सुनिता बिष्ट
हेटौंडा/मकवानपुरको थाहा नगरपालिका-८, ऐंसेलुखर्कका २६ वर्षीय तिलककुमार थिङ र कैलाश-५, गोगनेकी २५ वर्षकी प्रमिला गोलेको विवाह भयो । तर, गत शुक्रबार भदौ २८ गते प्रेमविवाह गरेका उनीहरुले विवाहको २४ घण्टा पनि सँगै बिताउन पाएनन् । लामो समय डिप्रेसनका बिरामी तिलकको विवाहको भालिपल्ट मृत्यु भयो । प्रमिलाको रंगिएको सिउँदोको सिन्दुरले एक दिन पनि बिताउन पाएन ।
प्रमिला र तिलकबीच तीन वर्षदेखिको प्रेम सम्बन्ध थियो । प्रमिलाको गाउँमा देवाली पूजामा जाँदा तिलकले उनलाई मन पराएका थिए । सोही बेलामा दुवैले एकर्काको मोबाइल नम्बर साटासाट गरे । फोनमा कुरा हुन्थ्यो । कहिलेकाहीं भेट्थे पनि । लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरुले विवाह बन्धनमा कसिने सुरसार गरे । प्रमिलाको परिवारमा सबैजनालाई यी दुईको प्रेमबारे थाहा थियो र छिट्टै विवाह गरिदिने प्रमिलाको परिवारले सोचेका थिए ।
तर शुक्रबार उनीहरुले सुटुक्क विवाह गरे । तिलकले प्रमिलालाई आफ्नो घर लगे । घरमा तिलकका दाइभाउजु/काकाकाकीहरुले बुहारी भित्र्याउने तयारी गरे । सेता अक्षता र प्रमिलाका लागि रातो सिन्दुर तयार पारे । साँझ ५ बजेतिरको समयमा तिलकले प्रमिलालाई आफ्नो घरमा भित्र्याए । तामाङ परम्परा अनुसार विवाह भयो । सबैले
रातको खाना खाएर सुते ।
विवाहको पहिलो रात प्रमिला अत्यासिएकी थिइन् । पराई घर कस्तो होला भन्ने डर मनमा थियो, उनी भन्छिन्-कसोकसो डर लाउँदो रैछ । बुबाआमा छाडेर आएकी मलाई त्यस रात राम्ररी निद्रा लागेन । उहाँ (तिलक) पनि निद्रा लागेन भन्दै यताउति गरिहनु भएको थियो । मलाई जस्तै डर लागेर होला भन्ने सोचें । अरु त मलाई केही थाहै भएन ।
भोलिपल्ट शनिबार विहान ४ बजेतिरको समयतिर तिलकका हातहरु काँप्न थाले । श्वास फेर्न गाह्रो भयो । प्रमिलाले पानी खुवाइन् । एकैछिनमा ठीक होला नि भन्ने लाग्यो उनलाई । उज्यालो भयो । घरका सबैजना उठे । विहानको खाना बन्यो । सबै मिलेर खाना खाए । तिलकले पनि परिवारसगै थोरै खाना खाए । त्यति बेलासम्म पनि तिलकलाई सञ्चो भएको थिएन । तर, पनि बेलाबेलामा परिवार र प्रमिलासँग बोलिरहेकै थिए ।
तिलकको पारिवारिकस्रोतका अनुसार उनलाई केही महिनादेखि डिप्रेसन थियो । सोही कारण टाउको दुख्ने, निद्रा नलाग्ने जस्ता समस्या हुँदै थियो । त्यस्तै भएको होला भन्ने लागेर परिवारले उनलाई अस्पताल लानेबारेमा सोच्दै सोचेनन् । शनिबार दिउँसो यस्तै १२ बजेतिरको समयमा तिलकको मृत्यु भयो । हातगोडा लगलग कमाएर भुईंमा ढलेका तिलक कहिल्यै नउठ्ने गरी लडे । बाँचुञ्जेल माया गरेर राख्ने कसम खाएर ल्याएकी प्रमिलालाई २४ घण्टा पनि साथमा राख्न पाएनन् ।
प्रेसरका कारण उनको मृत्यु भएको डाक्टरले बताएको उनको दिदी नाता पर्ने सुनसानी थिङले बताइन् । उनका अनुसार सानै उमेरबाट विभिन्न कष्ट झेल्दै आएका तिलक मानसिक तनावमा थिए । तिलक ३ वर्षको हुँदा उनका बुबा प्रतापसिंह थिङको मृत्यु भयो । उनीभन्दा तीन वर्ष जेठा दाइ छन् । दुई सन्तानलाई हुर्काएकी उनकी आमा माइतीमाया थिङले पनि अर्को विवाह गरिन् ।
उनका आमा माइतीमायाले गत असारमा अर्कोसँग विवाह गरेकी थिइन् । आमा नभएपछि घर धान्न सकसमा परेका तिलक बिगत दुई महिनादेखि प्र्रेसरको समेत रोगी बनेका थिए । आमा हुञ्जेल कही व्यवहार नगरेका तिलकलाई एक्कासी सबै व्यवहार आइपर्यो । उनका दाजुलाई सुधारगृहमा राखिएको थियो । भाउजु पालुङमै बस्थिन् । घरमा पसल थियो । पसल, घरव्यवहार, खेतीले गर्दा तिलकलाई गाह्रो थियो, उनकी दिदी सुनसानीले भनिन् ।
विवाह गरेको घरमा ज्वाईंको मृत्यु भएपछि अब माइतीमै राख्ने सल्लाह भएको प्रमिला बताउँछिन् । जसको भएर त्यो घर गएकी थिएँ, उहाँ नै हुनुहुन्न, प्रमिलाले भक्कानिँदै भनिन्-न सासुसुसुरा हुनुहुन्छ । अब कोही नभएको घरमा म एक्लै कसरी बसौं ? झन् उहा“को याद आउँछमात्र । प्रमिलाकी जेठानी अर्थात् तिलककी भाउजु तिलकको मृत्यु र प्रमिला घर नफर्कने खबरले बेहोस अवस्थामा छिन् । घरनजिकको स्वास्थ्य संस्थामा उनको उपचार भइरहेको पारिवारिक स्रोत बताउँछ ।