माधब न्यौपाने
हेटौंडा/काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरुले बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय घेराउ गरेका छन् । उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्ने मागसहित पीडित बचतकर्ताहरुले मन्त्रालय घेराउ गरेका हुन् । सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएका बचतकर्ताहरुले मन्त्रालयमा नाराबाजी गर्दै समस्याग्रस्त सहकारी घोषणा गर्न दबाब दिएका हुन् । उनीहरुले एक वर्षअघि पनि मन्त्रालयमा निवेदन दिएको तर सुनुवाइ नभएको भन्दै दबाब दिन हेटौंडा आएका हुन् ।
सरकार पीडितको पक्षमा उभिनुको सट्टा समस्याबाट पन्छिन खोजिरहेको पीडितले आरोप लगाएका छन् । १३ हजारभन्दा बढी शेयर सदस्य रहेको उक्त सहकारीको २ अर्ब ७५ करोड भन्दा बढी रकम अपचलन भएको आरोप छ । प्रदेश सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर निक्षेप सुरक्षित गर्नुपर्ने उनीहरुको माग छ । सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति रवि लामिछाने थुनामा रहे पनि अन्य आरोपितलाई कारबाही गर्न सरकारले नसकेको भन्दै पीडितहरुले राज्यको मिलोमतो रहेको आशंका गरेका छन् ।
मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले पीडितहरुको मागका आधारमा प्रहरी अनुसन्धान अघि बढेको बताए । मुद्धा हाल अदालतमा रहेकाले समस्याग्रस्त घोषणा गर्न मिल्ने–नमिल्नेबारे विज्ञहरुसँग आवश्यक छलफलपछि भन्न सकिने उनले बताए । मन्त्रालयको सहकारी महाशाखाका अनुसार हालसम्म बागमती प्रदेशमा ५ सहकारी समस्याग्रस्त घोषित भएका छन् । लामिछानेविरुद्ध पुस २१ मा काठमाडौं जिल्ला अदालतमा संगठितरुपमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । उक्त मुद्धामा ३९ जना प्रतिवादी छन् । गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्धेश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४ सय ८० रुपिया’ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनलाई सरकारी वकिलले ५ करोड ७८ लाख ९८ हजार ४ सय ८० रुपिया’ बिगो मागदाबी गरेको छ ।
रविको नामबाट ७५ लाख विदेशमा
जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपिया’ रेमिटमार्फत् विदेश पठाएको फेला भेटिएको छ । २०२१ र २०२२ मा उक्त रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उक्त रकम लामिछानेको नामबाट विदेशमा पठाएको अभियोगपत्रमा उल्लेख छ । बयानमा रास्वपा सभापति लामिछानेले ॅएलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’ लाई भुक्तानीबापत् रकम पठाएको जिकिर गरेका छन् । गोरखा मिडिया नेटवर्कले एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनीसँग सम्झौता गरेको उनले बताएका छन् ।
२०७७ चैत २० मा गोरखा मिडियो नेटवर्कको बैठकले जगेडामा रहेको शेयरमध्ये १ लाख ८० हजार थान लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो । निर्णयअनुसार लामिछानेलाई जीबी राईले सहकारीको रकम ट्रान्सफर गरिदिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बागमती प्रदेशमा रहेका ३ हजार २ सय २९ सहकारीमध्ये जेठ २५ गतेसम्म ३ सय ५१ वटा सहकारीविरुद्ध उजुरी परेका छन् । तीमध्ये ६० वटा प्रहरी अनुसन्धानमा छन् भने १४ वटा सहकारीको अनुसन्धान जिम्मा सीआईबीलाई दिइएको छ ।