Homeसमाजजंगली हात्तीबाट स्थानीय त्रसित

जंगली हात्तीबाट स्थानीय त्रसित

हेटौंडा/रौतहट जिल्लाका विभिन्न गाउँमा जंगली हात्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । जंगली हात्ती गाउँ छिरेपछि जिल्लाको गुजरा, वृन्दावन र चन्द्रपुर नगरपालिकाका स्थानीय त्रसित बनेका हुन् ।

हात्तीले भित्र्याउने बेलाको धान नष्ट गर्न थालेपछि किसान चिन्तित छन् । गत आइतबार रौतहटको गुजरा नगरपालिका-२ को चोचा, मैरालगायत गाउँमा हात्तीले धानबाली नष्ट गरेको थियो । करिब पाँच बिघाभन्दा बढी खेतमा लगाइएको धानबाली हात्तीले नष्ट गरेको गुजरा-२ का वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिए । हात्तीले लक्ष्मी चौधरी, रामविश्वास चौधरी, जगदीश माझी, खहेरु साहलगायत स्थानीयको धान नष्ट गरेको उनले बताए ।

केही दिनअघिमात्र चन्द्रपुर नगरपालिका-२, वनटोलमा जंगली हात्ती पसेर धान तथा उखुबाली नष्ट गरेको थियो । विहानै धानबारिमा हात्ती देखेपछि स्थानीय त्रसित भएका थिए । हात्तीले वनटोलको धान तथा उखुबाली पूणर्रुपमा नष्ट गरेको स्थानीय बाबुराम घिसिङले जानकारी दिए ।

चन्द्रपुर-३, गैंडाटारमा हात्तीले केराखेतीमा क्षति गरेको छ । गाछी टोलमा दर्जनौं हात्ती केरा बारिमा प्रवेश गरी क्षति पुर्‍याएको स्थानीय गोपाल फुँयालले जानकारी दिए । गाउँको एक बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेती हात्तीले नष्ट गरेको उनले बताए । वृन्दावन नगरपालिका-१, बलेरी क्षेत्रमा पनि जंगली हात्तीको आतंकले स्थानीय त्रसित बनेका छन् । साँझ पर्नेबित्तिकै सधैं गाउँ आउने जंगली हात्तीको समूहले किसानको धानबालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय चिन्तित बनेका हुन् ।

स्थानीय सुरेन्द्र पटेलका अनुसार भगवान् ठाकुर, ठाकुर राउतसहित दर्जनौं किसानका खेतमा लगाइएको धान हात्तीले नष्ट गरेको छ । उक्त गाउँका बासिन्दा हात्तीका कारण रातभरि जाग्रम बस्न बाध्य छन् । गत साता फतुवा विजयपुर-११, बुटुवा राँगीमा हात्तीको आक्रमणबाट पातलीमाया तामाङको ज्यान गएको थियो । गत शुक्रबार विहानै राँगीमा बस्ने ७० वर्षीया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा तामाङको ज्यान गएको थियो । जंगली हात्तीले एक्कासि घरमाथि आक्रमण गर्दा मृतकका पति भागेर ज्यान बचाउन सफल भएका थिए ।

धान पाक्ने बेला भएपछि पर्सा राष्ट्रिय निकुञ्जबाट बर्सेनि हात्ती रौतहटको गैंडाटार, जुडिबेला, पौराइ, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जंगलसहिया गाउँ, वृन्दावनको बलरी, फतुवा विजयपुर नपाको राँगी बुटुवालगायत गाउँ पस्ने गर्दछन् । हात्तीले खासगरि उखु, धान, केराखेतीमा क्षति पुर्‍याउँदै आएका छन् । गत वर्षमात्र हात्तीको आक्रमणबाट चन्द्रपुरमा घाँसदाउरा गर्न गएका दुई महिलाले ज्यान गुमाएका थिए । हात्ती आतंकले नागरिक घाँसदाउरा गर्न जंगल जानसमेत छाडेका छन् ।

हात्तीले क्षति पुर्‍याएकाको परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने निणर्य गरेको छ । डिभिजन वन कार्यालयमा हात्तीले क्षति पुर्‍याएका पीडित परिवारले राहतका लागि निवेदन दिएका छन् । हालसम्म करिब २० जनाले राहतका लागि निवेदन दिएको डिभिजन वन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए । हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्किाएका, बाली क्षति भएकाको यकिन विवरण संकलन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको उनले उल्लेख गरे ।

कानुनअनुसार पीडित परिवारलाई क्षतिपूर्ति दिइने भन्दै क्षतिको विवरण संकलन भइरहेको साहले जानकारी दिए । हात्तीको आक्रमणबाट बच्न जंगलको छेउछाउमा बस्ने स्थानीयलाई डिभिजन वन कार्यालयले सचेत गराउँदै आएको बताउँदै उनले सर्वसाधारण आफैं पनि सचेत र चनाखो भएर बस्नुपर्नेमा जोड दिए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here