Homeसमाजतरकारीमा अब जीटुजी 'जोडिँदै खेतदेखि भान्छासम्म'

तरकारीमा अब जीटुजी ‘जोडिँदै खेतदेखि भान्छासम्म’

– मनिता राना
हेटौंडा : उनी लक्ष्मी श्रेष्ठ । उमेरले ५३ कटेकी महिला । शिरमा रातो रुमाल । आङमा बोकेकी डोकोलाई केही बेर अड्याउँदै मुसुक्क हाँसिन् । उनी हाँस्दा उनले सारा दुःखलाई त्यही तरकारी अनि डोको–नाम्लोसँग मितेरी गाँसेर भुलिसकेकी झैं देखिन्थिन् ।

हो, उनी किसान हुनुमा खुशी थिइन् । तर उनीजस्ता कयौं किसानको पिरमर्कामा सुन्नेको मन भने खुशी हुन सक्दैन । ‘बन्दा राम्रो लाग्यो, कति रुपियाँमा बेच्नुहुन्छ ?,’ उनले मुख बिगार्दै भनिन्–खासै पैसा छैन । ५ रुपियाँ किलो । उनको जवाफ सुन्नेहरु अचम्ममा पर्छन् । खेतबारिमा मरिमरि जोतिने किसानलाई किलोको ५ रुपियाँ आउने अनि ब्यापारीले उपभोक्तालाई ३० रुपियाँ केजीमा बेच्ने । यसबाट परिश्रम गर्ने किसानलाई बिचौलियाले कति ठगेका छन् भन्ने प्रष्ट हुन्छ ।

बिचौलियामार्फत् थाहा नगरका कयौं किसान सस्तो मूल्यमा तरकारी बेच्न बाध्य छन् । आफ्नो पौरखको बन्दा ५ रुपियाँ केजीमा बेच्न बाध्य किसानको पिरमर्कालाई कसले सम्बोधन गर्ने ? यसको जवाफ किसानले कहिले पाउँछन् । त्यसको समय किटान गरेर कसैले भन्न सक्ने अवस्था छैन । किनकि, व्यापारमा बिचौलियाको भूमिका खेल्नेलाई जबसम्म किसानको पसिनाको मूल्यको बोध गराउन सकिन्न, तबसम्म बिचौलिया जन्मिरहन्छन् र किसान आफ्नो पसिना लुटाइरहन बाध्य हुन्छन् ।

उक्त समस्य केही हदसम्म सम्बोधन गर्न काठमाडौंको चन्द्रागिरि–१४ मा वडा कार्यालयको आयोजनामा शनिबार एक दिनका लागि दोस्रो शहरी हाटबजार लागेको थियो । सोही हाटबजारमा थाहा नगरपालिका वडा–३ कार्यालयले करिब दुई टन विविध तरकारी पठाएको थियो । थाहा नगरबाट गएको तरकारी बिक्रीका लागि चन्द्रागिरि १४ वडा कार्यालयले छुट्टै स्टलको व्यवस्था गरेको थियो । स्टलमा ब्यानर र तरकारीको मूल्यसूचीसमेत राखिएको थियो ।

चन्द्रागिरि–१४ का वडा अध्यक्ष राजभाइ महर्जनले थाहा नगरपालिका–३ र आफ्नो वडा मिलेर कृषक र उपभोक्तालाई सीधै जोड्ने गरी परीक्षण अभ्यास गरिएको र यसबाट पाठ सिकेर अघि बढ्न दुवै वडा कार्यालय तयार रहेको बताए । ‘यसबाट दुवैलाई फाइदा छ, खासगरि जनतालाई,’ उनले भने–यसमा केही प्राविधिक विषयहरु हुन सक्छन्, नगरपालिकास्तरबाट अघि बढ्ने गरी योजना बनाइरहेका छौं ।

शहरी हाटबजार अवलोकन गर्न थाहा नगरपालिका वडा–३ का वडा अध्यक्ष एवम् नगरका आर्थिक विकास समिति संयोजक हीरेन्द्रकुमार रायमाझीको नेतृत्वमा टोली पुगेको थियो । टोलीसँग कुरा गर्दै चन्द्रागिरि नगर प्रमुख गिरीले भने–यो सरकारहरु बीचको कुरा हो, हामी जीटुजी सम्झौता गरेर अघि बढौं,’ उनले भने–तपाईंहरु तरकारी पठाइदिनुस्, हामी उपभोक्तासम्म र्पुयाउँछौं । हामी यताबाट हस्तकलाका सामग्री पठाउँछौं, त्यो तपाईंहरु बेच्नुहोस् ।

