हेटौंडा/बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । शनिबारबाट दोलखाको भीमेश्वर नगरपालिकामा सुरु भएको १५ औं संस्करणको प्रदेशस्तरीय प्रतियोगिता सोमबार सम्पन्न भएको हो । प्रतियोगिताअन्तर्गत् एथ्लेटिक्सतर्फ मकवानपुर टिम द्वितीय भएको छ । एथ्लेटिक्सतर्फको सग्रम विधाको प्रकाशित नतिजाअनुसार मकवानपुरले २ स्वर्ण, ४ रजत र १ कास्य गरी ७ पदकसहित द्वितीय हुन सफल भएको एथ्लेटिक्स समिति सदस्य तथा राष्ट्रिय निर्णायक राजाराम पोखरेलले जानकारी दिएका छन् । प्रतियोगितामा काठमाडौं महानगरपालिका प्रथम भएको छ भने ललितपुर टिम तृतीय भएको छ । फागुनमा सम्पन्न १४ औं संस्करणको प्रतियोगितामा तृतीय स्थानमा परेको मकवानपुर यस वर्ष भने दोस्रो भएको राष्ट्रिय निर्णायक पोखरेलले बताए । खेलाडीको मेहनत अनुशासन, लगनशीलता र परिश्रमका कारण सफल भएको निर्णायक पोखरेलले बताए ।
यस वर्ष खेलाडीहरुका लागि बन्द प्रशिक्षण व्यवस्था भएको भए मकवानपुर प्रथम स्थानमा पर्नसक्ने उनले बताए । एथ्लेटिक्सतर्फ मकवानपुरबाट १२ खेलाडीको सहभागिता थियो । प्रतियोगिताबाट छनौट हुने खेलाडीहरुले जेठ २८, २९ र ३० गते काठमाडौंमा हुने केन्द्रीयस्तरको प्रतियोगितामा सहभागिता जनाउन पाउने उनले बताए । प्रदेश खेलकुद विकास परिषद् सदस्य सचिव दीपक लामाले प्रतियोगिता विजेता बनेका खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । एथ्लेटिक्सतर्फको खेलका लागि नेपाल एथ्लेटिक्स संघ केन्द्रीय सदस्य प्रभाकर पाण्डेको संयोजकत्वमा ३ सदस्य समिति गठन गरिएको निर्णायक पोखरेलले बताए । मकवानपुरबाट खेलाडीहरुको प्रतिनिधित्व गरेर टिम प्रशिक्षकका रुपमा सन्ध्या आचार्य दोलखा गएकी थिइन् । टिम व्यवस्थापनको जिम्मेवारी विष्णुमान श्रेष्ठलाई दिइएको थियो भने टिमको निर्णायकको जिम्मेवारी रञ्जिता फुयाँललाई दिइएको थियो ।
१०० मिटर दौड पुरुषतर्फ सुबिन लामाले मकवानपुरलाई रजत दिलाउँदा ४०० मिटर दौडमा सम्भव माझीले रजत र ८०० मिटर दौडमा सचिन थिङले स्वर्ण पदक दिलाएका छन् । लङजम्पमा पुरुषतर्फ सुबिनले रजत, ४ गुणा ४०० मिटर रिलेमा मकवानपुरले तेस्रो स्थान हासिल गरेको छ । रिलेमा मकवानपुरका हरिकृष्ण बलामी, सचिन थिङ, सम्भव माझी र सुशान्तको समूहले तृतीय स्थान ल्याएको हो । २०० मिटरमा सुबिनले रजत पदक दिलाउँदा ४ गुणा १०० मिटर रिलेमा मकवानपुरले प्रथम स्थान हासिल गर्दै स्वर्ण जितेको छ । मकवानपुरका लागि सुबिन, प्रवीण राई, सुशान्त राई र सम्भव माझीको समूह प्रथम भएको हो ।
तेक्वान्दोतर्फ मकवानपुरले ४ पदक जितेको टिम निर्णायक बिमल बिकले जानकारी दिए । सहभागी १२ खेलाडीमध्ये ४ जनाले मकवानपुरका लागि पदक दिलाउन सफल भएको टिम निर्णायक बिकले बताएका हुन् । प्रतियोगितामा ४६ केजी भन्दा कम तौल समूहबाट जस्मिना गोलले रजत, ५२ केजी भन्दा अधिक तौल समूहबाट सुजित माझीले रजत, ४२ केजी तौल समूहबाट माधुरी घलानले कास्य र पुम्से विधामा सुहान गुरुङले कास्य दिलाएका छन् । काठमाडौंको दशरथ रंगशालामा उसुकोतर्फ मकवानपुरबाट ४८ केजी तौल समूहमा मनिषा बिश्वकर्मा रजत पदक दिलाउन सफल भएकी टिम प्रशिक्षक बिमल थापामगरले बताए । प्रतियोगितामा जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका १२ खेलाडीको सहभागिता रहेको प्रशिक्षक मगरले बताए ।
करातेमा मकवानपुरबाट सहभागीमध्ये ४ खेलाडीले पदक दिलाए । पुरुषतर्फ ४२ केजी तौल समूहमा करुण गमाल र महिलातर्फ ५० केजी तौल समूहबाट सुजता भ्लोनले स्वर्ण दिलाएका छन् । महिलातर्फ झरना लोले ४५ केजी तौल समूहबाट र ५५ केजी तौल समूहबाट श्रेया श्रेष्ठले कास्य दिलाएको नेपाल कराते महासंघ मकवानपुर सचिव दीर्घ लामाले जानकारी दिए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी महिलातर्फ सुजता भ्लोन घोषित हँदै ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छन् ।