बसन्त भण्डारी\हेटौंडा/विजयादशमीलगायत चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल-१४ ले दुर्घटना न्यूनीकरण र नागरिकको सुरक्षामा विशेष ध्यान दिने गरी विभिन्न कदम चालेको छ । अभियानको मुख्य उद्धेश्य सवारीसाधन चेक, यात्रुहरुको भाडादर निगरानी, मादकपदार्थ सेवन जाँच, भीड नियन्त्रण र विपद् व्यवस्थापनमा केन्द्रित छ । सशस्त्र प्रहरीले सवारी गस्ती, पैदल गस्ती, साना तथा ठूला सवारीसाधनमा यात्रुको अवस्था र भाडादर यकिन गर्दै छानबिन गर्ने योजना ल्याएको छ । यात्रुबाट महंगो भाडा लिएको पाइए तुरुन्तै आवश्यक कारबाही गरिने बताइएको छ । रातको समयमा भीडभाड नियन्त्रण गर्न, शान्तिसुरक्षामा कुनै पनि कमीकमजोरी हुन नदिनका लागि अतिरिक्त सुरक्षा व्यवस्था गरिएको सशस्त्र प्रहरी बल-१४ का गणपति ज्ञानप्रसाद भुर्तेलले बताए ।
विशेषगरि लामो दुरीका सवारीसाधनलाई रोकी यात्रुको अवस्था बुझ्ने र सवारीमा कुनै समस्या भएमा तुरुन्त समाधान गर्ने व्यवस्था गरिएको उनले बताए । चाडपर्वका समयमा मादकपदार्थ सेवन गरी सवारी चलाउनेहरुलाई विशेष निगरानीमा राखिएको छ, जसमा मापसे चेकिङ अभियान थप सशक्त बनाइने उनले बताए । यदि कतै पहिरो गएको अवस्थामा तत्काल पहिरो हटाइ बैकल्पिक मार्ग बनाइने र यात्रा सहज बनाइने व्यवस्थासमेत गरिएको छ । विपद् व्यवस्थापनमा कुनै कमी हुन नदिनका लागि क्विक रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको छ, जसले विपद् आए तुरुन्त समाधानको व्यवस्था मिलाउने उनले बताए । कालोबजारी नियन्त्रणका लागि कुनै जानकारी प्राप्त भए तुरुन्त कारबाही गर्नसमेत तयारी गरिसकिएको छ ।
चाडपर्वमा नागरिकलाई सुरक्षित र सहज यात्रा अनुभव गराउन सशस्त्र प्रहरीको मुख्य लक्ष्य भनेको बाटोघाटोलाई सहज बनाउनु रहेको उनले बताए । अभियानअन्तर्गत् स्थानीयको अनुरोधमा पिङ लगाउने परम्परालाई सुरक्षित राख्न पनि सशस्त्र प्रहरीले विशेष पहल गरेको छ । रातोमाटेमा एयर एम्बुलेन्स सुबिधा र विभिन्न क्षेत्रमा नागरिक सहायताकक्ष स्थापना गरी आपत्कालीन सेवा उपलब्ध गराइने भएको छ । सशस्त्र प्रहरी बल आगामी दिनमा पनि चाडपर्वलक्षित सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्ध रहेको उनले बताए ।