काठमाडौं/नेपाल र भारतबीच मकवानपुर हुँदै पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण परियोजनाका लागि सम्झौता भएको छ । पाइपलाइन र भण्डारण गृह निर्माण गर्नका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच बिहीबार भारतको दिल्लीमा सम्झौता भएको निगमले जानकारी दिएको छ । जसअुनसार सिलगुढीदेखि झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन, बारा अमलेखगञ्जको पाइपलाइनलाई चितवनसम्म विस्तार र झापामा इन्धन भण्डारण गृह इन्डियन आयल कर्पोरेसनले करिब १५ अर्ब अनुदानमा बनाइदिने भएको हो ।
सम्झौतापत्रमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्ट र आईओसी पाइपलाइन परियोजनाका मेनेजिङ डिरेक्टर सेन्थल कुमारले हस्ताक्षर गरेका छन् । तीन वटा परियोजना आईओसीले अनुदानमा बनाइदिने र चितवनको भण्डारण स्थल निगमको लगानीमा निर्माण गर्ने गरी सम्झौता भएको निगमले जनाएको छ । निगम र इन्डियन आयल कर्पोरेसनबीच भएको तीन बुँदे सहमतिमा भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुनेछ अमलेखगञ्जबाट मकवानपुर हुँदै चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुनेछ ।
चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुनेछ । पाइपलाइन अमलेखगञ्जबाट चितवनसम्म ल्याएपछि दीर्घकालीनरुपमा मुलुकमा पेट्रोलियम पदार्थको बिक्रीवितरण र व्यवस्थापन गर्न सजिलो हुन अपेक्षा गरिएको छ ।