Homeमकवानपुर विशेषमकवानपुरगढीअवैध ओसारपसार रोक्न युवा संघको ध्यानाकर्षण

अवैध ओसारपसार रोक्न युवा संघको ध्यानाकर्षण

हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा अवैध तवरले नदीजन्य पदार्थ (ढुंगा) ओसारपसार रोक्न राष्ट्रिय युवा संघ नेपालले ध्यानाकर्षण गराएको छ ।

गाउँपालिका अध्यक्ष दोर्जे लामास्यांतान र प्रमुख प्रशासकीय अधिकृत नवीन गङ्तानलामालाई युवा संघले ढुंगाको अवैध निकासी रोक्न ध्यानाकर्षण गराएको हो । मकवानपुरगढी गाउँपालिका–७ नम्बर वडास्थित सुकौराबाट कर छलेर ढुंगा बाहिर निकासी भइरहेकोको विषयमा पालिकादेखि प्रशासनसम्मको मौनता देखिनु र दोषीलाई कारबाहीको दायरामा ल्याउन नसक्नुले कानुनी राज्यको उपहास भएको युवा संघ अध्यक्ष विष्णु सिलवालले बताए ।

युवा संघले प्राकृतिक स्रोतको स्टक प्रमाणित नगरी गैरकानुनी तवरले चोरीनिकासी भएकोप्रति बेवास्ता गरिनुले राजस्व अपचलन भएको आशंका गरेको छ । २०८१ साउनयता कान्तिलोकपथ सडक निर्माणका लागि भन्दै ट्रिपरमा एक हजार ट्रिप भन्दा बढी निकासी भएको युवा संघको आरोप छ । उक्त घटनाको सत्यतथ्य छानबिन गरी राजस्व जम्मा हुनुपर्ने माग राखिएको अध्यक्ष सिलवालले बताए ।

गत वर्ष २०८०–०८१ को अन्तिममा सामरी खोलाअन्तर्गत् मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ कालीवन, गढी–४ घट्टेदमार, गढी–६ ठुलोबेसी र गढी–२ कुर्लेदमारलगायत क्षेत्रमा माछापालनका नाममा उत्खनन् गरिएको कच्चा पदार्थको हिसाबकिताब सार्वजनिक नभएकोप्रति पनि युवा संघले पालिका कार्यालयको ध्यानाकर्षण गराएको छ ।

प्राकृतिक स्रोत तथा अन्य क्षेत्रको राजस्व संकलन बोलपत्रका माध्यमबाट संकलनको माग राख्दै संघले अमानतबाट नदीजन्य पदार्थ संकलन गर्दा हुने आर्थिक अपचलनलाई पूर्णरुपमा निरुत्साहित गरिनुपर्ने माग राखेको छ । प्राकृतिक स्रोतसाधनको बिक्रीका नाममा जग्गाको मूल्यांकन तथा सबै खाले क्षेत्रमा भएको राजस्व बृद्धिले जनतामा ठूलो आर्थिक भार थपिएको संघको धारणा छ । संघले हालसम्म आर्थिक वर्ष २०८१÷०८२ को बजेट सार्वजनिक नगरेकाले तुरुन्त सार्वजनिक गर्न पालिकासँग माग गरेको छ । युवा संघले उठाएको माग सम्बोधनका लागि ७ दिन अल्टिमेटम दिइएको सिलवालले बताए ।

पत्र बुझ्दै पालिका अध्यक्ष स्यांतानले युवा संघले उठाएका विषय र आफ्नो चिन्ता र चासो साझा रहेको प्रतिक्रिया दिए । उनले नदीजन्य पदार्थ अवैध ओसारपसार र चोरीनिकासी नियन्त्रण गरेर छाड्ने बताउँदै यसअघि प्रयास गर्दा धम्कीको सामना गर्नुपरेको बताए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here