काठमाडौं/राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैंकको सञ्चालक समिति अध्यक्ष दीलिपकुमार ढुंगानाले चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले बैंकलाई धन्यबाद दिँदै बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत् सामाजिक उत्तरदायित्वअन्तर्गत् उक्त सहयोग गरिएको अवगत गराए । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब जम्मा गर्ने निणर्य गरेको थियो ।
प्रधानमन्त्री ओलीले अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र गरिसकिने जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रवन्ध गरिएको बताए । क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत् आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले बताए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको पत्रकार सम्मेलन प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले विपद्का कारण २ सय २४ को मृत्यु, २४ बेपत्ता र १ सय ५८ घाइते तथा उच्च जोखिममा रहेका ४ हजार ३ सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको जानकारी दिए ।
विपद्का घटनाबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् । मुख्य सचिव अर्यालले खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडकमा २ अर्ब ५२ करोड, ऊर्जामा ४ अर्ब, सिचाईमा एक अर्ब नोक्सानी भएको प्रारम्भिक आँकलन रहेको बताए । कृषि तथा पशुपक्षीमा ६ अर्ब नोक्सानी भएको उनले जानकारी दिए ।