Homeसमाजउपचार रकम नभएर गुमिन् चेपाङ बालिका

उपचार रकम नभएर गुमिन् चेपाङ बालिका

हेटौंडा/चितवनको राप्ती नगरपालिका वडा-१२, पर्खालका आमोस चेपाङले यतिबेला जसोतसो आफूलाई सम्हालेका छन् । काठमाडौंको ठाउँमा न त सम्हाल्दिने आफन्त कोही छन्, न त साथीभाइ नै पर्याप्त छन् । दुई आँखा आँसुको डुबुल्कीमा छन् । घुँक्क घुँक्क, कयौं दिनको अनिँदो रात, त्यसमाथि मुनाजस्ती छोरी गुमाउँदाको पीडा । मंगलबार विहान ४ बजेतिर आमोसले छोरीको मृत्युको खबर जब सुने, त्यसपछि लगातार भक्कानिए । पीडाको ठूलो भारी बोकेर आमोसले आफूलाई सम्हाल्दै छोरीको मृत शरीर शिक्षण अस्पताल महाराजगञ्जबाट निकाले र चितवन आए ।

उपचार गर्ने खर्च नभएकै कारण आमोसले आफ्नी ८ वर्षकी छोरी सजिना चेपाङलाई गुमाए । स्थानीय समाजसेवी राप्ती नगरपालिका निवर्तमान उपमेयर इमानसिंह लामा आमोसकी छोरी सजिनाको उपचारमा सुरुदेखि खटिए । उनी निजी गाडीमै राखेर भरतपुरदेखि काठमाडौंसम्म सजिनाको उपचारमा दौडिए । तर, सजिनाको सासलाई बचाउन सकेनन् । अन्ततः लास लिएर मंगलबार काठमाडौंबाट चितवन आए ।

राप्ती-१२, पर्खालका स्थानीय जोयल चेपाङले आमोसकी छोरी सजिना बिरामी परेको खबर गरेपछि लामा उपचारका लागि खटिएका हुन् । उनी भन्छन्-सजिनालाई भदौ २७ गते भरतपुर अस्पताल भर्ना गरियो । सम्पूणर् जाँच गर्दा उनको जन्डिस बिग्रिसकेको पाइयो । तीन दिनसम्म सजिनाको भरतपुर अस्पतालमा उपचार गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले बालिकाको जन्डिस बिग्रिएर कलेजोमा समस्या आइसकेको बताए । भरतपुर अस्पतालले भदौ ३० गते चेपाङ बालिकालाई काठमाडौं शिक्षण अस्पताल रिफर गरिदियो । त्यसपछि म केही सहयोग रकम उठाएर बिरामी र उसका परिवारलाई बोकेर काठमाडौं हानिएँ, लामाले सुनाए ।

लामाका अनुसार बालिकालाई शिक्षण अस्पताल भर्ना गरेर उपचार सुरु गरेपछि बल्ल थाहा भयो, बालिकाको अवस्था जटिल भइसकेको रहेछ । लामाले भने-एक महिनाअघिदेखि बालिका जन्डिसको शिकार भएकी रहिछन् । यसबीचमा उनले मुख बारेकी पनि रहेनछिन् । जन्डिस बिग्रेर कडा भइसकेको रहेछ, कलेजो खाइसकेको रहेछ । शिक्षण अस्पतालले तत्काल कलेजो ट्रान्सप्लान्ट गर्न परिवारलाई सल्लाह दियो, जसका लागि ४० लाख रकम तत्काल जम्मा गर्न अस्पतालले परिवारलाई भन्यो ।

त्यत्रो रकम कहाँबाट जम्मा गर्नु, काठमाडौंसम्म त सहयोगी हातबाट रकम उठाएर आएका थियौं, उपचारमा खटिएका लामाले भने-उपचारमा लाग्ने खर्चका रकम सुनेका बालिकाका बुबाआमा त छाँगाबाट खसेजस्तो भए । ६ महिना मकै र ६ महिना गिठ्ठा-भ्याकुर खाएर पालिने परिवारसँग ४० लाख कहाबाट हुनु । उनी भन्छन्-३५ हजारजति त भरतपुर अस्पतालमा खर्च भइसकेको थियो, खर्चको जोहो गरेर काठमाडौं गएका थियौं, त्यति ठूलो रकम जम्मा गर्ने हैसियत नै परिवारमा थिएन ।

लामाले काठमाडौंमा सहयोग रकम उठाउन थाले । सामाजिकसञ्जालमा भिडियो हालेर रकम मागे । परिवारको कहानी सुनाए । झन्डै तीन लाख त उठ्यो, तर ४० लाखको अगाडि तीन लाखको केही अर्थ भएन । हात्तीको मुखमा जिराजस्तो भयो, लामाले भने-उपचारका क्रममा म धेरै सरकारी निकायहरु धाएँ । स्वास्थ्य सचिवदेखि स्वास्थ्य मन्त्री प्रदीप पौडेलसम्मलाई भेटें, सांसद्सँग हारगुहार गरें । तर कतैबाट उपचारका लागि रकम जोहो हुन सकेन । स्वास्थ्य मन्त्री पौडेलको भनाइलाई उद्धृत गर्दै लामाले भने-उपचारका लागि राज्यको कोषबाट सीधै रकम दिन मिल्ने कानुन नभएको स्वास्थ्य मन्त्रीले भने, उनी भन्छन्-कस्तो दुःखद्, उपचार गर्ने पैसा नभएरै लोपोन्मुख जाति चेपाङकी कलिली बालिकाले ज्यान गुमाउनु परेको छ । सजिना कक्षा-२ मा पढ्दै थिइन् ।

परिवारका अनुसार चिकित्सकहरुले कलेजो प्रत्यारोपण गरे एक हप्तामा सजिनालाई डिस्चार्ज गर्नसक्ने बताएका थिए । तर, रकम अभावले प्रत्यारोपण गर्नसक्ने अवस्था नै भएन । विभिन्न जाँचका क्रममा उनको बुबाको कलेजो प्रत्यारोपण गर्न मिल्ने कुरा चिकित्सकहरुले बताए । बुबा कलेजो दिन मञ्जुर पनि हुनुहुन्थ्यो । तर, उपचार गर्ने रकमको जोहो नै हुन सकेन, लामाले भने । उनी उपचारमा सात दिनसम्म काठमाडौंमै बसेका थिए । अन्ततः मंगलबार विहानै सजिनाले संसार छाडिन् । त्यसपछि परिवारले अत्येष्टिका लागि चितवन लैजाने मनस्थिति बनायो । राप्ती नगरपालिका वडा-१२ घरनजिक सजिनाको अत्येष्टि गरिएको परिवारले बताएका छन् ।

महंगो उपचार खर्चका कारण विपन्न नागरिकहरु ऋणको दुष्चक्रमा फस्ने र घरखेत जानेमात्र होइन, धेरैको उपचार खर्च अभावमा अकालमै ज्यान गइरहेको समाजसेवी लामा बताउँछन् । चर्को शुल्क धान्न नसकेकै कारण स्वास्थ्यसेवाबाट कयौं वञ्चित छन् भने थुप्रैले ज्यानको माया मारिरहेका छन् । आमोस चेपाङ परिवारमा परेको यो दुःखद् घटना समग्र विपन्न चेपाङ परिवारको पीडा हो, राप्ती नगरपालिका निवर्तमान उपमेयर लामाले भने-विपन्न चेपाङ परिवारले उपचार गर्ने रकम नभएका कारण आफ्ना सदस्य गुमाइरहेका छन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here