Homeसमाजहेटौंडा

हेटौंडा

अरुणराज सुमार्गी (पराजुली)\नेपालको सडकसञ्जाल तथा बस्ती, गाउँ र जिल्लाका साथै शहरबीच भागमा पर्ने एउटा सुन्दर उपमहानगरपालिका हेटौंडा । हेटौंडाबाट देशको संघीय राजधानी जोड्ने अनेक सडकसञ्जाल छन् । पुरानो सडक राष्ट्रिय राजमार्ग त्रिभुवन राजपथले हेटौंडालाई २०१६ सालबाट जोड्ने काम गरेको थियो । हाल यस उपमहानगरपालिकाबाट काठमाडौं जोड्ने सडकहरु कान्तिलोकपथ, गणेशमानसिं मार्ग, सिस्नेरी-काठमाडौं, फाखेल-काठमाडौं, मातातीर्थ सडक, चित्लाङ चन्द्रागिरि जस्ता सडक भएको शहर हो । भनिन्छ, सडक सञ्जालमा जोडिएपछि शहरको द्रुतगतिमा विकास हुन्छ भनेर । त्यसो भनिरहँदा हामी यस नगरको विकासको गतिबारे के महसुस

गरिरहेका छौं । यस शहरको थप विशेषता संघीय र प्रान्तीय प्रणाली लागु भएपछि थपिएको छ । तर, पनि यसले नेपालको संघीय राजधानीको पनि राजधानीको पगरी भिरेर अन्य प्रदेशको भन्दा गति लिन सकेको छैन । वागमती प्रदेशको राजधानी बोकेको हेटांैडा उपमहानगरपालिकाको विशेष के योजनाहरु बनाइ अघि बढिरहेको छ । हेटौडाको विकास र सँगै जोडिएको जिल्लाको महानगरपालिकाहरुमा विकासको गति र पहुच कति फरक छ, यो बडो ठूलो प्रश्न बनेको छ । यस उपमहानगरपालिकाका बासिन्दा र बाहिरबाट हेर्ने विकास तथा निकासलाई मापन गर्ने समुदाय तथा विशेष व्यक्तिहरुको नजरमा सुपारेटारको सीमा सकिएपछि काठमाडौबाट हेटौडा प्रवेश गर्दा सामरी नदीको सीमबाट शुरु हुने
नगरको प्राकृतिक बनौट त आफैंमा अति सुन्दर छ ।

पारिपट्टि रहेको लालझाडी, त्यसको काखमुनिबाट बहिरहेको राप्ती खोला र त्यस नदीको सुन्दर, सफा र कलकल पानी बोक्दै १ नम्बर वडा हुदै राप्ति पुलमा आएर १० नम्बर वडा हँुदै ११ नम्बर वडाको छेऊबाट पारिपट्टि घेरेको १२ नम्बरवडा, ३ नम्बर वडा र १३ नम्बर वडाको वरपर बगेको खोला र त्यस खोलाको किनारा गर्नसक्ने विकास, त्यसबाट शहरलाई न्याय गर्दै पर्यटक तथा आगन्तुक लोभ्याउन सक्नेतर्फ न कतै चर्चा देखिन्छ, न त नगरले मास्टरप्लान नै बनाएको पाइन्छ । जेसुकै भने पनि पञ्चायती कालमा प्लानिङ गरेको नगर विकास आज हाम्रो शान भएको छ । २०७८ को जनगणनाअनुसार यस उप महानगरपालिकाको कुल जनसंख्या १ लाख ९३ हजार ५ सय ७६ छ । नगरभित्र ४६ हजार ५ सय ६६ घरधुरी छन् । नगरले ऐतिहासिक महत्व बोकेको कुरा महाभारतमा पाँच पाण्डव बनवासको बेला यहाँ आएको भन्ने किम्वदन्ती छ ।

त्यसबेला हेडम्बा राक्षससँग युद्ध भएको र त्यही नाम नै पछि अपभ्रंश भएर हेटौंडा बनेको भन्ने पाइन्छ । यस सन्दर्भमा देवास राईहरुद्वारा पूजा गरिने भुटनदेवी मन्दिर यस नगरको पहिचान हो । हामीले नगरलाई बोकेको देवीका लागि केही गरेका छौं ? यस नगरको चारैतिर संयोगबस हो वा यस क्षेत्रको नै आवश्यकता हो थाहा छैन । तराईबाट यस नगर प्रवेश गर्ने द्वारका रुपमा रहेको चुरियामाई मन्दिर दर्शन गर्दै हेटौंडाको नगर प्रवेश गर्न पाइन्छ भने हेटौंडा बजारको उत्तरपूर्वपट्टि रहेको मनकामना, पश्चिमतिरको डाँडामा अवस्थित पाथीभरा माई र तल बेसीमा रहेको ऐतिहासिक भुटनदेवीको थलोका रुपमा परिचित शहर यसको बजारी करण र विकाससँग जोड्न नसकेका कारण आगन्तुक, पर्यटक र लगानी- कर्ताबाट पर रहनुपरेको अवस्था छ ।