उत्तरी मकवानपुरको थाहा नगरमा उत्पादित तरकारी चन्द्रागिरि–१४ वडा कार्यालयले व्यवस्था गरेको स्टलमा निकै सस्तोमा बिक्री गर्ने गरिएको छ । स्थानीय उपभोक्ताले माछे खुर्सानी प्रतिकिलो ७०, बुलेट खुर्सानी प्रतिकिलो ८०, बन्दा प्रतिकिलो ६५ र भेंडे खुर्सानी ७० मा किन्न पाएका छन् । काउलीको मूल्य प्रतिकिलो ८५ छ ।

तरकारी खरिद गर्न आएका उपभोक्ताहरुले अन्य बजारको तुलनामा चन्द्रागिरि–१४, बन्थोकको हाटमा निकै सस्तोमा तरकारी पाएको बताए । थाहा नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी चन्द्रागिरि नगरपालिकाका उपभोक्ताले सीधै खरिद गर्न सक्ने गरी व्यवस्था मिलाउने प्रयास गरिएको छ । प्रारम्भमा थाहा नगरपालिका वडा–३ र चन्द्रागिरि नगरपालिका वडा–१४ बीच सम्बन्ध स्थापित गरी किसानको खेतदेखि उपभोक्ताको भान्छासम्म तरकारी उपजलाई सीधै जोड्ने प्रयास गरिएको हो ।

चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले १४ नम्बर वडाको बिक्री केन्द्रमा पुगेर केही तरकारी किने । त्यस क्रममा उनले भने–यो निकै राम्रो काम हो, विदेशमा मैले यसबारे अध्ययन गरेको छु । कृषकले उत्पादन गरेको तरकारी उपज सीधै उपभोक्ताले खरिद गर्ने वातावरण बन्दा यसबाट उपभोक्ताको पैसा पनि बचत हुने र ताजा पनि पाइने भएकोले धेरै फाइदा हुने उनको विश्वास छ ।

थाहा नगरपालिकाका कृषकहरुले उत्पादन गरेको कृषिउपज उपभोक्तासम्म पुग्न बीचमा विभिन्न तहहरु पार गर्नुपर्ने हुँदा कृषकले अति सस्तोमा बेच्नुपर्ने र उपभोक्ताले अति महंगोमा किन्नुपर्ने समस्या हल गर्न विगतदेखि थुप्रै पहल हुँदै आएका छन् । तर, उक्त प्रयासहरुले सफल नतिजा दिन सकिरहेका थिएनन् ।

साउन २६ मा थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकाका प्रतिनिधिबीचको छलफल फलदायी हुने देखिएको थाहा–३ का वडा अध्यक्ष रायमाझीले बताए । थाहा नगर प्रमुख विष्णु बिष्ट, उपप्रमुख भरत गोपालीसहित चन्द्रागिरिका जनप्रतिनिधिहरुसँगको छलफलको निष्कर्ष थियो–हामीले कृषिउपजको बजारीकरणका धेरै उपायहरुबारे सोच्यौं, छलफल र्गयौं तर काम भएन । यसपटक कुरामात्र होइन, काम गरिहालौं, बीचमा आएका चुनौतीहरुबाट पाठ सिकेर अघि बढौंला ।

‘बुबाले टिष्टुङमा ५ रुपियाँमा बेचेको खुर्सानी यहाँ काठमाडौंमा छोराले ५० रुपियाँमा किन्नुपर्छ । ६० किमी दुरीमा सामान ल्याउँदा यत्रो मूल्य फरक हुनु लुट हो । अझ अनुगमन टोलीलाई थुनेर दादागिरी गर्छन्, बिचौलिया सबैलाई पक्रेर कोर्रा हान्नुपर्छ,’ हाल काठमाडौंमा बसेर सक्रिय पत्रकारिता गर्दै आएका मकवानपुर थाहा नगरका रामजी बलामीले फेसबुकमा लेखेका थिए । हुन पनि बेमौसमी तरकारीको ‘राजधानी’ का रुपमा परिचित उत्तरी मकवानपुरको थाहा नगरका किसानले वर्षौंदेखि यस्तो पीडा भोग्दै आएका छन् । त्यहाँका किसानले पसिना बगाएर उत्पादन गरेका तरकारीको मूल्य नै पाएका छैनन् ।

तर, सोही ठाउँबाट केवल ६० किमी पर रहेको काठमाडौं पुग्दा भने तरकारीको मूल्य करिब १० गुना बढिसकेको हुन्छ । सरकारले बजारको व्यवस्था नगरिदिँदा बिचौलियाको बिगबिगीले किसान परिवारले आफ्नो पसिनाको उचित मूल्य पाउन सकेका छैनन् । यद्यपि, मकवानपुरे परिश्रमी किसानले आफ्नो कर्म र धर्म छाडेका छैनन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here