हेटौंडा/संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत् आयोजनाको ड्यामको पानी खोलिएकाले पुगेको जनधनको क्षतिबारे मन्त्रालयलाई निर्देशन दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले विद्युत् नियमन आयोग, स्वतन्त्र विज्ञ र निजी क्षेत्रका उत्पादकहरुलाई समेत समेटेर एक छानविन समिति गठन गरी कुलेखानी जलविद्युत् आयोजनाको ड्यामको पानी खोलिएका कारण पुगेको क्षति र आगामी दिनमा अपनाउनुपर्ने सजगताका सम्बन्धमा एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । मकवानपुरको सिस्नेरीमा हाल बजार, छैन, बगर, मात्र छ । मकवानपुरको इन्द्रसरोवर-३ मा यसअघि रहँदै आएको सुन्दर बजार हाल युद्ध सकिएपछिको भग्न ठाउँ जस्तो देखिन्छ । अब सिस्नेरीमा सडकमाथिका ५-६ वटा घरबाहेक बजारको कुनै नामोनिशान छैन ।
साविकमा ठीक आयतनमा बग्ने कुलेखानी खोला १२ असोजमा रौद्ररुपमा देखापर्यो । त्यहाँ आएको बाढीले बजार क्षेत्रको सडकको आधाभन्दा बढी भाग कब्जा गर्यो । हाल पानीको सतह घटे पनि बस्तीको भाग बगर बनेको छ । सिस्नेरी क्षेत्रका पूर्ववडाध्यक्ष कृष्णबहादुर ठकुरी अझै पनि यो विध्वंश पत्याउन सकिरहेका छैनन् । हुन पनि सधैंजसो शान्त बग्ने कुलेखानी खोला त्यस दिन यसरी उर्लियो कि सिस्नेरी बजारलाई निल्न कत्ति बेर लागेन । मैले थाहा पाएपछि ५ पटक ठूला बाढी आए, यसपटक त अतिचार भयो, ठकुरी भन्छन्-कुलेखानी जलाशयको बाँध लगाएपछि हामीलाई आनन्द नै थियो । बाढी आउँदा पनि खोला झुसी भएर पानी सहज जान्थ्यो, यसपटक त नसोचेको महामारी नै आइपर्यो त ।
ठकुरीजस्तै स्थानीयका लागि सिस्नेरी यस क्षेत्रको साझा बजारमात्र थिएन, धेरै स्थानीयको जनजीविकाको माध्यम थियो । आवश्यक सरसामान निकटमै किन्न पाइने सुबिधास्थल थियो । कृषिकर्म गर्नेहरुको बिक्रीस्थल पनि यही बजार थियो ।
चिया पिउँदै गफिने ठाउँ थियो । कामबाट थाकेर आएका स्थानीयहरु जमघट हुने र छलफल गर्ने थलो थियो । दुई दशकअघि मकवानपुरबाट काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा-कुलेखानी-सिस्नेरी-बल्खु सडकमा सार्वजनिक जिप चल्न थालेदेखि नै सिस्नेरी बजारमा चहलपहल बाक्लिँदै थियो । उक्त सडक भएर यात्रा गर्नेहरु एकछिन भए पनि सिस्नेरी बजार झर्न खोज्थे । त्यहाँको मनोरम वातावरणसँग घुलमिल हुन चाहने धेरै हुन्थे । यस क्षेत्रमा कुलेखानीको माछाको स्वाद चाख्नेदेखि स्थानीय परिकारहरु खान पर्यटक लालायित हुन्थे । अझ सिस्नेरीको कोगटे खोलामा रहेको प्राकृतिक पौडीपोखरी (नेचुरल स्विमिङ पुल) ले दिनमा करिब २ सय ५० भन्दा बढी पर्यटक नियमित भित्र्याइरहेको थियो । काठमाडौं, हेटौंडा र वीरगञ्जदेखिका पर्यटक उक्त पोखरीमा पौडी खेल्न आउँथे । त्यसैले बजारमा खाना खाजाका होटलहरुको बाहुल्य थियो ।
बास बस्ने होटल पनि थिए । सिस्नेरी किराना, कपडा, भाँडा, औषधि जस्ता उपभोग्य वस्तुहरु किनबेच हुने केन्द्रका रुपमा विकास हुदै थियो । मन्त्रीलाई ज्ञापनपत्र अविरल वर्षाका कारण गणेशमान सिंह मार्गमा ठूलो क्षति गरेकाले यात्रुहरु अलपत्र परेका र दशैंतिहारको बेला घर जानसक्ने स्थिति नभएकाले उक्त मार्ग पुनर्निर्माण तथा आवतजावत व्यवस्थापन का लागि नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा नेपाली कांग्रेस मकवानपुर-काठमाडौं सम्पर्क समितिलगायतले उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।