काठमाडौं– अध्ययन–अध्यापनका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को समेत प्रयोग हुन थालेको समयमा फिनल्यान्डको रिहिमाकी नगरको कदम भने अचम्म पार्ने खालको छ ।
विश्वभर अध्ययन–अध्यापनमा प्रविधिको प्रयोग बढिरहेका बेला रिहिमाकी नगरका विद्यालय भने स्क्रिनको पढाइ बन्द गरेर किताब–कापीमै फर्किएका छन् । त्यहाँका विद्यालयले अध्ययन–अध्यापनका क्रममा ल्यापटप, कम्प्युटर, प्रोजेक्टर जस्ता प्रविधि प्रयोग कम गर्न जोड दिन थालेका हुन् ।
हेलसिन्कीबाट करिब ४४ माइल उत्तरमा अवस्थित छ, रिहिमाकी नगरपालिका । पहिले ल्यापटप तथा अन्य डिजिटल उपकरणले सुसज्जित हुने त्यहाँका विद्यालयका कक्षाकोठामा हाल किताब–कापीले भरिएका झोलाहरु देखिन थालेका छन् । फिनल्यान्डको सार्वजनिक शिक्षाप्रणालीले यसको गुस्तरीयता र नयाँ शिक्षण प्रविधि प्रयोगका कारण विश्वव्यापी प्रसिद्धि हासिल गरेको छ । त्यहाँका विद्यालयले ११ वर्ष उमेरमै विद्यार्थीलाई निःशुल्क ल्यापटप दिने गर्छन् । पछिल्ला वर्षमा भने फिनल्यान्डमा बालबालिकाको सिकाइ नतिजा बिस्तारै घट्दै गएको छ ।
रिहिमाकीले सन् २०१८ देखि माध्यमिक विद्यालयमा पुस्तक प्रयोग लगभग बन्द नै गरेको थियो । हाल फिनिस अभिभावक र शिक्षक बालबालिकामा स्क्रिनको प्रभावलाई लिएर चिन्तित छन् । ‘स्क्रिनमा बिताउने लामो समय न्यूनतम् बनाइनुपर्छ । स्क्रिनको अगाडि घण्टौं बिताउने होइन,’ नगरको यस परिवर्तनमा काम गरिरहेका क्लिनिकल न्युरोसाइकोलजिस्ट मिन्ना पेल्टोपुरोले भने ।
कक्षाकोठामा कम्प्युटरको प्रयोग गर्दा विद्यार्थी एकै पटक सामाजिकसञ्जाललगायत अन्य धेरै कुरामा अल्झिने भएकाले पढेको नबुझ्ने समस्या बढेको उनको भनाइ छ । ‘मल्टिटास्किङबाट मस्तिष्क धेरै कमजोर हुन्छ र विशेषगरि कम उमेरमा विद्यार्थीले त्यसलाई राम्रोसँग व्यवस्थापन गर्न सक्दैनन्,’ उनी भन्छन्–कम्प्युटरमा गणितको हिसाब गरिरहेको बेला इन्स्टाग्राम, स्न्यापच्याटमा कुनै म्यासेज आइहाल्यो कि भन्नेतर्फ ध्यान दिन्छन् र त्यहीं जान्छन् । फिनल्यान्डका किशोरकिशोरी हाल औसतमा दैनिक ६ घण्टासम्म स्क्रिनमा हेर्छन् ।
्
अत्यधिक डिजिटल प्रयोगले आँखाको समस्या र बढ्दो तनाज जस्ता शारीरिक र मानसिक दुवै जोखिम आउने गरेको पेल्टोपुरो बताउँछन् । यस्ता समस्यालाई मध्यनजर गर्दै फिनल्यान्ड सरकारले विद्यालय समयमा फोनजस्ता व्यक्तिगत् उपकरणको प्रयोगमा प्रतिवन्ध लगाउने नयाँ कानुनको योजना बनाएको छ । १४ वर्षीया विद्यार्थी एले सोक्का स्क्रिन एक किसिमको समस्या हुनसक्ने बताउँछिन् । ‘जब हामीले क्रोमबुक धेरै प्रयोग गर्छौं,’ उनी भन्छिन्–कहिलेकाहीं अनावश्यक कुराहरुले ध्यान खिच्छ । अंग्रेजी शिक्षक माइजा काउनेन रिहिमाकीमा भएको यस परिवर्तनबाट खुशी छिन् । ‘मलाई लाग्छ कि यसले युवालाई पढाइप्रति ध्यान केन्द्रित गर्न मद्धत पुगेको छ,’ उनी भन्छिन्–पढाइको समयमा ध्यान भड्किएको छैन ।