उदयपुर/उदयपुर सिमेन्ट उद्योग जलजलेबाट अवकाश पाए पनि सेवासुबिधा नपाएका कारण ५ जना पूर्वकर्मचारीको उपचार नपाएर मृत्यु भएको छ । यस्तै संकट हेटौंडा सिमेन्टमा निम्तिन सक्छ । उदयपुर सिमेन्ट उद्योगले तीन वर्षअघि अवकाश पाएका कर्मचारीहरुलाई दिनुपर्ने सेवासुबिधा आर्थिक अभावका कारण उद्योग बिरामी भएकाले दिन नसक्दा उद्योगका पूर्वकर्मचारीहरुको उपचार गराउन आर्थिक समस्या भएकाले ज्यान गएको बताइएको छ ।
उद्योगका लेखा अधिकृत उद्धब घिमिरेले अवकाशप्राप्त पूर्वकर्मचारी कुवेरकान्त काफ्लेले पाउनुपर्ने सेवासुबिधा उद्योग आर्थिक संकटमा परेपछि नपाउँदा आर्थिक संकटका कारण उपचार अभावमा केही समयअघि ज्यान गएको बताए । उद्योगका प्रशासन महाशाखा प्रमुख रविचन्द्र पौडेलले यतिबेला सिमेन्ट उद्योग आफैं बिरामी भएर थलिएको अवस्था बताए । उद्योगको उपचार गर्न आर्थिक समस्या भएको छ भने अवकाश पाएका कर्मचारीहरुलाई उनीहरुले नियमानुसार पाउने सेवासुबिधा हाल दिनसक्ने अवस्था नरहेको उनले बताएका छन् ।
उद्योगबाट अवकाश पाएर पनि सेवासुबिधाको रकम नपाउँदा बिरामी लक्ष्मीनारायण चौधरी, चन्द्रकान्त चौधरी, हरिकुमार दाहाल, देवीप्रसाद बजगाईं र अशोककुमार चौधरीको आर्थिक अभावले उपचार गराउन नपाइ ज्यान गएको छ । ज्यान गुमानेमध्ये कोही मुटुरोगी, कोही मिर्गौलासम्बन्धि रोग, कोही सुगर/प्रेसर, कोही अल्सर, क्यान्सर, प्यारालाइसिसजस्ता रोगले थलिएर उपचार नपाइ ज्यान गुमाउन पुगेका छन् ।
कतिपय अवकाशप्राप्त कर्मचारी उपचाररत् रहेको र उनीहरुलाई आर्थिक समस्याले गाँजेको छ । हालको अवस्थामा उदयपुर सिमेन्ट उद्योग आफैं बिरामी भएकाले पहिले उद्योगको उपचार गर्नु आवश्यक छ । तर, उद्योगको क्षमताले भ्याएसम्म बिरामी अवकाशप्राप्त र बहालवाला सबैलाई सहयोग गरिरहेको जानकारी दिँदै प्रशासन महाशाखा प्रमुख पौडेलले हेमकुमार दाहाल, रामेश्वर कानुलगायत बिरामीलाई उपचारकोषबाट उपचार खर्च उपलब्ध गराइएको बताए ।
उद्योगबाट २ वर्षअघि अवकाश पाएका एक वरिष्ठ अधिकृतले आफू मुटुको बिरामी रहेको र नियमितरुपमा औषधीसेवन गर्नुका साथै मुटुपरीक्षण गराइरहनु परेको बताउँदै उपचारका लागि आर्थिक समस्या हुने गरेको बताएका छन् । उद्योगले २०८१ असार मसान्तसम्म अवकाश पाएका कर्मचारीहरुको सेवासुबिधाको हिसाब गरेको र करिब ६४ करोड भुक्तानी गर्नुपर्ने देखिएकाले पालैपालो पहिले अवकाश भएकालाई प्राथमिकतामा राखेर क्रमशः सेवासुबिधा उपलब्ध गराउने बताएको छ ।