यस शहरको विकासमा हाम्रो सोच र हाम्रो दृष्टि कतिसम्म पुगेको छ । यस हेटौंडालाई सरोकारवालाले कति न्याय गरेका छन्, त्यो त टड्कारोरुपमा देखिएको छ । यस नगरको सीमा पूर्वमा बकैया गाउँ पालिका, पश्चिममा मनहरी गाउँपालिका, उत्तरमा मकवानपुर गढी र भीमफेदी र कैलाश गाउँपालिका जोडिएको छ भने दक्षिणमा पर्सा जिल्ला र बारा जिल्लाको सीमा जोडिएको छ । एउटा त भारत नजिक रहेको यस नगरले तराईको गर्मीका कारण आउने पर्यटक र यसद्वारा सिर्जना गर्नसक्ने रोजगारी र त्यसका माध्यमबाट यस क्षेत्रको लगानी भित्रनसक्ने योजना त कता हो कता, यहाँ अमेरिका (युएसए) को सहयोगमा बनेको देशकै सबभन्दा ठूलो औद्योगिक क्षेत्रको जगेर्ना गर्नसमेत चासो र मेसो पनि देखिएको
छैन । यो एउटा मध्य वाणिज्य केन्द्रका साथै यातायातको मुल स्थान नै हो । यसका लागि लामो समयदेखि हामी अटोल्याण्ड भन्दै गरेको सुनेका छौं । न त यो शहरमा कुनै सभागृह छ न त प्रदर्शनीस्थल नै ।

यसो नहुँदा यहाँ लगानी आउने त कुरै भएन । एकपटक हामीले यसको गुरुयोजनाबारे छलफल गर्नु जरुरी छ । यतिबेला त हेटौंडाले चक्रपथलाई जोड्नुपर्ने हो । यस क्षेत्रमा हामीले हाम्रो स्थानीयलाई अन्य नगर र जिल्लाहरुमा दिइने सेवाजस्तै स्वास्थ्य, शिक्षालगायत विषयमा पनि प्रवेश गरेको देखिँदैन । वागमती प्रदेशको राजधानी हुन नपुग विषयहरु हामीले कहिलेसम्म पूरा गर्ने भन्नेबारे पनि हामी लागिपरेको देख्दैनौं । त्यसो त हामीले भन्ने गरेको यस क्षेत्रको धार्मिक क्षेत्रहरुको विकास पनि निजी तवरबाटमात्र अघि बढेको पाइन्छ । जसलाई हामीले हाम्रो वेवसाइट त राख्दछौं । तर, वार्षिक बजेटमा भने स्थान पाउँदैन । यसरी उपमहानगरपालिकाबाट महानगरको कल्पना कसरी गर्ने भन्नेबारे गहन चिन्तन गर्नु जरुरी छ । आजसम्म हाम्रो नगर सञ्चालनका लागि देखापरेका व्यक्तिहरु आफ्नो दलगत् सोचभन्दा माथि उठ्न नसक्नु पनि मुख्य कारण हो भन्दा फरक नपर्ला ।

अन्तर्राष्ट्रिय लगानी ल्याउने, रोजगारी विकास गर्ने भन्दा यहीं भएको स्रोेत र साधनलाई खासगरि बगरको गिट्टी र बालुवाभन्दा माथि उठ्नु जरुरी देखिन्छ । कार्यकर्ता पोस्ने स्थलका रुपमा मात्र सीमित हँुदा हाम्रो हेटांैडा नगरपालिका अधोगतितिर लम्किरहेको कुराहरु यहाँका जनतामाझ दैनिकजस्तो छलफल भएकै पाइन्छ । यस नगरको विकास र यसले अघि सार्न पर्ने विषयमा निरन्तर खोज र सामग्रीसहित यहाँहरु माझ आइरहन्छु । यहाँहरुको अमूल्य सुझावले थप क्षेत्र पहिचान गरी यस उपमहानगरपालिकालाई देशको एक सुन्दर, सफा र रमणीय शहरका रुपमा पस्कन सक्नेबारे सबैको हातेमालोको खाँचो छ भन्ने मेरो ठम्याई छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here