हेटौंडा : ‘पानीबाट डराउने रोग’ वा ‘हाइड्रोफोबिया’ पनि भनिने रेबिज रोग लागेर मकवानपुरको वागमती गाउँपालिकामा २ जनाको मृत्यु भएको छ । गाउँपालिका वडा नम्बर–८, साततलेमा रेबिजबाट एक सातामा दुई जनाको मृत्यु भएको पालिका पशुसेवा प्राविधिक राजेन्द्र गोलेले जानकारी दिए ।
पशुसेवा प्राविधिक गोलेका अनुसार रेबिजबाट स्थानीय ३२ वर्षीय कमल नेगी र ९ वर्षीया रबिना थोकरको मृत्यु भएको हो । मृतक नेगीलाई ६ महिनाअघि र थोकरलाई ५ महिनाअघि कुकुरले टोकेको बुझिएको छ । उनीहरुको रेबिजबाट मृत्यु भएसँगै वागमती गाउँपालिकाका बासिन्दा त्रासित छन् । उनीहरुको मृत्युसँगै २६ स्थानीयले रेबिजविरुद्ध खोप लगाएका छन् ।
रेबिज पशुबाट मानिसमा सर्ने रोग हो । चमेरा र स्तनधारी प्राणीमा मात्र असर गर्ने यस रोग जंगली जनावर जस्तै स्याल, ब्वाँसो, फ्याउरो आदि जनावरमा उत्पन्न हुन्छ । घरपालुवा पशु कुकुरमा प्रायः यस रोग सर्छ । यस रोग प्रायः कुकुरको टोकाइबाट मानिसमा सर्छ । यस रोग लागेका मानिस पानी देखेर डराउने हुनाले यस रोगलाई ‘पानीबाट डराउने रोग’ वा ‘हाइड्रोफोबिया’ पनि भनिन्छ ।
रेबिज रोग लागेको कुकुरको चटाइबाट मात्र पनि यो रोग सर्नसक्छ । रोगी जनावरको ¥यालद्वारा घाउमार्फत् शरीरमा रेबिजका जीवाणु प्रवेश गर्दछ भनेर सन् १८०४ मा एक जर्मन वैज्ञानिकले पत्ता लगाएका थिए । त्यसको धेरैपछि मात्र लाइसा नामक भाइरस संक्रमणले गर्दा रेबिज हुन्छ र त्यस भाइरस स्याल, कुकुर, बाँदर, बिरालो, चमेरो जस्ता जनावरको टोकाइले गर्दा हुन्छ भनेर पत्ता लागेको हो ।
चरा वा स्तनधारी वर्गका यी जनावर, जसलाई ‘लाइसा’ नामक भाइरस संक्रमण छ, त्यस्ता जनावरले टोकेमा वा कुनै आलो घाउमा चोट लागे पनि मान्छेलाई रेबिज संक्रमण हुन्छ । मान्छेमा रेबिजको लक्षण देखिन जनावरले टोकेको केही महिनादेखि लिएर केही वर्षसम्म पनि लाग्न सक्छ । यस कुरा कुन जनावरले कुन ठाउँमा टोकेको, कति ठाउँमा टोकेको र लुगामाथिबाट टोकेको वा नांगो छालामा टोकेको जस्ता कुरामा भर पर्दछ । गाई, भैंसी, भेंडा, बाख्रा, घोडा, गधा, सुँगुर, बंगुर र बिरालोमा पनि रेबिज लाग्न सक्छ ।
स्तनधारी प्राणी र चराले आफ्नो शरीरको तापक्रमलाई वाह्य वातावरणअनुसार सधै सन्तुलनमा राख्ने भएकाले भाइरसलाई अनुकूल अवस्था उत्पन्न हुन्छ । तर, सर्प, माछा जस्ता जीवमा यस्तो क्षमता हुने नभएकाले उनीहरुमा लाइसा भाइरसको असर रहँदैन । त्यसैले त्यस्ता जीव यस रोगबाट मुक्त हुन्छन् । रेबिज रोग लागेको जनावरमा देखिने मुख्य लक्षण भनेको उत्तेजना हो । धेरै चनाखो हुने, छटपटिने, बिनाकारण कराउने, भित्तामा ठोकिरहने, नउग्राउने, निल्न नसक्ने, र्याल काढिरहने, आँखा राता देखिने र अन्य स्वस्थ्य पशुभन्दा भिन्नै लक्षण देखाउँछन् ।
रेबिज रोग लागेको कुकुरले पुच्छर टाँगमुनि लुकाएर हिँड्दछ । यस्तो कुकुरलाई अरु कुकुरले देखेमा भुक्छन् । रोगी कुकुर पनि भुक्न खोज्छ तर सास सुकेको हुन्छ र भुक्दा सास आउँदैन । रेबिज रोग लागेको कुकुरले मुखबाट ¥याल फाल्दै हिँडेको देखिन्छ । रेबिज रोग लागेको मान्छे पानीबाट डराउँछ । रेबिज रोगको असर दिमागमा पर्ने भएका कारण रोगी चिच्याउने, अन्य मानिसलाई चिथोर्ने, कोर्ने, जस्ता काम गर्छ । लक्षण भने रोगका तीन अवस्थाअनुसार देखा पर्दछन् । पहिलो अवस्था–टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ भने बिरामी सानातिना कुरामा पनि उत्तेजित हुने गर्दछन् । दोस्रो अवस्था–चिड्चिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रुचाउने, जोसँग–जे गर्दा पनि रिसाउने, पानीसँग खेल्नमात्र होइन पानी हेर्नै डराउने, श्वासप्रश्वासमा कठिनाइ हुने हुनाले तिर्खा लागे पनि बिरामीले पानी खान सक्दैन । तेस्रो अवस्था–र्याल चुहाउने, अरुलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हुँदै मृत्यु हुन्छ ।
रेबिज रोगको असर दिमागमा पर्छ । यदि रेबिज रोग लागेको मानिसको समयमा उपचार भएन भने उसको मृत्युसम्म हुने खतरा हुन्छ । रेबिज रोग लागेको कुकुर, रोग देखापरेको १४ दिनभित्र मर्छ ।