हेटौंडा/मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ मा बोक्सी कुप्रथाविरुद्ध सचेतनामूलक र शिक्षामूलक राष्ट्रव्यापी कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा हेटौंडाको सहआयोजनामा भएको हो ।
हेटौंडा–११ को सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवाकेन्द्र भवनमा जनचेतनामूलक चलचित्र प्रदर्शन गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता र वडा अध्यक्ष जुना दाहालको विशेष आतिथ्यता थियो ।
२०७१ सालमा स्थापना भएको संस्थाले जनचेतनामूलक विभिन्न कार्य गर्दै आएको छ । संस्थाले राष्ट्रिय महिला आयोगमा बोक्सी कुप्रथासम्बन्धि सचेतनामूलक कवितासंग्रह विमोचन गरेको थियो । संस्थाले चर्चित गायक गायिका स्वरुपराज आचार्य, सत्यराज आचार्य, प्रमोद खरेल, अञ्जु पन्तलगायतको आवाजमा बोक्सी हुन्नन् जनचेतनामूलक म्युजिक भिडियो सार्वजनिक
गरेको थियो । २०७४ मा नेपाली कथानक चलचित्र अग्निदहन निर्माण गरी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रथम पटक शितलनिवासमा अवलोकन गरी उद्घाटन गरिएको थियो ।
उक्त चलचित्र विशेष चलचित्र अवार्डबाट पनि सम्मानित भएको थियो । तत्कालीन राष्ट्रपति भण्डारीबाट प्रवल जनसेवाश्रीबाट विभुषितसमेत भएको थियो । अभियान केन्द्रीय संयोजक दीपक पराजुलीका अनुसार चलचित्रलाई नेपाली, भोजपुरी, मैथिली र हिन्दीमा समेत अनुवाद गरिएको छ । उक्त अभियान देशका ४५ जिल्लामा पुगेको संयोजक पराजुलीले बताए ।