24.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाअब बाइक हैन, चोरिन थाले गाडी

अब बाइक हैन, चोरिन थाले गाडी

हेटौंडा/पहिलापहिला घरमै राखिएका वा कतै पार्किङमा राखिएका मोटरसाइकल चोरीका घटना सुनिन्थे । तर, पछिल्लो समय भने गाडी नै चोरिन थालेका छन् । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–८, सिम्पानीमा बोलेरो गाडी चोरी भएको हो । आफ्‌नै घरअगाडि राखिएको बा. १३ च ७०९१ नम्बर बोलेरो गाडी चोरी भएको हो । गाडी किन र कसले चोरेको हो पत्तो नभएको गाडीधनीले बताए । बुधबार राति गाडी चोरी भएको स्थानीयले जनाएका छन् । गाडी खोजीका लागि इलाका प्रहरी कार्यलय मनहरीमा उजुरी दिइएको छ । गाडी चोरी हुनुभन्दा पहिला पनि मनहरीमा दिनह’जसो बाइक र गाडीलगायत सवारीसाधन चोरी ह’दै गएको थियो । घरबाट बोलेरो चोरी भएपछि मकवानपुर प्रहरीले गम्भीररुपमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । बोलेरो चोरी भएपछि प्रहरी हाइअलर्ट गरिएको छ । सीसीटिभीको सहायतामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बोलेरो गाडी देखेमा गाडीधनी हीरालाल ब्लोनको मोबाइल नम्बर ९७४२८१६४९९ मा खबर गरिदिन र नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन गाडीधनी ब्लोनले अनुरोध गरेका छन् ।
केही समयअघि मकवानपुरबाट चोरी भएका ट्रकहरु प्रहरीले चितवनमा फेला पारेर धनीलाई बुझाएको थियो । हेटौंडाबाट चोरी भएका दुई ट्रक चितवनको खैरहनी नगरपालिका वडा नम्बर–९ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डको किनारमा फेला परेर धनीहरुलाई हस्तान्तरण गरिएको थियो । हेटौंडा–१२ निवासी ईश्वर बलामीको नाममा दर्ता भएको ना. ३ ख ७३२० नम्बर ट्रक बैशाख ३० गते हेटौंडा–११ स्थित ग्यारेजबाट चोरी भएको थियो । वडा नम्बर–३ निवासी हरिबहादुर डंगोलको मे.१ ख १४५७ नम्बर ट्रक बैशाख ३१ गते आफ्‌नै घरअगाडिबाट चोरी भएको थियो । पीडितहरुको उजुरीपछि खोजतलास गर्ने क्रममा दुवै ट्रक चितवनको खैरहनी नगरपालिका क्षेत्रमा फेला पारिएको प्रहरीले जनाएको छ । फेला परेका ट्रकहरु सम्बन्धित धनीहरुलाई कार्यालयमा बोलाइ सनाखतपछि बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
बैशाख अन्तिम साता मनहरीबाट एकाएक हराएको ट्रक इलाका प्रहरी कार्यालय मनहरीले फेला पारेर सवारीधनीलाई हस्तान्तरण गरेको थियो । ना. ६ ख ३६६१ नम्बर ट्रकधनी चितवन जिल्ला आँपटारी घर भएका सन्तोष देबकोटालाई जिम्मा लगाइएको हो । मनहरी गाउँपालिका वडा नम्बर–७, रमनटारमा रोकिराखेको बार्‍हचक्के ट्रक अज्ञात समूहले चोरी गरेको थियो । मनहरी बजार क्रस गरी हेटौंडातर्फ आएको सीसीटिभी फुटेजले देखाएपछि खोजीलाई तीव्रता दिइएको थियो । रोकिराखेको अवस्थाबाट चोरी गरी घरबाट झण्डै १३ किलोमिटर पर मनहरी–९, रजैया क्षेत्रमा सडकछेउमा रोकेर राखिएको अवस्थामा बेवारिस अवस्थामा इप्रका मनहरीको टोलीले ट्रक फेला पारेको हो । पोखराबाट राति १ बजे रड झारेर चालक सोमबहादुर थिङको घर आइपुगेको र गाडी पार्किङ गरी ब्याट्रीको तारसमेत छुट्याइराखेको अवस्थामा ट्रक चोरी भएको थियो । ट्रक रजैयाआसपास पुग्दा ब्रेकमा समस्या देखिएर अगाडि नबढ्ने भएपछि चोरहरुले त्यसै छाडेका थिए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here