाँबाट दुबई जाने तालिका थियो । अब फ्लाई दुबईको जहाज दिनहुँ आउने छ ।
शनिबार नै नेपाल एयरलाइन्सको जहाजले काठमाडौं-भैरहवा-दुबई उडान गरेको छ । शुक्रबारदेखि उडान गर्ने तय भए पनि प्राविधिक कारण देखाएर शनिबार सारिएको हो । यसअघि भैरहवाबाट फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेको छ । फ्लाई दुबईको आइतबार र शुक्रबार गरी दुई उडान भइसकेको छ । शुक्रबारको उडानमा ७ जना थाइल्यान्डबाट भैरहवा आएका थिए । यहाँबाट ३२ यात्रु लिएर जहाज गएको थियो ।