हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको अयोजनामा एक दिवसीय ऊर्जा प्रवद्र्धनसम्बन्धि अभिमुखीकरण कार्यक्रम बुधबार हेटौंडामा सम्पन्न भएको छ । मउवा संघ अध्यक्ष प्रमोदसिंह रानाभाटको सभाध्यक्षतामा भएको कार्यक्रममा ऊर्जाविज्ञ सञ्जयकुमार साहले सहजीकरण गरेका थिए । हेटौंडामा रहेका मझौला तथा ठूला उद्योगहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको थियो । सहभागीहरुलाई कार्यक्रममा स्वागत गर्दै मउवा संघ अध्यक्ष रानाभाटले अञ्जानमा हुने उद्योगको ऊर्जा चुहावट नियन्त्रण गरी उत्पादन लागत घटाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
‘ऊर्जा प्रयोगमा दक्ष उपाय अपनाउँदा उद्योगहरुले खपत गरिरहेको कुल विद्युत्मध्ये ४२ प्रतिशत्सम्म बचत गर्नसक्ने देखिएको छ । देशभरका एक सय औद्योगिक निकाय, कम्पनी र प्रतिष्ठानमा गरिएको सर्वेक्षण अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो,’ उनले भने–एसियाली विकास बैंकले गरेको अध्ययनले सिमेन्ट उद्योगमा ४२ प्रतिशत्सम्म विद्युत् बचत गर्न सकिने देखाएको हो । यसबाहेक होटलमा ३९ प्रतिशत्, साबुन तथा रसायन उद्योगमा ३६ प्रतिशत्सम्म ऊर्जा बचत गर्न सकिने देखिएको छ । सबभन्दा कम कागज उद्योगमा सात प्रतिशत्ले बचत गर्न सकिने देखिएको हो । उनले ऊर्जाको किफायती प्रयोगले ऊर्जाको आयात घटाउन, पहुँच वृद्धि गर्न, कार्बन उत्सर्जन कम गर्न र ऊर्जा सुरक्षणमा वृद्धि गर्न सहयोग पुग्ने बताए ।
‘सन् २००१ देखि २०१५ सम्म नेपालको ऊर्जा दक्षतामा सुधारको दर शून्य दशमलव ८४ प्रतिशत् थियो । सरकारले सन् २०३० भित्रमा यस्तो सुधारको दरलाई दोब्बर बनाउने लक्ष्य निर्धारण गरेको छ,’ रानाभाटले सन् २०३० भित्र नेपालको ऊर्जा दक्षतामा सुधारको दर १ दशमलव ६ प्रतिशत् पुर्याउने लक्ष्य हो । ऊर्जा दक्षता सुधारको दर दोब्बर बनाउनु भनेको हाल दुई मेगावाट् विद्युत्बाट जति काम भइरहेको छ, त्यति नै काम एक मेगावाट्बाट सम्पन्न गर्नु हो ।
ऊर्जा उपयोगसँग सम्बन्धित उपाय, प्रविधि तथा उपकरणहरुका माध्यमबाट हुने ऊर्जाको कुशल उपयोग गर्ने ऊर्जा दक्षता हो । ऊर्जा दक्षता एउटा लक्ष्य हो, जुन प्राविधिकरुपमा समग्र राष्ट्रको प्रतिएकाईं कुल गार्हस्थ्य वस्तु वा सेवा उत्पादनका लागि लागत ऊर्जाको परिमाण ऊर्जा सघनताको मापनद्वारा तय गर्न सकिन्छ । ऊर्जा दक्षतामार्फत् भएको ऊर्जा बचत तुलनात्मकरुपमा ऊर्जा उत्पादनभन्दा सस्तो र प्रभावकारी रहेको अध्ययनले देखाएको उनको कथन छ ।
उनले उद्योगमा ससाना परिवर्तन गरेर ठूलो दक्षता हासिल गर्न सकिने बताए । ‘तर, कसरी उद्योगले दक्ष प्रयोग गर्न सक्छन् भन्ने विषय जानकारी दिनु आवश्यक छ,’ उनले भने । उनले ऊर्जा दक्षता हालको प्रतिस्पर्धी समयमा अत्यावश्यक बन्दै गएको पनि बताए । ऊर्जाविज्ञ साहले ऊर्जाको प्रभावकारी प्रयोगमार्फत् ऊर्जाको लागत घटाइ समग्रमा उत्पादन लागत घटाउन सकिने बताए । ऊर्जामा अनुदानको प्रावधानलगायत विषय समेटी उनले सहभागीहरुलाई सुसूचित गर्ने प्रयत्न गरेका थिए ।
मउवा संघ महासचिव प्रतिमा श्रेष्ठले मन्तव्य राखेको कार्यक्रममा संघ उपाध्यक्षद्वय काव्यमणि अधिकारी, उज्ज्वल चौलागाई, कोषाध्यक्ष तेजराज अधिकारी, कार्यसमिति सदस्यद्वय सीतादेवी भेटवाल, सुकृतराज पराजुली, विशेष आमन्त्रित सदस्यद्वय चक्रधर बिडारी, कृष्ण हुमागाईंलगायतको उपस्थिति थियो । कार्यक्रममा खाद्य उद्योग लिमिटेड, नेपाल वनस्पति घिउ उद्योग, सुप्रिम प्लाष्टो प्रालि, यति पेन्ट्स, एसटीसी इनर्जी इण्डष्ट्रिज प्रालि, बहुर्राष्ट्रिय उद्योग प्याक्ट ग्रुप क्लोजर सिष्टम नेपाललगायत उद्योगहरुका प्रतिनिधिको सहभागिता थियो ।