हेटौंडा/बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले नेपालका हिमालहरु कालो हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । जलवायु परिवर्तनका कारण तापक्रम बढ्दा हिमालहरु कालो हुँदै गएको उनको भनाइ छ । ५३ औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा मन्त्री सिलवालले तटीय क्षेत्रमा बसोबास गर्नेहरु समेत जलवायु परिवर्तनको चपेटामा परेको जिकिर गरे । नेपालीहरुले खाँदै नखाएको विष भोग्नुपरेको उनको धारणा छ । विश्व समुदायसामु हरेक नेपालीहरुले जलवायु परिवर्तनको असरलाई न्यूनीकरणका लागि आवाज उठाउनुपर्नेमा उनले जोड दिए ।
मन्त्री सिलवालले प्लाष्टिकको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वातावरणीय दृष्टिले चुनौतीपूर्ण बन्दै गएको बताए । पृथ्वी सबैको साझा घर भएकाले यसलाई जोगाउन घरको भान्साघरमा प्लास्टिकजन्य वस्तु प्रयोग नगर्न र गरिहाले पनि न्यून मात्रामा गर्न उनले आग्रह गरे । बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले मानव समुदायको गतिविधि वातावरणमैत्री हुनुपर्ने बताए । उनले कर्रा खोलाको फोहोर व्यवस्थापन गरी पर्यटकीयस्थल बनाउनुपर्ने बताए । ८ वर्षअघि सुरु गरिएको ट्रिटमेन्ट प्लान्ट छिटो सम्पन्न गर्न पनि उनले उपमहानगरपालिकालाई आग्रह गरे ।
हेटौंडालाई सुन्दर र व्यवस्थित बनाउने पहिलो दायित्व हेटौंडाबासीको भएको उनको भनाइ छ । हेटौंडाको वातावरणलाई स्वच्छ बनाउन नसक्दा प्रदेश राजधानीको पहिचान नै गुम्नसक्ने भएकाले त्यसतर्फ सचेत रहन उनले आग्रह गरे । हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले विकसित हुँदै गएको हेटौंडा शहरलाई नमुना शहर बनाउनुपर्ने बताइन् । संविधानमै सहअस्तित्व, समन्वय र सहकार्यको व्यवस्था भएकाले प्रदेश राजधानीलाई व्यवस्थित बनाउन प्रदेश सरकारसँग सहकार्य गर्न उपमहानगर तयार भएको उनले बताइन् ।
टोलविकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा नगरको वातावरण संरक्षण तथा सरसफाइमा योगदान पुर्याएको भन्दै ७ जनालाई सम्मान गरिएको थियो । सप्ताहव्यापीरुपमा आयोजना भएका विभिन्न कार्यक्रममा उत्कृष्ट हुने प्रतियोगीहरुलाई पुरस्कृत पनि गरिएको थियो । त्यसअघि हेटौंडाका १९ वटै वडाहरुमा रहेका ३ सय ७६ टोलविकास संस्थाहरुले आफ्नै क्षेत्र र हेटौंडाको मुख्य बजारवरपरका क्षेत्रका टोलविकास संस्थाहरुले बजार क्षेत्रमा र्याली निकालेका थिए । प्लास्टिक प्रदुषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारासाथ हुप्रचौरबाट सुरु भएको र्याली शितलमहल चोक, पारिजातपथ, ओमभवन, बुद्धचोक हुँदै रोयल पार्टी प्यालेसमा औपचारिक कार्यक्रममा परिणत भएको थियो ।