हेटौंडा/मकवानपुर थाहा नगरपालिकाका अपांगता भएका व्यक्तिको जीविकोपार्जनमा टेवा पुर्याउने उद्धेश्यले ३६ जनालाई प्रजनन्योग्य माउ बाख्रा वितरण गरेको छ ।
पालिकाले समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रमअन्तर्गत् ‘ग’ र ‘घ’ वर्गका अपांगता भएका ‘व्यक्तिलाई तालिमसहित बाख्रा वितरण गरेको हो । थाहा नगरपालिकास्तरीय अपांगता समन्वय समिति अध्यक्ष मनलाल गोपालीका अनुसार मध्यम र सामान्य श्रेणीमा पर्ने अपांगता भएका व्यक्तिलाई उनीहरुको वडाअनुसार माग संकलन गरी बाख्रा प्रदान गरिएको हो ।
बाख्रा वितरण कार्यक्रमलाई थाहा नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता शाखा प्रमुख प्रतिमा मोक्तानले कार्यक्रम सानो भए पनि दीर्घकालीनरुपमा प्रभावकारी हुने विश्वास व्यक्त गर्दै यस किसिमको सानो वीउ पुँजीको सहयोगले ठूलो परिवर्तन ल्याउनसक्ने अपेक्षा गरिन् ।
कार्यक्रमका क्रममा अपांगता सरोकार केन्द्रबाट कृत्रिम खुट्टा एक जनालाई, कृत्रिम हात दुई जनालाई, बैशाखी आठ जनालाई र ह्िवलचेयर दुई जनालाई प्रदान गरिएको अपांगता सरोकार केन्द्रले जानकारी दिएको छ । २०७८ सालको जनगणनाअनुसार बागमती प्रदेशमा १ लाख २४ हजार १ सय जना अपांगता भएका व्यक्ति छन् । स्थानीय तहबाट यस्ता कार्यक्रमले अपांगता भएका समुदायलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने सरोकारवाला बताउँछन् ।