धुलिखेल (काभ्रे)/वागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयको आयोजनामा धुलिखेल नगरपालिकामा प्रदेशका विभिन्न जिल्लाबाट आएका २० जना पत्रकारहरुका लागि पाँच दिने श्रव्यदृष्य सम्पादन कार्यशाला मंगलबारदेखि सुरु भएको छ । कार्यशाला कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत् सञ्चालन गरिएको हो । कार्यालयले असोज ६ गते कार्यशालामा सहभागी हुने पत्रकारहरुको सूची सार्वजनिक गरेको थियो । सहभागीमध्ये मकवानपुरबाट ५ जना, ललितपुर, काठमाडौं, काभ्रेपलाञ्चोक र भक्तपुरबाट ३/३ जना, रामेछाप, नुवाकोट र सिन्धुलीबाट १/१ जना र सिन्धुपाल्चोकबाट २ जना छन् ।
कार्यशालामा सहभागी पत्रकारहरुलाई कार्यशालामा मुख्यतया एडव प्रिमियर प्रो सफ्टवेयर प्रयोग गरेर भिडियो सम्पादन गर्ने तरिकाहरु सिकाइने जनाइएको छ । तालिम दुई प्रशिक्षक नसना बज्राचार्य र शिव पुरीले सञ्चालन गर्ने बताइएको छ भने पहिलो दिन नासना बज्राचार्यले सञ्चालन गरेकी थिइन् । कार्यशाला उद्घाटन सत्रमा सम्बोधन गर्दै वागमती प्रदेशका पत्रकारहरुलाई प्रविधिमैत्री बनाउने लक्ष्यसाथ तालिम आयोजना गरिएको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले बताए । सापकोटाले भने-दृष्यले धेरै कुरा बताउनुपर्छ भन्ने हुन्छ ।
हामीले भिडियोमा काम गर्दा भिडियोलाई कसरी बढीभन्दा बढी अर्थपूणर् बनाउने भन्ने कुरा यस कार्यशालामा सिकाइनेछ । यसअघि कार्यालयले साउन १५ गते सूचना प्रकाशन गरी इच्छुक पत्रकारहरुलाई आवेदनका लागि आह्वान गरेको थियो । श्रव्यदृष्य सम्पादन कार्यशालाका साथै अन्य विभिन्न विषयहरुमा पनि तालिमहरु सञ्चालन गर्ने योजना कार्यालयको छ । ती तालिमहरुमा अनलाइन पत्रकारिता, तथ्यांकमा आधारित पत्रकारिता, मोबाइल पत्रकारिता, समाचारलेखन तथा सम्पादन कार्यशाला, रेडियो प्राविधिक कार्यशाला र मिडिया सञ्चालकहरुका लागि विज्ञापन कलासम्बन्धि कार्यशाला समावेश छन् ।
यी तालिमहरुले वागमती प्रदेशका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नुका साथै आधुनिक प्रविधिसँग परिचित गराउने लक्ष्य रहेको रजिष्ट्रार सापकोटाले बताए । विशेषगरि श्रव्यदृष्य सम्पादन कार्यशालाले पत्रकारहरुलाई गुणस्तरीय भिडियो सामग्री तयार पार्न सक्षम बनाउने सापकोटाले बताए । कार्यशालामा सहभागी पत्रकारहरुले तालिमबाट आफूहरुले धेरै कुरा सिक्न पाउने र यसले आफ्नो पेशागत् दक्षता बढाउन मद्धत गर्ने आशा व्यक्त गरेका छन् ।