24.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबागमतीको बजेट ४ अर्ब बढी सोझै, बाँकीमा पनि सांसद्कै नजर

बागमतीको बजेट ४ अर्ब बढी सोझै, बाँकीमा पनि सांसद्कै नजर

सुनिता बिष्ट
हेटौंडा/बागमती प्रदेश सरकार यतिबेला आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा योजना निर्माणमा जुटिरहेको छ । प्रदेशसभामार्फत् बजेट ल्याउने तयारीमा जुटिरहेको बागमती प्रदेश सरकार मन्त्रालयगत् योजना संकलनको चरणमा छ । बुधबार अर्थात् २८ गतेसम्ममा सबै योजना फाइनल गरेर किताब प्रकाशनको तयारी थालिने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याउने बजेटमा प्रदेशका प्रत्यक्ष निर्वाचित सांसद्हरुलाई ५ करोड र समानुपातिक सांसद्हरुलाई २ करोडका दरले योजना बाँड्ने तयारी भइरहेको बताइएको छ । चालु आर्थिक वर्षमा पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् प्रत्यक्ष निर्वाचित सांसद्लाई ३ करोड र समानुपातिक सांसद्लाई १ करोड छुट्याइएको थियो ।

आगामी आर्थिक वर्षमा रकम बढाउने तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयस्रोतले जनाएको छ । सांसद्हरुले बजेट अपुग भएको गुनासो गरेपछि आगामी वर्षका लागि प्रत्यक्ष निर्वाचित सांसद्लाई २ करोड र समानुपातिक सांसद्लाई १ करोड थप्ने सहमतिअनुरुप उक्त कार्यक्रममार्फत् बजेट वितरण गर्ने बताइएको हो । उक्त बजेट सम्बन्धित निर्वाचन क्षेत्रका सांसद्हरुले विकासनिर्माणका योजनाहरुमा खर्च गर्न पाउने छन् । आवश्यकताका आधारमा योजना पेश गरेर कार्यक्रम लिन सकिने व्यवस्था मिलाइएको बताइएको छ । ७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशसभामा १ सय १० सांसद् छन् । जसमध्ये ६६ जना प्रत्यक्ष निर्वाचित हुन् भने ४४ जना समानुपातिक हुन् ।

यस हिसाबले हेर्ने हो भने प्रत्यक्ष निर्वाचित सांसद्लाई ५ करोडका दरले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् बजेट विनियोजन गर्दा कुल ३ अर्ब ३० करोड हुन्छ । समानुपातिक निर्वाचित भएका ४४ सांसद्लाई २ करोडको दरले बजेट छुट्याउँदा ८८ करोड हुन्छ । यसरी सांसद्लक्षित ४ अर्ब १८ करोड विनियोजन गर्न लागिएको हो । यसबाहेक पनि सांसद्हरुले खोजीमा ल्याएको योजनाहरुलाई नै प्रदेशका मन्त्रालयहरुले प्राथमिकतामा राख्ने गरेका छन् । ४ अर्ब बढी बजेट सांसद्लक्षित गरेर ल्याउन लागिएको हो । उक्त बजेट सांसद्को निर्वाचन क्षेत्रका लागि सोझै तोकेर छुट्याइनेछ । सबै सांसद्हरुले आआफूले प्राप्त गरेको बजेटले आफ्‌ना योजनाका कार्यहरु गर्न पाउनेछन् ।

आफ्‌नो निर्वाचन क्षेत्रको विकासमा खर्चिन पाउने गरी बजेट विनियोजनका लागि तोकिएको सिलिङबराबरको योजना पेश गर पनि सांसद्हरुले अन्य योजना फाइल भने बोक्न छाडेका छैनन् । बजेट लगेर देखाउ“दै मतदाता रिझाउन यतिबेला सांसद्हरुको दौडधुप भने उत्तिकै छ । प्रदेश सरकारले हरेक वर्षको बजेटमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसद्माथि विभेद गर्दै आएको गुनासो छ । समानुपातिकतर्फबाट निर्वाचित भएकै कारण प्रत्यक्ष निर्वाचित सांसद्हरुलाई भन्दा ३ करोड बजेट कम दिनु भेदभाव गरेको प्रष्ट हुने नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचित एक सांसद्ले बताइन् । सरकार गठन गर्दा लिंगका आधारमा विभेद, बजेटमा समानुपातिकको ट्याग,’ ती सांसद्ले भनिन्‌–सरकार आफैं यस्ता सानासाना कुराहरुमा अल्झिएर विभेद गर्छ । यस्तो सरकारले विभेदरहित समाज निर्माण कसरी गर्न सक्ला र ? उनले थपिन्‌–निर्वाचनमा जे भए पनि सदनमा आएपछि सांसद् हौं । एउटै नजरले हेर्नुपर्ने हो । तर, कहिल्यै त्यस्तो भएन ।

जति दिए पनि समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसद्हरुलाई बराबर बजेट विनियोजन गरिनुपर्ने उनले बताइन् । सरकारले असार १ गते आगामी आवको बजेट ल्याउँदै छ । कुल ६५ अर्ब हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको बताइएको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड बजेट ल्याएको थियो । बागमती प्रदेशसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३ (सभामुखसहित), नेकपा (एकीकृत समाजवादी) का ७, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टी (हानेपा) का २ सांसद छन् । हाल नेपाली कांग्रेस र नेकपा एमाले प्रदेश सरकारमा सहभागी छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here