हेटौंडा/नेकपा एमाले मकवानपुरले विपद्को समयमा नागरिकको सुरक्षाका लागि खटिन विपद् प्रतिकार्य द्रुत टोली निर्माण गर्ने भएको छ । एमाले मकवानपुरको जिल्ला विपद् व्यवस्थापन तथा स्वयम्सेवक विभाग, वन तथा वातावरण विभाग, स्वास्थ्य विभाग तथा जनसंगठन समन्वय संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको संयुक्त बैठकले जिल्लास्तरीय विपद् प्रतिकार्य द्रुत टोली (स्वयम्सेवक दस्ता) बनाउने निर्णय गरेको हो ।
जिल्ला विपद् विभाग प्रमुख शिवहरि दाहालको सभाध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर पार्टी इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता, पार्टी जिल्ला सचिव सीता बिष्ट, उपसचिव आरती पाठक, जनसंगठन समन्वय संयन्त्र प्रमुख सन्तोष पौडेल, उपप्रमुख मिलन पाठक, पार्टी जिल्ला सदस्यहरु पञ्चमाया स्यांतान तथा आकाश अधिकारीलगायतको आतिथ्यतामा बसेको बैठकले ६५ जनाको जिल्लास्तरको द्रुत टोली बनाउने निर्णय गरेको हो ।
बैठकले जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरको विपद् प्रतिकार्य टोली बनाउने योजना पनि बनाएको छ । विभाग प्रमुख दाहालका अनुसार जिल्लास्तरको र गाउँगाउँमा निर्माण गरिने प्रतिकार्य टोलीले विपद्को पूर्वानुमान गरेर पूर्वतयारी वा विपद्ले समस्या बनाएको स्थानमा पुगेर नागरिकको जीवन रक्षा र भौतिक संरचनाको सुरक्षाको दृष्टिकोणले सरकारी निकायहरुसँग समन्वय गरी काम गर्नेछ । विपद् प्रतिकार्य टोली निर्माणका लागि विभागले विपद् प्रतिकार्यसम्बन्धि तालिम आयोजना गर्दैछ ।
‘हरेक पालिकामा एमालेले विपद् प्रतिकार्य टोली बनाउनेछ । जिल्लाको टोली भन्दा गाउँको टोली प्रभावित क्षेत्रमा तत्काल पुग्ने भएकाले गाउँगाउँमै विपद् प्रतिकार्यको लागि समूह तयार बनाउन लागिएको हो,’ विभाग प्रमुख दाहालले भने, ॅएमाले मकवानपुर नागरिकको सुरक्षामा संवेदनशील भएर अघि बढेको छ । बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इञ्चार्ज रानाले विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, उद्धार तथा राहत वितरण कार्यमा पार्टीपंक्तिलाई परिचालितका लागि आबश्यक योजना निर्माण गरिएको बताए । उनले सरदरभन्दा यस वर्ष बढी वर्षा हुने अनुमान गरिएको सन्दर्भलाई दृष्टिगत् गरी आवश्यक कार्ययोजनासहित सम्भावित विपद् व्यवस्थापनमा पार्टीपंक्ति परिचालन गर्न लागिएको बताए ।
बैठकमा जिल्ला विपद् व्यवस्थापन विभागका सचिव सुरेश बेरोजगार, बन तथा वातावरण विभाग सचिव कृष्ण बिडारी, स्वास्थ्य विभाग सचिब उमेश अधिकारी, जनसंगठन समन्वय संयन्त्र उपप्रमुख मिलन पाठक तथा नेकपा एमाले मकवानपुर सदस्य आकाश अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।