Homeसमाजमौरीपालक किसानप्रति प्रदेश सरकारको उदासिनता

मौरीपालक किसानप्रति प्रदेश सरकारको उदासिनता

हेटौंडा– कालिकाका मौरीपालक किसान शिवप्रसाद पौडेलले पौडेल बी फर्म तथा मौरीघर सञ्चालनमा ल्याएका छन् । पौडेलले आफूले उत्पालन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत् बिक्री सुरु गरेका हुन् ।

शुक्रबार आयोजित औपचारिक कार्यक्रमबीच कालिका नगरपालिका मेयर बिनोद रेग्मीले महघर उद्घाटन गरेका थिए । सो अवसरमा उनले वागमती प्रदेश सरकारले मौरीपालक किसानहरुलाई उपेक्षा गरेको बताए । मौरीपालक किसानलाई स्थानीय सरकारले प्राथमिकता दिएर काम गरेको भए पनि प्रदेश सरकारको उदासिनताका कारण महले बजार पाउन नसकेको बताए ।

पूर्वी चितवनको कालिका नगरपालिका वडा–६, खोलेसिमल बजारमा किसानले उत्पादन गरेका मह बिक्रीका लागि महघर सञ्चालनमा ल्याइएको छ । महको बजारीकरणका लागि आफू मन्त्रीको ढोकासम्म पुगेको उल्लेख गर्दै मेयर रेग्मीले आयात रोकेर स्वदेशी उत्पादन बजारीकरणका लागि काम गर्न सरकारलाई आग्रह गरेको उनले बताए ।

देशभरका पालिकामध्ये कालिका नगरपालिकामा सबभन्दा बढी मह उत्पादन हुने गरेको भन्दै उनले बजारीकरण समस्याका कारण किसानले उत्पादन गरेको मह बिक्री नभएको बताए । वडा–६ का वडाध्यक्ष टीकाराम रेग्मीले मह उत्पादनमा कालिका नगरपालिका उच्च स्थानामा रहेको भन्दै उत्पादनका लागि स्थानीय सरकारले गर्नुपर्ने जिम्मेवारी पूरा गर्न आफू तयार रहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवन प्रमुख महेश रेग्मीले मह बजारीकरणका लागि प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको बताए । ‘हालसम्म उत्पादनलाई जोड दियौं,’ उनले भने–अब मह बिक्री गर्न प्रचारात्मक कार्यक्रम गर्दैछौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मह जोन संयोजक रामप्रसाद पौडेलले मह उत्पादनका हिसाबले चितवन अब्बल जिल्लाका रुपमा स्थापित भइसकेको भन्दै अब उत्पादन र बजारीकरणको कामलाई सँगै अगाडि बढाउने बताए ।

कृषि विकास कार्यालय भरतपुर प्रमुख झलक कँडेलले मह बिक्री नहुनुका कारण खोजी गरी त्यसको समाधान खोज्नुपर्ने बताए । आयातित महका कारण प्रमुख रहेको भन्दै उनले भारतबाट ल्याइएको मह खरिदबिक्री रोक्ने नीति लिनुपर्नेमा जोड दिए । महघर सञ्चालक पौडेलले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ४ लाख र व्यक्तिगत् दुई लाख गरी ६ लाख लगानीमा महघर सञ्चालनमा ल्याएको बताए । सरकारका विभिन्न निकायबाट अनुमति लिएर पौडेलले महलाई नाइन नेष्टरका नाममा ब्राण्डिङ गरेको बताए ।

मौरीपालक किसान रुबिन पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डारा प्रमुख सुजन अमुगाईं, नेपाल मौरीपालक महासंघ वागमती प्रदेश समिति महासचिव गंगाप्रसाद सापकोटा, खोलेसिमल बजार व्यवस्थापन समिति अध्यक्ष सबिता वाग्ले, सामाजिक व्यक्तित्व कमल आचार्यलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा समाजसेवी रमेशजंग थापासहित मौरीपालक किसान तथा सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । कालिका नगरपालिकामा १ सय बढी किसानले वार्षिक २ सय मेट्रिकटन मह उत्पादन गर्दै आएका छन् ।

चितवनमा वार्षिक ७०० मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । जिल्लाका सात पालिकाका वार्षिक २० करोडको मह उत्पादन हुँदा कालिका नगरपालिकामा मात्र ६ करोडको मह उत्पादन हुँदै आएको नेपाल मौरीपालक महासंघ पूर्वअध्यक्ष समेत रहेका महघर सञ्चालक पौडेलले जानकारी दिए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here