बागलुङ/जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शुक्रबार नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराइएकोमा बयान र थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो ।
इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका अध्यक्षसमेत रहेका नेपालीविरुद्ध बचत हिनामिना गरेको आरोपमा जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका नेपालीविरुद्ध रेडकर्नर नोटिस पनि जारी भएको थियो । सोही मुद्धामा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपालीका दाजु ओमप्रसाद दर्जीलाई भने अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ । मेयर नेपालीमाथि २ अर्ब बढी बचत रकम ठगीको आरोप छ । नेपालीले आफूसँग रहेको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।